मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीतिक ‘स्पेस’ खोज्दै विप्लव, नेताहरूसँग भेटवार्ता बढाउनुका तीन कारण यस्ता छन्

राजनीतिक ‘स्पेस’ खोज्दै विप्लव, नेताहरूसँग भेटवार्ता बढाउनुका तीन कारण यस्ता छन्


काठमाडौं– केपी शर्मा ओली नेतृत्वको सरकारसँग भएको तीनबुँदे सहमतिसँगै खुला राजनीतिमा आएका नेत्रविक्रम चन्द विप्लव करिब ४ महिना ‘रिल्याक्स’ मा बसे। धेरैले सोचेका थिए– भूमिगत जीवन त्यागेका विप्लव अब खुला रूपमा सक्रिय हुनेछन्। तर यस अवधिमा सार्वजनिक कार्यक्रममा देखिनु त परको कुरा, दलका नेताहरुसँगको भेटघाटमा पनि खासै चासो देखाएनन्।  

विप्लव पछिल्लो एक सातायता भने एकाएक राजनीतिक भेटघाटमा सक्रिय भएका छन्। असार २९ गते केपी शर्मा ओली नेतृत्वको सरकार विस्थापन गर्दै कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएसँगै विप्लवले राजनीतिक भेटघाट तीव्र पारेका हुन्। 

देउवा प्रधानमन्त्री भएको भोलिपल्ट असार ३० गते उनले सत्ता साझेदार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग खुमलटारमा भेट गरे। त्यसको भोलिपल्ट विप्लव एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको कोटेश्वरस्थित नेपाल निवासमा पुगेर भेटवार्ता गरे। 

साउन १ गते जनता समाजवादी पार्टीका संघीय अध्यक्ष तथा पूर्व माओवादी नेता डा. बाबुराम भट्टराईसँग र २ गते नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणसँग भेट गरे। साउन ४ गते माओवादी छाडेर एमाले प्रवेश गरेका टोपबहादुर रायमाझी, प्रभु साह र मणि थापासँग भेटेका विप्लवले साउन ५ गते एमाले अध्यक्ष ओलीसँग भेटवार्ता गरेका छन्। 

पहिलो कारण ओली नेतृत्वको सरकारसँग भएको तीनबुँदे सहमति कार्यान्वयन गराउन दबाब दिन अर्थात् जेलमा रहेका सयौं कार्यकर्ता छुटाउन। दोस्रो, आफ्नो राजनीतिक भविष्य सुरक्षित गर्नका लागि स्पेस खोज्न र तेस्रो पूर्व माओवादीबीच एकताको आधार छ कि छैन भनेर बुझ्न।

चार महिना शान्त बसेका विप्लव एकाएक किन दिनहुँ नेताहरुको दैलोदैलो पुगेर भेटवार्ता गरिरहेका छन्? माओवादी नेताहरुको उनको रोजाइमा किन परेका छन्? यसपछाडि मुख्य त तीन कारण रहेको राजनीतिक विश्लेषक श्याम श्रेष्ठको बुझाइ छ। 

कोटेश्वरस्थित माधवकुमार नेपाल निवासमा धर्मेन्द्र बास्तोला, पुष्पकमल दाहाल,नेपाल र विप्लव।

उनका अनुसार पहिलो कारण ओली नेतृत्वको सरकारसँग भएको तीनबुँदे सहमति कार्यान्वयन गराउन दबाब दिन अर्थात् जेलमा रहेका सयौं कार्यकर्ता छुटाउन। दोस्रो, आफ्नो राजनीतिक भविष्य सुरक्षित गर्नका लागि स्पेस खोज्न र तेस्रो पूर्व माओवादीबीच एकताको आधार छ कि छैन भनेर बुझ्न।  

पहिलो प्राथमिकता कार्यकर्ता रिहाइ  

विप्लवसँग यति बेला जुझारु कार्यकर्ता साथमा छैनन्। नेता धर्मेन्द्र बास्तोलाका अनुसार ओली सरकारसँग सहमति भएपछि २०÷२१ जना कार्यकर्ता रिहा भएका छन्। १३० जना मुलुकका विभिन्न जेलमा छन्। ‘प्रधान कारणचाहिँ जेलमा रहेका कार्यकर्ता छुटाउनु नै हो। ओली नेतृत्वको सरकारसँग भएको सहमति देउवा सरकारबाट कार्यान्वयनमा आनाकानी हुन्छ कि भन्ने छटपटी भएर विप्लवले दौडधुप गरेको हुन सक्छ’, विश्लेषक श्रेष्ठले भन्छन्। जुझारु कार्यकर्ता जेलमा रहेकै कारण संगठन निर्माणमा कठिनाइ भएकाले उनको पहिलो प्राथमिकता कार्यकर्ता छुटाउनु रहेको उनी बताउँछन्। जुझारु कार्यकर्ता साथमा नभएकै कारण शान्तिपूर्ण राजनीतिमा आएपछि पनि विप्वले कुनै गतिविधि गर्न नसकेको कतिपयको बुझाइ छ। 

‘सरकारले हामीसँग गरेको तीनबुँदे सहमति कार्यान्वयन गर्नुपर्छ भन्ने हाम्रो मुख्य माग हो। सोही सहमतिबमोजिम कार्यकर्ता छुटाउन भेटवार्ता तीव्र पारेका हौं।’

तीनबुँदे सहमतिपछि शान्तिपूर्ण राजनीतिमा आएको विप्लव समूहको पहिलो सर्त नै विभिन्न अभियोगमा जेलमा रहेका आफ्ना नेता–कार्यकर्ताको रिहाइ थियो। विप्लवसँगै विभिन्न नेताहरुसँगको भेटवार्तामा सहभागी हुँदै आएका नेता बास्तोला पनि आफूहरु कार्यकर्ता रिहाइकै लागि दौडधुप गरिरहेको बताउँछन्। ‘सरकारले हामीसँग गरेको तीनबुँदे सहमति कार्यान्वयन गर्नुपर्छ भन्ने हाम्रो मुख्य माग हो। सोही सहमतिबमोजिम कार्यकर्ता छुटाउन भेटवार्ता तीव्र पारेका हौं’, उनले भने।  

राजनीतिक स्पेसको खोजी 

विश्लेषक श्रेष्ठका अनुसार ओली नेतृत्वको सरकार ढलेको भोलिपल्टदेखि नै विप्लवले दौडधुप गर्नु पछाडिको दोस्रो कारण राजनीतिक स्पेसको खोजी हो। ओलीको आडमा खुला राजनीतिमा आएका विप्वललाई ओली नै सत्तामा नरहेपछि अप्ठेरोमा पर्न सक्ने चिन्ता पनि रहेको हुन सक्छ। ‘कम्युनिस्ट एकताको प्रयास गर्ने र त्यसमै आफ्नो स्पेस खोज्ने नीतिमा विप्लव रहेको देखिन्छ। धमधाधम कम्युनिस्ट नेताहरु दिनहुँ भेट्नुले यसको प्रस्ट संकेत गर्छ’, उनले भने। 

विप्लवको बाक्लो भेटवार्तालाई अर्का राजनीतिक विश्लेषक डा. लोकराज बराल भने अहिलेको राजनीति व्यवस्था अनुकूल कुन  एजेन्डा लिएर प्रवेश गर्ने भन्ने कुराको खोजी भएको हुन सक्ने बताउँछन्। वैज्ञानिक समाजवाददेखि अनेकन एजेन्डा बोकेर हिँडेका उनीहरुलाई अबको व्यवस्थामा छिर्न गाह्रो परेकाले यसरी भेटवार्ता गरेको हुन सक्ने उनको विश्लेषण छ। 

‘कम्युनिस्ट पार्टीहरु छिन्नभिन्न भएको अवस्थामा एकताको प्रयासले काम गर्छ कि भनेर विप्लवले दौडधुप गरेको देखिन्छ। यद्यपि अहिले त्यस्तो अवस्था देखिँदैन।’

‘फेस सेभिङका लागि उनलाई बहाना चाहिएको छ। अहिले उनले त्यही बहाना खोजिरहेका छन्’, उनले भने। यस्तै विप्लवको सक्रियतालाई टुटफुटको अवस्थामा रहेका कम्युनिस्टहरु एक बनाउने र त्यहीं आफ्नो स्पेस खोज्ने प्रयासका रुपमा समेत डा. बराल विश्लेषण गर्छन्। ‘कम्युनिस्ट पार्टीहरु छिन्नभिन्न भएको अवस्थामा एकताको प्रयासले काम गर्छ कि भनेर विप्लवले दौडधुप गरेको देखिन्छ। यद्यपि अहिले त्यस्तो अवस्था देखिँदैन’, उनले भने।

राजनीतिक विश्लेषक श्याम श्रेष्ठ र प्राध्यापक लोकराज बराल।

विप्लव समूहका नेता धमेन्द्र बास्तोता आफूहरुको ध्यान कम्युनिस्ट एकतातर्फ रहेको बताउँछन्। ‘हामीले कतिपय छलफलमा यस विषयमा कुरा पनि गरेका छौं। टुक्रिएका कम्युनिस्ट मिलेर देश निर्माणमा जुट्नुपर्छ भन्ने नै हो हाम्रो लाइन हो’, उनले भने। विचारधारा मिल्नेहरू एकै ठाउँमा उभिन खोज्नुलाई स्पेसको खोजीका रुपमा बुझ्न नहुने उनको भनाइ छ।  

छिन्नभिन्न माओवादी एक बनाउने आधारको खोजी  

तत्कालीन विद्रोही माओवादीका नेताहरू अहिले छिन्नभिन्न छन्। उनीहरु पाँचवटा समूह बनाएर पाँचतिर विभाजित छन्। एउटा समूह पुष्पकमल दाहाल प्रचण्डसँग छ। अर्को समूह मोहन वैद्य किरणसँग। रामबहादुर थापा बादलसहितका केही माओवादी नेता एमाले प्रवेश गरेका छन्। कम्युनिस्ट राजनीति छाडेको दाबी गर्ने बाबुराम भट्टराईसँग पनि पूर्व माओवादीका सानो समूह छ। विप्लव पनि माओवादीको एउटा समूह लिएर शान्तिपूर्ण राजनीतिमा आएका छन्।  

‘माओवादी मात्रै एक बनाउने भन्दा कम्युनिस्ट पार्टी नै एकजुट बनाउने हाम्रो इच्छा हो। त्यसैले माओवादी एकताका लागि सक्रिय भएको भन्नु गलत हुन्छ।’

विप्लवको भेटघाट छिन्नभिन्न भएका माओवादी नेताहरुतर्फ नै केन्द्रित देखिन्छ। उनले भेटेका नेताहरुमा केपी शर्मा ओली र माधवकुमार नेपालबाहेक बाँकी सबै पूर्व माओवादी नेताहरु हुन्। विप्लवको सक्रियता पाँचतिर विभाजित पूर्व माओवादी नेताहरुलाई एकै ठाउँमा ल्याउन सकिन्छ कि भनेर त्यसको आधार खोजीतर्फ पनि केन्द्रित भएको हुन सक्ने वाम विश्लेषक श्याम श्रेष्ठको ठम्याइ छ। उनी भन्छन्, ‘कमजोर अवस्थामा रहेका विप्लवले माओवादी एक भए पुनः माओवादी शक्ति पनि बलियो हुनसक्ने र आफू पनि सुरक्षित रहने विश्लेषणसहित सक्रियता देखाएको हुन सक्छ।’

विप्लव पक्षका नेता भने पूर्वमाओवादी नेताहरुबीच भेटघाट बाक्लो हुनु संयोग मात्रै भएको दाबी गर्छन्। ‘माओवादी मात्रै एक बनाउने भन्दा कम्युनिस्ट पार्टी नै एकजुट बनाउने हाम्रो इच्छा हो। त्यसैले माओवादी एकताका लागि सक्रिय भएको भन्नु गलत हुन्छ’, बास्तोलाले भने। – नेपालसमय