सबैले बुझ्नुहोला- अहिले नबोली नबोली मिति पुर्याउन सक्ने अनुभवी सिजन्ड बिपी, कृष्णप्रसाद, गणेशमान गिरिज जस्ता श्र’द्धे’य संस्कारी नेताहरूको सत्संग र संगत गरेका नेता शेरबहादुर देउबा हुन्। यिनले राजनीति सिकेका गुरूहरू अब्बल थिए। यिनी बेलायतमा पनि पढेका हुन्। टियूमा पढ्दा नेविसंघको सभापति पनि थिए।
आफू गरिब साधारण परिवारमा, दुर्गम डडेलधुराको दुर्गम गाउँमा जन्मेर पनि शेरबहादुर देउबाले आफूले आफैलाई बनाएका (Selfmade) हुन्। कसैको आशिर्वादले बनेका नेता हैनन्। त्यसरी जसरी बिपी नेता बनेका हुन्। राजनीतिक संस्कारीहरूको सही संगत पाउनु यिनको भाग्य र कर्म हो।
सत्ता राजनीति कसरी चलाउनुपर्छ यिनले आफ्ना अग्रजबाट राम्ररी सिकेका, जानेका छन्। संगठन गर्न पनि चतुर र सफल छन्। सत्ता साझेदार दलका नेताहरू सबैलाई मिलाउन पनि खप्पिस छन्। यिनी लहैलहैमा कसैको पछि कुद्दैनन्। नबोले पनि चुपचाप बसेर सबैलाई मिलाउन भने सक्छन्। यिनका अगाडि पर्दा यिनका सबै कार्यकर्ता र परिवारका सदस्यसमेत पनि डराउछन्।
गिरिजाप्रसाद कोईराला जस्ता टावरिंग र नबोल्ने कोईराला परिवारसंग टक्कर लिने हिम्मतले गरेरै यिनी यसरी गिरिजाप्रसाद जतिकै पॉच पटक प्रधानमन्त्री बन्न सफल भएका हुन्, लुरूलुरू पछि लागेर हैन।
यिनले नयॉ दल खोले, पुरानोसंग पुन: एकिकरण गरे, अनि प्रधानमन्त्री भए, सभापति भए र अझै सभापति छन्। अरू कुनै दलका नेता यसरी दल फोडेर गएपछि पुन: एकिकरण गरेर, एकिकृत दलको सभापति र प्रम भएको पाईदैन। बामदेव, महन्थ, उपेन्द्र र बाबुरामलाई हेर्नुस्। शेरबहादुर अपवाद हुन्। यिनी त एकिकृत नेकॉको एकछत्र नेता बन्न आजसम्म सफल भएका छन् र अझै पनि यिनलाई टक्कर दिन सक्ने दलभित्र कोही नेता देखिदैनन्। अब बुढा पनि हुदै गएका छन्।
तर यति धेरै अवसर पाएर पनि शेरबहादुर देउबाले मुलुकलाई ठोस योगदान दिन सकेको देखिएको छैन। तर, यिनी प्रम हुँदा विश्वका लोकतान्त्रिक मुलुकहरूको सहयोग बामपन्थीहरूलाई भन्दा कैयन गुणा बढी हुन्छ नै।
शेरबहादुरका समान उमेरका दौतरी नेताहरू दलमा र बाहिर पनि कोही छैनन्, सबै जुनियर छन्। त्यसैले दलभित्र ईगो फाईट छैन जस्तो एमाले, माओबादी, मधेशी दलहरूमा छ, जहॉ कसैले कसैलाई टेर्दैनन् किनकी सबै जस्तो समकालिन छन्। त्यसैले शेरबहादुर सबैभन्दा धेरै उमेर फरक भएको दलभित्र र बाहिर जेठा नेता पनि हुन्, एकदम सक्रिय शिर्ष जीवित सिनियर नेताहरूमध्येमा।
उनको काम गर्ने शैली यस्तो रहेको मैले भोगेको छु- सरकारमा सहभागी रहेका दलहरूका कुनै मन्त्रीको काममा यिनले खासै हस्तक्षेप गरेको मेरो अनुभवमा छैन। सबैलाई स्वतन्त्र छाड्छन्। पटक्कै बोल्दैनन्, कुरा गर्न गयो ठिक छ, ठिक छ, बुझेँबुझेँ मात्र भन्छन्। यी मुसुक्क हॉसेको देख्न पाउदा पनि कुरा बुझे होलान् भनेर सन्तोष गर्नुपर्छ। अरूसंग हास्नै नचाहने मसंग कुरा गर्दा मुसुक्क परेको पाएको छु। सबै कुरा बिर्सन्छन् जस्तो लाग्छ र बिर्सन्छन् पनि। भेटेपछिको पिरलो नै यही हो, बिर्सने भएपछि भेटेर भनेको कुराहरूको के अर्थ? के काम ? सबै कुरा यिनका युवा सहयोग पीए भानु देउबाकै भरमा हुन्छ जस्तो लाग्छ। भानुले गरिदिए काम बन्यो नत्र भेटेको मतलबै नहुने। मेरो निजी काम भने बनाउन कहिल्यै परेन, सरकारी काम बने प्रम उनकै सुनाम हुने हो।
सरकारी वा राजनीतिक समन्वय पत्नी आरजु राणाले गर्छिन् जस्तो लाग्छ।श्री ३ मोहन सम्सेरकी नातिनी भएर पनि आरजु राणा ज्यादै मिलनसार, सिम्पल, सहज ब्यवहारकी लाग्छ। यिनले सबैलाई पदले मान गरेरै सम्बोधन गरेको भेटेको छु। आरजुको मीठो बोली छ, बडप्पन देख्दिनँ। हुन त मेरो केही काम परेको पनि छैन तर पनि जागिरमा हुदा सरकारी कामले मेरै मन्त्रालयको बिभागीय मन्त्री भएका कारणले प्रम शेरबहादुर देउबा, आरजु राणा र भानु देउबासंग बेला बेला भेट गर्न पर्थ्यो नै। बस् यति हो मेरो चिनजान।
म सचिव हुदा ३ जना प्रम संग काम गरेँ उनीहरू मेरै मन्त्रालयको पनि मन्त्री थिए: केपी ओली, प्रचण्ड र शेरबहादुर- यी तीन जनाकै विशेषता फरक छन्। अरूको स्वभावका बारेमा पनि पछिपछि भनुँला।
भीम उपाध्याय (नेपाल सरकारका पुर्व सचिव हुन् )
प्रतिक्रिया