मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आँपको मायावी कथा

आँपको मायावी कथा


 बाल्यकालका सम्झना नहुँदा हुन् त अहिले हामी जस्ता छौं, सायद यस्ता हुँदैनथ्यौं। हामी चारै भाइबहिनी त्यसबेला किशोर उमेरका थियौं। म, दाइ र दुई जुम्ल्याहा दिदी। बेलुका आँगनमा हामी चारै जना लालटिनको उज्यालोमा पढिरहेका थियौं। पढ्दापढ्दै निद्राले छोप्न थालेको थियो। हामी उँघ्दै पहिल्यैदेखि कण्ठस्थ कविता दोहोर्‍याइरहेका थियौं।

भान्सामा रोटी बनाउँदै गरेकी हाम्री निरक्षर आमालाई आश्वस्त बनाउन खै कहिलेदेखि हो हामीले यो उपाय प्रयोगमा ल्याएका थियौंं।हामीसँग अर्को उपाय पनि थियो– चारमध्ये दुई जना केही बेर निदाउन चाहेमा बाँकी दुईले पढेको जस्तो देखाइरहने। सधैंजस्तै त्यस दिन पनि हामी अति निद्राले ग्रस्त हुँदै थियौं। केही बेरमा एकएक गरी दाइ र दुई दिदी चकटीमै असरल्ल पसारिए। हामीबीचको अलिखित सम्झौताअनुसार यो रहस्य लुकाउने जिम्मा अब एक्लो ममाथि आइलाग्यो।

सबैभन्दा कान्छो म कच्चा पहरेदार ठहरिएँ। त्यसबेला निद्रा यति धेरै लागेको थियो कि, लाग्थ्यो हावामा निदको रस मिसाइएको छ। अझ हाम्रो आँपको बगैंचामा रहेको झोलुंगोमा राखेर कसैले हल्लाइरहेको जस्तो लाग्न थाल्यो। म आँखा बन्द गरेर त्यही काल्पनिक झोलुंगोमा झुल्न थालें। अचानक लालटिनमै पल्टिएछु। लालटिनको सिसा झन्डै फुटेनछ। मट्टितेल बर्नरभित्र पस्यो र दुई तीनपटक भुक्कभुक्क गर्दै निभ्यो।

आमाले अनुभव गर्नुभयो– कान्छालाई कतै बस्दाबस्दै निँद लाग्छ। म आफैंलाई पनि त्यस्तै महसुस हुन्थ्यो। दौडिँदा, बगैंचामा खेल्दा र मित्र–मण्डलीमा गफ हाँक्दा पनि म हाई हाई गरिरहेको हुन्थें।

आवाज सुनेर आमा आँगनमा आइपुग्दासम्म दाइ र दिदी शरीर फट्कारेर सामान्य अवस्थामा आइसकेका थिए। हाम्रो त्यो अलिखित सम्झौता त मैले तोडिसकेको थिएँ। त्यसैले यो घटनाको सम्पूर्ण दोष ममाथि थोपरियो। म बडो सुताहा, होसै नरहनेमा दर्ता भएँ। मेरा तीन दाइ–दिदी सरकारी साक्षी बनिसकेका थिए। म एक्लै अपराधी घोषित भएँ।

आमाले अनुभव गर्नुभयो– कान्छालाई कतै बस्दाबस्दै निँद लाग्छ। म आफैंलाई पनि त्यस्तै महसुस हुन्थ्यो। दौडिँदा, बगैंचामा खेल्दा र मित्र–मण्डलीमा गफ हाँक्दा पनि म हाई हाई गरिरहेको हुन्थें।

फेरि एक दिन रातको खाना खाँदै गर्दा आमाले आफ्नो चिन्ता बालाई सुनाउनुभयो। बाले घोषणा गर्दिनुभो– यो सबै अमरसाको असर हो। ‘अमरसा’ अर्थात् आँपका बगैंचा हुँदै बग्ने हावा जसमा आलस्य र निँदको रस घोलिएको हुन्छ। आमाको प्रतिक्रिया थियो– ‘दिन–रात कलमबाग (आँपको बगैंचालाई मिथिला क्षेत्रमा प्रचलित शब्द) मा आँपको चौकीदारी गर्दागर्दा तपाईं सबै कुरामा अमरसा देख्नुहुन्छ। बच्चा बिरामी छ, डाक्टरलाई देखाउनुपर्छ।’

बाले अलिक दिक्क परेको स्वरमा भन्नुभयो– ‘म दिनरात आँपको चौकीदारी गरूँ कि यो सुताहालाई देखाउन डाक्टरकहाँ जाऊँ।’ आमाको गुनासोको स्वर सुनियो, ‘ठिकै छ, मै लैजाउँला।’

केही समयअघि मात्रै टोलका एक युवक डाक्टर भएका थिए। हामी केटाकेटी उनलाई ‘बब्लु दाइ’ भनेर बोलाउँथ्यौं। उनले हामीसँग फिस लिँदैनथे। त्यही कारण हुनुपर्छ आमाले रुखमै पाकेका आँपका राम्रा दाना छानी छानी झोलामा हाल्नुभयो। बब्लु दाइ अर्थात् नयाँ डाक्टरले ध्यान दिएर मेरो स्थायी र अनियन्त्रित उँघाइको कथा सुने। मसँग केही प्रश्न सोधे।

दाइले सोधे, ‘अचेल त गर्मीको छुट्टी होला, दिनभर के गर्छौ?’ जवाफ आमाले दिनुभयो, ‘के गर्नु! दिनभर बगैंचामा उफ्रिन्छ, आँप खान्छ। जता बस्छ उतै उँघ्न थाल्छ। यसका बाले यो सबै अमरसा हावाको असर हो भन्नुहुन्छ। तर, मलाई निकै डर लागेको छ। घरको खाना पनि रुचाउँदैन। आँपकै फलाहारले दिन काट्छ।’

यति सुनाइसकेपछि आमाले झोला अघि बढाउँदै थप्नुभयो, ‘रुखमै पाकेका आँप अलिकति!’ डाक्टरले भने, ‘बल्ल बुझियो, यो कान्छालाई कुनै रोग लागेको छैन। यो अमरसा हावाको असर पनि होइन।’ ‘के भएको हो त?’ आमाले चिन्तित स्वरमा सोध्नुभयो।

‘यो सब आँपको माया हो। अरु केही नखाएर दिनरात आँप खाएपछि यस्तो त हुने भयो नि! आँपको सिजन सकिएपछि यसको उँघाइ पनि सकिन्छ।’ आमाले मतिर हेर्दै भन्नुभयो, ‘सुनिस्? आजबाट आँप खान बन्द!’

‘होइन होइन, यस्तो त अन्याय हुन्छ। आँप खानै छोड्ने होइन, अलिक कम खाने मात्रै हो। आँपससँगै घरको खाना पनि खाएपछि सबै ठिक हुन्छ।’

‘होइन होइन, यस्तो त अन्याय हुन्छ। आँप खानै छोड्ने होइन, अलिक कम खाने मात्रै हो। आँपससँगै घरको खाना पनि खाएपछि सबै ठिक हुन्छ।’ म रुने अवस्थामा पुगेको थिएँ। औषधि खानुपर्ने भएन तर, आँप नै बार्नुपर्ने भयो। उता बगैंचामा आँपले मलाई बोलाइरहन्छ– आऊ, मलाई खाऊ, चुस। आँपले बोलाइरहँदा मैले के गर्ने? जोरीपारी पनि हाँस्ने भए।

साथीहरुका बीचमा आँप खानमा सबैभन्दा खग्गु ठहर भएको मेरो तक्मा पनि खोसिने भयो। अब बगैंचामा जान पनि नपाइने होला। खेतमा मुङको झालभित्र लुकाएका त्यतिधेरै बम्बई र किसनभोग आँप अब के गर्ने? गहुँको भुसभित्र पकाउन हालेका फैजली, चौडिया र जर्दालु आँप के होला? मालदह त अझै पाक्न पनि सुरु भएको छैन। यसपालि खानै नपाइने भयो त? बाटोभरी सोचिरहें।

घर पुग्नेबित्तिकै आमाले सोझै बगैंचामा बाको छेउमा लैजानुभयो। बाले मचानमा बसीबसी आमाका सबै कुरा सुन्नुभयो। डाक्टर–रुपी न्यायाधीशपछि अब बा–रुपी राष्ट्रपतिबाटै मेरो आशा बाँकी थियो। बाले भन्नुभयो, ‘मैले पहिल्यै भनेको थिएँ, यो सब अमरसाको असर हो भनेर। आँपको मौसममा बच्चोले आँप नखाए के गरोस्? आजभोलिका डाक्टर पनि के के भन्छन्। न निँद रोग हो न त आँप समस्या। भदौमा कलकतिया र सडही पाक्दासम्म त हो यसले आँप खाने। रूखमा आँपले टकटकी हेरिरहँदा बच्चा मुखमा मोहला लगाइरहोस्? यो त सरासर अन्याय हो।’ बाको कुरा सक्किनुअघि नै म बिज्जुको हाँगामा चढेर आधा पाकेको आँप खोज्न थालिसकेको थिएँ।

उक्त घटनाको करिब ३० वर्षपछि अहिले डाक्टर गुगललाई सोधेपछि थाहा पाएँ– आँपमा ट्रिप्टोफेन नामक एमिनोएसिड पाइन्छ, जसले हाम्रो निँद बढाउन सहयोग गर्छ। साथीहरु! अनिद्राबाट जुधिरहेको दुनियाँमा आँप गजबको फल हो। आँप खानुस्, प्रकृतिलाई धन्यवाद भन्नुस् र मज्जाले निदाउनुस्। (सत्याग्रहमा प्रकाशित अव्यक्तको यो लेख हिन्दीबाट अनुवाद गरिएको हो।)