मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विप्लव र ओली, मिलेको बोली

विप्लव र ओली, मिलेको बोली


काठमाडौं । शुक्रबार राष्ट्रिय सभा गृहमा अन्य दिनभन्दा बढी भीडभाड थियो । सभा गृह परिसरमा रातो टिसर्ट लगाएका विद्यार्थीहरु नारा लगाइरहेका थिए । सभा गृह परिसरमा सुरक्षाकर्मीको बाक्लो चहलपहल थियो । 

शुक्रबार करिब दुई वर्षयता सार्वजनिक कार्यक्रममा नदेखिएका विप्लव सार्वजनिक हुँदै थिए । उसो त छिटपुट हिंसाको घटना घटाएको विप्लव समूहले सबै क्रियाकलाप शान्तिपूर्ण रुपमा अगाडि बढाउने सहमति गरेर सभा गृहसम्म आइपुगेको थियो । 

कतै युद्धनै गरिहाल्छन् कि ठानिएका विप्लव कुन रुपमा आउलान् भन्ने पनि धेरैको चासो थियो ।राष्ट्रिय सभा गृह हलमा उनी कालो कोट, सेतो सर्ट र कालो पाइन्टमै देखा परे । प्रधानमन्त्री केपी ओलीसँग बालुवाटारमा भेटेर सँगै आएका उनी प्रधानमन्त्रीसँगै सभा गृह प्रवेश गरे । 

मञ्चमा थिए, विप्लवसँगै खड्गबहादुर विश्वकर्मा, धर्मेन्द्र बाँस्तोला र दिपक चलाउने । सरकार पक्षबाट वार्ता टोलीका संयोजक रामबहादुर थापा, राजन भट्टराई थिए भने सुवास नेम्वाङ र ईश्वर पोख्रेल पनि मञ्चमा थिए । सरकार र नेकपाबीच भएको ३ बुँदे सहमतिपत्र दुवै पक्षका वार्ता टोली प्रमुख थापा र विश्वकर्माले हस्ताक्षरपछि आदानप्रदान गरे ।

हस्ताक्षरपछि नेकपाका महासचिव विप्लवले सम्बोधन गर्दै आफुहरु शान्तिपूर्ण राजनीतिमा आएको भन्दै आशंका नगर्न आग्रह गरे । आजको सहमति सरकार र एउटा दलबीच भएको सहमति मात्रै नभई युवाहरुको चाहनाअनुसार देशको समृद्धिका लागि गरिएको भएको उनले बताए । 

उनले त्यतिमात्रै नभएर केपी शर्मा ओलीको प्रशंसा गर्नमै बढी केन्द्रित थिए । देशको राजनीतिक समस्या वार्ता र संवादबाट समाधान गर्ने, शान्तिपूर्ण राजनीतिक गतिविधि गर्ने र प्रतिबन्ध फुकुवा गर्दै विप्लवका कार्यकर्ता रिहागर्ने ३ बुँदे सहमतिमा उल्लेख छ । प्रधानमन्त्री केपी ओलीले पनि नेपाल शान्तिको युगमा प्रवेश गरेको भन्दै विप्लवको प्रशंशा गर्दै खुला राजनीतिमा स्वागत गरे । 

विप्लवको पटक–पटक प्रशंसा गरेका उनले प्रवक्ता विश्वकर्माको अर्को नाम ‘प्रकाण्ड’ हो क्यारे भन्दै सम्बोधन शुरु गरे पनि सँगै रहेका अर्का नेता धर्मेन्द्र बाँस्तोलातिर हेर्दै यति छिटै छुट्न पाए पो जेलबाट ! भन्दै कटाक्ष गरे । बाँस्तोला आजै जेलबाट छुटेर कार्यक्रममा आइपुगेका थिए । उनले विप्लवसँग रातारात सहमति नभएको र त्यसका लागि पहिले देखिनै संवाद भइरहेको भन्दे सहमति हुनु ठुलो उपलब्धि भएको बताए ।  ओलीले पनि विप्लवको प्रशंसा गर्न भ्याए । 

प्रतिनिधि सभा विघटनपछि आलोचित बनेका प्रधानमन्त्रीले विप्लवलाई शान्तिपूर्ण राजनीतिमा ल्याउन गरेको पहललाई सकारात्मक रुपमा हेरिएको छ । प्रतिबन्धपछि केही हिंसात्मक घटना घटाएको विप्लव नेकपा शान्तिपूर्ण राजनीतिमा आएसँगै अब कसरी सो पार्टी अगाडि बढ्छ चासोका साथ हेरिएको छ । एउटा हिंसात्मक समूहसँग वार्ता गरेर सहमतिमा ल्याउने र त्यहीँभित्रबाट अर्को असन्तुष्ट समूहले हिंसा शुरु गर्ने क्रम अब रोकिनुपर्छ ।