मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सगरमाथा चढ्न ४०८ जनालाई अनुमति, १८२ आरोही मात्र सफल

सगरमाथा चढ्न ४०८ जनालाई अनुमति, १८२ आरोही मात्र सफल


काठमाडौं । मौसमले चुनौती दिएको यो वर्ष सगरमाथामा आरोहण कठीन भएको छ । फलस्वरुप सगरमाथा चुचुरो पुग्ने आरोहीको संख्या कुल जारी अनुमतिको ५० प्रतिशतसम्म पनि पुगेन ।

पर्यटन विभागका अनुसार बसन्त ऋतुमा कुल १९ टिमका १८२ आरोही मात्र सगरमाथा चुचुरो पुग्न सफल भए । उनीहरुको सहयोगका लागि खटिएका २७५ जना सहयोगी स्टाफले समेत सगरमाथा आरोहण गरेका छन् । यससँगै वसन्त ऋतुमा चुचुरो पुग्ने आरोहीको कुल संख्या ४५७ थियो ।

विभागको तथ्यांकअनुसार वसन्त ऋतुमा सगरमाथा चढ्न कुल ४३ समूहका ४०८ आरोहीले अनुमति लिएका थिए । अनुमति लिएकामध्ये २२६ जना आरोही भने चुचुरो नपुगि र्फकनु परेको विभागले संकलन गरेको तथ्यांकमा उल्लेख छ ।

कोरोना महामारीको अन्यौलका बीच यो वर्ष सगरमाथासहित हिमाल आरोहणको अनुमति दिइएको थियो । आरोहीको उत्साहजनक सहभागिता समेत देखिएको थियो ।

तर, जेठ पहिलो साताबाटै मौसमले भने चुनौती दिइरह्यो । जल तथा मौसम विज्ञान विभागले २ जेठमा एक सूचना जारी गरि ताउ-ते नामक शक्तिशाली चक्रवातको चुतावनी दियो ।

त्यसबेला विभागले हिमाल आरोहण नगर्न सिफारिस गरेको थियो । यो आँधिको प्रभाव एक साता रहेको थियो । लगत्तै अर्को आँधीको चेतावनी १४ जेठमा विभागले दियो । त्यसपछि भने चुचुरो जान अनुकुल मौसम कुरेका धेरै आरोही फर्कनु परेको थियो ।

सगरमाथा आरोहीमध्ये टिम लिडर, सदस्य र सहयोगी गरी कुल ४३ जना महिला रहेका छन् ।

१६ हिमालमा ६ वटामा मात्र सफल

यो वर्षको वसन्त ऋतुमा कुल १६ वटा हिमाल आरोहण गर्न अनुमति जारी भएको थियो । तर, सफल आरोहण भने मात्र ६ वटा हिमालमा प्राप्त भएको छ । विभागकी निर्देशक मिरा आचार्यका अनुसार यो सिजनमा सबैभन्दा धेरै आरोही सगरमाथा चढे ।

सगरमाथापछि दोस्रो स्थानमा ल्होत्से रहृयो । यहाँ ४ टीम लिडर, २१ आरोही र ४७ जना सहयोगी स्टाफ गरी कुल ७२ आरोहीले चुचुरो चुम्न सफल रहे । माउण्ट अन्नपूर्ण प्रथममा यो वर्ष २ टिम लिडर, २७ आरोही र ३९ सहयोगी स्टाफ गरि कुल ६८ जना चुचुरो पुगे ।

अमादब्लम हिमालमा २ टिम लिडर, १५ सदस्य र ६ सहयोगी गरी २४ आरोहीले सफल आरोहण गरेका छन् । माउन्ट पुमोरीमा १ टिम लिडर, ३ आरोही र ६ सहयोगीका साथ कुल १० आरोही चुचुरो पुगे ।

बरुण त्से हिमालमा एक लिडर र एक आरोही गरी कुल २ जना चुचुरो पुगेको विभागको तथ्यांक छ । यो वर्ष कुल १६ हिमाल चढ्न ८४ समूहका ७४२ जना आरोहीले अनुमति लिएका थिए ।

तर, सबै हिमालमा गरि ३० समूहका २६० आरोहीले मात्र चुचुरो चुम्न सकेको तथ्यांकले देखाएको छ । अर्थात् कुल अनुमति प्राप्त आरोही संख्याको ३५प्रतिशत आरोहीले मात्र सफलता प्राप्त गरेका छन् ।

अनुमति प्राप्त आरोहीबाहेक ३७३ जना सहयोगी स्टाफले यी हिमाल चढेका छन् । यसअनुसार हिमाल चुचुरो पुग्ने कुल आरोहीको संख्या ६३३ रहेको छ ।

६७ जना महिलाले गरे सफल आरोहण, सगरमाथामा ४३

विभागको तथ्यांकअनुसार यो वर्ष कुल ६७ जना महिलाले विभिन्न हिमालको आरोहण गर्न सफल भएका छन् । यो संख्या टिम लिडर, आरोही सदस्य र सहयोगी स्टाफसमेतको हो । तथ्यांकअनुसार सगरमाथामा चार टिम लिडरसहित ३४ महिलाले सगरमाथा चढे ।

यहाँ ५ जना महिलाले भने सहयोगी स्टाफका रुपमा आरोहण गरेका थिए । पुमोरीमा २ आरोही, ल्होत्सेमा ६ आरोही र ३ स्टाफ, अन्नपूर्णमा ७ आरोही र ५ स्टाफ, अमादब्लममा एक टिम लिडर गरी कुल ६७ जना महिलाले हिमचुचुरो सफलतापूर्वक आरोहण गरेका छन् ।

७१ करोड ४८ लाख रुपैयाँ रोयल्टी

यो सिजन सरकारले विभिन्न हिमालमा जारी अनुमतिबाट ७१ करोड ४८ लाख रुपैयाँ रोयल्टी प्राप्त गरेको थियो । यसमध्ये सबैभन्दा बढी आम्दानी सगरमाथाबाट भयो ।

सगरमाथाबाट विभागले ६६ करोड १३ लाख रुपैयाँ रोयल्टी संकलन गरेको थियो । ल्होत्सेबाट २ करोड ६४ लाख, अन्नपूर्ण प्रथमबाट ९१ लाख रुपैयाँ, अमादब्लमबाट १२ लाख, नुप्त्सेबाट २६ लाख, मकालुबाट ४२ लाख रुपैयाँ रोयल्टी संकलन भएको थियो ।