मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धरहराको पुननिर्माण नसकिँदै उद्घाटनको हतारोमा प्रधानमन्त्री

धरहराको पुननिर्माण नसकिँदै उद्घाटनको हतारोमा प्रधानमन्त्री


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो लहरको कोरोना महामारीकैबीच पुननिर्माणको काम नसकिएको धरहरा उद्घाटन गर्ने हतारमा देखिएका छन् । प्रधानमन्त्री ओलीले आज बिहान ११ः०० बजे धरहराको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री ओलीले दिएको निर्देशनअनुसार निर्माण कम्पनीले २४ सै घण्टा कामदार खटाएर हतार–हतार धरहराको रङ्रोगन, टावरको फिनिसिङ र गजुर राख्ने काम सकेको  छ ।  

धरहराको पुननिर्माण गर्ने जिम्मा पाएको जीआईईटीसी रमन–जेभी निर्माण कम्पनीले धरहराको टावरको काम मात्रै सम्पन्न भएको जनाएको छ । तर धरहराको सुन्दरतासहित पूर्ण धरहराको काम सकिन अझै आठ महिनादेखि एक वर्षसम्म लाग्ने कम्पनीको भनाइ छ ।
 
निर्माण कम्पनीकाअनुसार अहिलेसम्म धरहराको ६५ प्रतिशत मात्रै पुननिर्माण सम्पन्न भएको छ । 

यसमा राष्ट्रिय पुननिर्माण प्राधिकरणका सूचना अधिकारी मनोहर घिमिरे धरहराको काम पुरै सकिएर उद्घाटन गर्न लागिएको बताउँछन् । आम नागरिकले धरहराको कामलाई दुई भागमा विभाजन गरी हेर्नुपर्ने बताउँदै नउले धरहराको टावर उद्घाटन गरिने र वरपरको संरचना विस्तारै निर्माण हुँदै जाने बताए । ‘‘धरहराको टावर पूर्ण रूपमा ठडिसकेको छ । त्यही ठडिएको संरचनाको मात्रै उद्घाटन गरिने हो । अब आउँदो पुस महिनासम्म बाँकी वरपरका संरचना निर्माण हुनेछन्,” उनले भने ।  

सर्वसाधारणले छिर्न नपाउँने
सूचना अधिकारी घिमिरे अहिले तत्कालै धरहरामा सर्वसाधारणलाई चढन नदिने बताउँछन् । ‘‘शनिबार ११ गते धरहरा उद्घाटन हुन्छ । धरहरा चढ्न सर्वसाधारणका लागि भने खुला गरिनेछैन् । सर्वसाधारणले धरहरा चढ्नका लागि अझै आठ महिना कुर्नुपर्नेछ,” उनले भने, ‘‘आगामी पुससम्ममा धरहराको सबै काम सम्पन्न गरी सर्वसाधारणका लागि खुला गरिनेछ ।” 

दुई अर्ब १७ करोड खर्च 
निर्माण कम्पनीकाअनुसार अहिलेसम्म २ अर्ब १७ करोड रुपैयाँ खर्च भइसकेको छ । प्रधानमन्त्री ओलीले धरहराको पुरै काम नसकिदै औपचारिक रूपमा उद्घाटन गरी काम सकिएको घोषणा गर्दैछन् । प्रधानमन्त्रीको यति हतारले स्पष्ट हुन्छ, कि धरहराको जस पनि आफैँ लिन खोज्दैछन् । 

प्रधानमन्त्री ओलीले यसअघि मेलम्चीको पानी राजधानीमा आउँदा आफैँले जस लिन खोजेका थिए । प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्चीको पानी राजधानीमा टेस्टिङका लागि पठाइरहेको बेलामा औपचारिक उद्घाटन गरिसकेका थिए । जसको परिणाम पछाडि सडक जलमग्न भएको देख्नुप¥यो । अहिले जलमग्न सडकमा ओली सरकारको ध्यान छैन् । 

‘‘हामीले हतार–हतार दैनिक २४ घण्टा खटिएर काम गरिरहेका छौँ,” धरहरा पुननिर्माणको काममा खटिएका एक कामदारले भने, ‘‘धरहरामा चढ्ने सिँढी बन्नै बाँकी छ । तर एक दिन अगाडि नै उद्घाटनका लागि स्टेज लगायत सबै तयारी पूरा भइसकेको छ । यति हतार नगर्नुपर्ने जस्तो लाग्छ । हामीलाई माथिल्लो तहबाट निर्देशन आएकाले रातदिन नभनी निरन्तर काममा खटिरहेका छौँ ।”  

रमन जेभी निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर श्यामचन्द्र श्रेष्ठ धरहराको टावरको रङरोगनका काम सकिएको बताउँछन् । उनकाअनुसार लिफ्ट तयार गरेर अहिले रहराको सजावटका लागि काम भइरहेको छ ।

२०७२ साल वैशाखको भूकम्पले पूर्ण रूपमा क्षति पु¥याएको धरहरा पुननिर्माण गर्ने सम्बन्धमा विवाद हुँदा दुई बर्षसम्म काम अघि बढ्न सकेको थिएन । पछि बल्लबल्ल सम्झौता भई सुरु भएको काम पनि निर्माण व्यवसायीले तोकिएको समयमा पुननिर्माण सम्पन्न गर्न सकेन । कम्पनीले सम्झौताअनुसार काम गर्न नसकेपछि अहिले म्याद थप गरेर काम भइरहेको छ । 

सम्झौताअनुसार धरहरा पुननिर्माणको काम गरिरहेको निर्माण कम्पनीले २०७७ साल असोजमाका सक्नुपर्ने थियो । कोरोना महामारीका कारण केही समय रोकिएको काममा राष्ट्रिय पुननिर्माण प्राधिकरणले २०७८ असार १६ गतेसम्म निर्माण सम्पन्न गर्ने गरी म्याद थप गरेको छ । निर्माण कम्पनीले कोरोनाको समय काम गर्न नपाएकोे भन्दै २१ महिनाको म्याद थप गर्न माग गरेको थियो । पछि प्राधिकरणले नौ महिना अवधि थपेको छ । कम्पनीसँगको सम्झौताअनुसार कुल लागत ३ अर्ब ४८ करोड रहेको छ ।