मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विज्ञलाई नै चकित पार्ने विषालु तुवाँलो

विज्ञलाई नै चकित पार्ने विषालु तुवाँलो


काठमाडौँ : वायु प्रदूषणका कारण काठमाडौं उपत्यकासहित देशका अधिकांश आकाश तुवाँलोले टम्म ढाकेको छ। मधेस र तराईका वन क्षेत्रमा लागेको डढेलो नियन्त्रणमा आउन सकेको छैन।   विज्ञहरू खतरा अझै बढ्न सक्ने बताउँछन्। 

वातावरण विभागका प्रवक्ता इन्दुविक्रम शाह आफूले यस क्षेत्रमा काम गर्न थालेको ३० वर्षसम्म अहिलेको जस्तो दृश्य नदेखिएको बताउँछन्। 

उनी भन्छन्, ‘पछिल्लो पाँच दिनयता देशका विभिन्न भूभागको आकाशमा देखिएको दृश्य यसअघि कहिल्यै देखिएको थिएन।’

अहिले देखिएको वायु प्रदूषणबाट उनी अचम्मित भएका छन्। 

उनी भन्छन्, ‘धुलो, धुवाँ र ग्यासको कणले आकाश टम्म ढाकेको छ। आँखा पोल्ने र सास फेर्नै गाह्रो हुने यस्तो वायु प्रदूषण कहिल्यै देखिएको थिएन। यो त हामीले कल्पना नै गरेका थिएनौ।’ 

चैत १३ गतेदेखि काठमाडौं उपत्यकासहित मध्य नेपालको आकाश धुलोधुवाँ र ग्यासले ढाकेको छ। 

शाहका अनुसार वायू प्रदूषणको मात्रा बढेको छ। स्वस्थकर हावाका लागि इयर क्वालिटी इन्डेक्स ईसीई ५० भन्दा कम हुनुपर्छ। 

उनी भन्छन्, ‘काठमाडौंमा अहिले ईसीई करिब २५० छ भने यस आसपासका क्षेत्रमा दुई सयभन्दा बढी छ। यो अति अस्वस्थकर हावा हो।’ 

ईसीई तीन सय पार गरेको अवस्थामा हावा अत्यन्त घातक मानिन्छ। काठमाडौं उपत्यकाको हावा घातक नजिक पुगेको उनी बताउँछन्। 

यस्तो अवस्था कसरी बन्यो? वातावरण विभागका प्रवक्ता शाह भन्छन्, ‘सुख्खायाममा धुलोले हावा प्रदूषित बनाएको हुन्छ। त्यसमाथि यस वर्ष अधिक डढेलो लागेको छ। धुलो र डढेलोको धुवाँ मिसिँदा वायु प्रदूषण ह्वात्तै बढेको हो।’ 

वन तथा भूसंरक्षण विभागका अनुसार यस वर्ष इतिहासमै सबैभन्दा धेरै ठाउँमा डढेलो लागेको छ। 

सन् २००९ अर्थात् २०६६ मा एकै दिनमा चार सय २० ठाउँमा डढेलोको लागेको थियो। त्यसमा नेपाली सेनाका जवानसहित केही मानिसको मृत्यु भएको थियो। 

यस वर्ष चैत १३ गते एकै दिनमा पाँच सय २३ ठाउँमा डढेलो लागेको छ। २०७६ सालमा यही दिन ६ ठाउँमा मात्रै डढेलो लागेका थिए। २०७५ चैत १३ को तथ्यांक हेर्ने हो भने १० ठाउँमा डढेलो लागेको थियो। 

वन विभागका डढेलो विज्ञ सुन्दर शर्माका अनुसार मार्च र अप्रिल अधिक डढेलो लाग्ने समय हो। उनी भन्छन्, ‘अझै अप्रिलमा यस्ता घटना धेरै हुन्छन्।’ 

यस वर्ष मार्चमै धेरै डढेलोका घटना भएका कारण अझै बढी खतरा उत्पन्न हुन सक्ने विज्ञहरुको आकलन छ। 
शर्माका अनुसार यो अवस्था आउनुमा प्राकृतिक र मानवीय दुवै कारण छन्। 

उनी भन्छन्, ‘पहिलो कारणचाहिँ प्राकृतिक हो। अघिल्लो वर्ष डढेलोका घटना अत्यन्त कम भएकाले पातपतिंगर अधिक मात्रामा सञ्चित थिए। यस वर्ष वर्षा पनि खासै भएको छैन। त्यसैले डढेलोका घटना बढी भएका हुन्।’ 

नयाँ पाउला पलाउँछ भनेर स्थानीयले आगो लगाउँदा  डढेलोको घटना बढेको शर्मा बताउँछन्। 

डढेलोको घटना जति बढ्दै जान्छ, काठमाडौं उपत्यकासहतिका क्षेत्रमा वायु प्रदूषण झनै बढ्ने विज्ञहरुको भनाइ छ।। उनीहरुका अनुसार पानी नपरेसम्म धुलो र धुवाँले ढाकेको आकाश सफा हुने छैन। 

जल तथा मौसम विज्ञान विभागका अनुसार तत्कालै ठूलो पानी पर्ने सम्भावना छैन।  

फाट्टफुट्ट वर्षा भए पनि अहिले देखिएको विषालु तुवाँलो उडाउने गरी अबको तीन दिनभित्रमा वर्षा हुने सम्भावना न्यून नरहेको मौसमविद् बताएका छन्।  विभागका प्रवक्ता सुमनकुमार रेग्मी भन्छन्, ‘अझै तीन दिन मौमस स्थिर रहनेछ। तत्काल पानी पर्ने सम्भावना देखिँदैन।’ – नेपाल समय