मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बहराइनबाट नेपालमा कसरी आयो कोरोना खोप? स्वास्थ्य मन्त्रालय भन्छ- थाहा छैन

बहराइनबाट नेपालमा कसरी आयो कोरोना खोप? स्वास्थ्य मन्त्रालय भन्छ- थाहा छैन

हामी पनि बेखबर छौं : औषधि व्यवस्था विभाग


हामी पनि बेखबर छौं : औषधि व्यवस्था विभाग

काठमाडौं- बहराइनबाट नेपालमा २ हजार डोज कोरोना खोप ल्याइएको छ। तर उक्त खोप ल्याइएको विषयमा भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र औषधि व्यवस्था विभाग नै बेखबर छ। नेपालमा कुनै पनि औषधि तथा खोप औषधि व्यवस्था विभागको स्वीकृति बिना भित्र्याउन पाइँदैन। 

तर बहाराइनबाट भने स्वास्थ्य मन्त्रालय र माताहतको निकाय विभागलाई जानकारी नै नदिई खोप ल्याइएको छ। बहराइनका राजकुमार मोहम्मद हमाद मोहम्मद अल खालिफा सहितको १५ जनाको टोली नेपाल आउने क्रममा सोमबार २ हजार डोज खोप पनि ल्याएका हुन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले उक्त खोपका विषयमा आफूलाई कुनै जानकारी नभएको बताए। ‘मलाई यो विषयमा कुनै जानकारी आएको छैन। जानकारी नभएको विषयमा टिप्पणी गर्ने मेरो बानी छैन। विदेशबाट आएको भए परराष्ट्र मन्त्रालयमा सोध्नुहोला,’ मन्त्री त्रिपाठीले भने।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्त डा समीरकुमार अधिकारीले पनि बहराइनबाट आएको खोपका विषयमा मन्त्रालयलाई कुनै जानकारी नभएको बताए। औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराई पनि उक्त विषयमा कुनै जानकारी नभएको बताउँछन्। भन्छन् ‘खै यो विषयमा अहिलेसम्म केही जानकारी छैन। खोप आएको विषयमा विभाग बेखबर नै छ।’

नेपालमा कोरोना भाइरस विरुद्दको दुई वटा खोपले मात्र आकस्मिक अनुमति पाएका छन्। विभागले भारतको सेरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्ड र चीनको सिनोफार्म अन्तरगतको बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रडक्ट कम्पनी लिमिटेडले उत्पादन गरेको खोप ‘सार्स -कोभ -२ भ्याक्सिन (भेरो सेल)लाई आकस्मिक प्रयोगका लागि अनुमति दिएको छ।

बहाराइनबाट आएको खोप कुन हो? यसको गुणस्तर कस्तो छ? भन्ने विषयमा पनि प्रश्न रहेको विभागका कर्मचारी बताउँछन्। ‘बहाराइनले दर्ता भएको कम्पनीको खोप हो भनेर दाबी गरेको भरमा विश्वास गर्ने आधार हुँदैन,’ विभागका एक कर्मचारीले भने ‘यो त नेपालमा अनुसन्धान गर्ने हिसाबले ल्याएको पनि हुन सक्ने खतरा देखिन्छ।’

बहराइनबाट आएको खोपका विषयमा बहराइनस्थित नेपाली राजदुतावासलाई भने जानकारी छ। तर खोपका विषयमा राजदुतावासले एक्लै निर्णय गर्न नसक्ने स्वास्थ्य मन्त्रालयका कर्मचारी बताउँछन्। दुतावासले विज्ञप्ति जारी गर्दै उक्त खोप एस्ट्राजेनिकाको भएको उल्लेख गरेको छ। विज्ञप्ति अनुसार उक्त खोप गोरखाको चुमनुब्री गाउँपालिकास्थित समागाउँका बासिन्दालाई उपलब्ध गराउने उल्लेख छ।

यो विषयमा पनि मन्त्रालय बेखबर छ। खोपको गुणस्तरका विषयमा निक्र्यौल नै नभई आफूखुसी यसरी स्थानीय बासिन्दालाई खोप लगाउनु सरासर गलत हो। उक्त गाउँका स्थानीयलाई खोप लगाउने विषयमा पनि मन्त्रालय बेखबर छ। – swsthyakhabar

No description available.