मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

१५ जिल्लामा निषेध आदेश, के गर्न पाइन्छ, के गर्न पाइँदैन?

१५ जिल्लामा निषेध आदेश, के गर्न पाइन्छ, के गर्न पाइँदैन?


काठमाडौं – काठमाडौं उपत्यकासहित १५ जिल्लामा निषेध आदेश लागू भएको छ। कोरोनाको दोस्रो लहर तीव्र रूपमा फैलिएसँगै काठमाडौं, ललितपुर र भक्तपुरसहित १५ जिल्लामा निषेध आदेश सुरु भएको हो ।

गृह मन्त्रालयका अनुसार १२ जिल्लामा पूर्ण रूपमा निषेध आदेश जारी गरिएको छ। ३ जिल्लामा आंशिक रूपमा लकडाउन गरिएको छ। पूर्ण रूपमा निषेधाज्ञा हुने जिल्लामा उपत्यकाभित्रका काठमाडौं, भक्तपुर र ललितपुर तथा बाहिरका चितवन, बाँके, पर्सा, रुपन्देही, कास्की, दाङ, सुर्खेत, पाल्पा र कैलाली छन्।

उपत्यकामा आजदेखि निषेध आदेश लागू गरिएको छ। बाँकेमा सोमबारदेखि निषेध आदेश लागू भइसकेको छ। सुर्खेतमा मंगलबार, कास्कीमा बुधबार, चितवन र कैलालीमा आजबाट, पाल्पा र दाङमा शुक्रबारबाट निषेध आदेश लागू गर्ने निर्णय भएको छ।

बर्दिया, कालिकोट र बाग्लुङका धेरै संक्रमण देखिएका क्षेत्रमा मात्र लकडाउन गरिएको छ। काठमाडौं उपत्यकामा वैशाख १६ गते बिहान ६ बजेबाट शुरू भएको निषेधाज्ञा वैशाख २२ गते राति १२ बजेसम्म कायम रहने छ।

निषेध आदेशका कारण काठमाडौं उपत्यकाका सडक विहानैदेखि सुनसान देखिएका छन्। अत्यावश्यक सेवाका र सञ्चालन अनुमति पाएका गाडीहरू मात्रै सडकमा गुडिरहेका छन्।

निषेध आदेशको समयमा विवाह, व्रतबन्ध लगायतमा बेहुला–बेहुली पक्षका गरी बढीमा १५ जना सहभागी हुन पाउने व्यवस्था गरिएको छ। दुवै पक्षले विवाहको ब्यानरसहित दुई वटासम्म गाडी प्रयोग गरी आउजाउ गर्न सक्ने छन्। विवाह–व्रतवन्धका लागि स्थानीय तहको सिफारिस अनुसार जिल्ला प्रशासन कार्यालयले पास उपलब्ध गराउने व्यवस्था मिलाइएको छ।

अत्यावश्यक सामग्री बोकेका ढुवानीका साधन, बिरामी तथा बढीमा दुई कुरुवा बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायका सवारीसाधन गुड्न पाउने छन्।

एम्बुलेन्स, खानेपानी, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफूल, दूध तथा दूग्धजन्य पदार्थ, कुरिअर एवम् डाँक सेवा, बैंक तथा वित्तीय संस्था, दूरसञ्चार, इन्टरनेट, क्वारेन्टिन, आइसोलेसन, फोहोरमैला व्यवस्थापनलगायत ढुवानी तथा यातायतका साधनमा सञ्चालनमा रोक लगाइएको छैन।

सरकारी कार्यालयलगायत सार्वजनिक सेवा प्रदायक संस्थाले सम्बन्धि मन्त्रालय वा विभागबाट जारी पास लिएर आउजाउ गर्न पाउने छन्।

विकास निर्माणमा प्रयोग हुने जनशक्ति र सामग्री ढुवानीका साधनको हकमा सबन्धित आयोजना वा कार्यालय प्रमुखको सिफारिसका आधारमा जिल्ला प्रशासन कार्यालयले दिने पास लिएर सञ्चालन हिडडुल गर्न पाइने छ।

अस्पताल आउने–जाने बिरामी र कुरुवा, मृत्यु संस्कारमा अनिवार्य रूपमा सहभागी हुनुपर्ने अवस्थाका व्यक्तिहरुलाई पनि प्रमुख जिल्ला अधिकारीले दिएको पासले काम गर्ने छ। 

डिपार्टमेन्टल स्टोर, खाद्य सामग्रीका पसल, व्यवसाय बिहान १० बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म सन्चालन गर्न पाइने छ।

बैंक तथा वित्तीय संस्था, बिमा एवम् राष्ट्र बैंकबाट इजाजत प्राप्त वित्तीय कारोबार गर्ने सहकारी संस्थाका कर्मचारीले प्रयोग गर्ने निजी नम्बर प्लेटका सवारीसाधन सम्बन्धित कार्यालयको परिचयपत्रका आधारमा चलाउन पाउने छन्।

पत्रकारलाई सूचना विभागले जारी गरेको प्रेस पासका आधारमा हिडडुल गर्न दिइने छ। आउ–जाउ गर्न दिइने छ ।

सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनाटर, सिनेमा हल, पार्टी प्यालेस, स्विमिङ पुल, शपिङ मल, मनोरञ्जन स्थल, सैलुन, ब्यूटी पार्लर, जिमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, संग्रहालय, चिडियाखाना सञ्चालन गर्न निषेधाज्ञा अवधिभर रोक लगाइएको छ।

अत्यावश्यक बाहेकका सार्वजनिक तथा निजी सवारीसाधन चलाउन र अत्यावश्यक बाहेकका अन्य सार्वजनिक सेवा सञ्चालन गर्न रोक लगाइएको छ।

खाद्य सामग्री र औषधि तथा स्वास्थ्य सामग्रीसम्बन्धी पसल, व्यवसायबाहेक अन्य पसल, व्यवसाय सञ्चालनमा रोक लगाइएको छ। – नेपाल समय