गण्डकी प्रदेश

सेती नदीलाई किन जिस्क्याउँदै छ पोखरा महानगर

पोखरा- हरेक वर्ष वैशाख २३ गते शनिबार पोखराको लामाचौरका दीलिप दोषी बेचैन हुन्छन्। नहुन् पनि कसरी? २०६९ साल वैशाख २३ गते शनिबार बिहान ९ बजेतिर एक्कासी सेतीमा आएको बाढीले उनकी एक मात्र छोरी आर्जना श्रेष्ठलाई उनबाट खोसेको थियो।

पोखराको सिमलचौर स्थित ला–ग्राण्डी इण्टरनेशलन कलेजमा अध्ययन गरिरहेको विद्यार्थीको एक समूह शनिबारको छेको पारेर कास्कीको खारापानीमा पिकनिक खान गएको थियो। एक्कासी आएको बाढीले आर्जनासँगै कास्कीकै कृष्तिका अर्का एक विद्यार्थीलाई पनि बगाएको थियो।

बाढीले बगाएका १७ जनाको शव सुरक्षाकर्मीले फेला परेका थिए। आफन्तहरूसँग सोधपूछका आधारमा बाँकी ४७ जना बेपत्ता भएको खबर कास्की प्रहरीसमक्ष आएको थियो।

त्यसपछि उनीहरूको खोजी भए पनि भेटिए नभेटिएको बारे प्रहरी पनि बेखबर छ। भौतिक क्षति कति भयो भन्ने पनि यकिन नभई सो प्राकृतिक विपत्ति त्यसै सेलायो।

बेमौसममा आएको बाढीले तटीय क्षेत्रमा ठूलो क्षति पुर्याउँदा सेती नदी थुनिएको थिएन। घटनाको अध्ययन गरेर सुझाव दिन स्थानीय प्रशासनले पृथ्वीनारायण क्याम्पस भुगोल विभागका प्रमुख डा. कृष्ण केसीको संयोजकत्वमा एक टोली बनाएको थियो। अध्ययनपछि टोलीले अन्नपूर्ण चौथो हिमालको दक्षिणी मोहोडामा रहेको चट्टान खसेको र त्यो चट्टानले वरिपरिको कमजोर क्षेत्र सोहोरेर ठूलो बाढीको रुप लिएको निष्कर्ष निकालेको थियो।

हिमालको ७ हजार पाँच सय मिटरबाट उक्त चट्टान ३ हजार ३ सय मिटर तल एक्कासी बजारिएर उक्त दुर्घटना भएको निष्कर्ष निकाल्दै जिमिरेबारीमा बाढी पूर्वसूचना केन्द्र स्थापना गर्नुपर्ने, सेती किनारमा रहेका बस्ती एक सय मिटर पर सार्नुपर्ने तथा जथाभावी उत्खनन रोक्नुपर्ने सुझाव दिएको थियो। तर, उक्त सुझाव कार्यान्वयन गराउने कुनै निकाय नै भएनन्।

‘त्यो प्राकृतिक विपत्ति थियो, यस्ता विपत्तिहरू बेला बेला आउनु स्वभाविक हो,’ प्रा. खगेन्द्र पौडेल भन्छन्। प्राकृतिक विपत्ति ल्याउने प्राकृतिक सम्पदाहरूसँग जिस्किन नहुने उनी बताउँछन्।

तर, पोखरा महानगरपालिका भने सेतीलाई जिस्काउन खोजिरहेको छ। वर्षादको समयमा सबैभन्दा धेरै पानी हुने ठाउँ रामघाटमा सेती थुनेर यसलाई जिस्काउन महानगर उद्दत छ।

रामघाटको साथै सेती र विजयपुर खोलाको दोभान मोरेखोरमा पनि सेती थुनेर ढुंगा गिट्टी वालुवा निकाल्ने योजना छ। नागरिक समाज र राजनीतिक दलको तीव्र विरोधका बीच पनि महानगर एकलौटी ढंगमा अघि बढिरहेको छ।

उता अर्को अमूल्य सम्पदा पाताले छाँगोमा सिसाको पुल निर्माण गरी पर्यटकीय आकर्षण बढाउने भन्दै सेती क्यानोनिङ्सँग प्रारम्भिक सम्झौता गरेको छ।

पोखरा महानगरपालिकाको सार्वजनिक निजी साझेदारी कार्यक्रम अन्तरगत प्रमुख प्रशासकीय अधिकृत महेश बराल र सेती क्यानोनिङ्का अध्यक्ष कर्केनकुमार गुरुङ्ले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

सम्झौता अनुसार सेती क्यानोनिङ्ले दुई वर्षमा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) र वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) गर्नु पर्ने हुन्छ। ती प्रतिवेदन स्वीकृत भएमा मात्रै त्यहाँ संरचना निर्माण गर्ने अनुमति पाउने सम्झौतापत्रमा उल्लेख छ।

प्राकृतिक स्रोतको दोहन रोक्न पोखरा महानगरपालिकाविरुद्ध राजनीतिक दल र नागरिक समाज निरन्तर लागिरहे पनि आफूहरूको कुरा महानगरले नसुनेको उनीहरू बताउँछन्। 

प्रमुख प्रशासकीय अधिकृत महेश बराल कुनै प्राकृतिक र सामाजिक क्षति नहुने गरी काम हुने भन्दै सबैको आग्रह र विरोधलाई टारिरहेका छन्।

महानगरको यस्तो कदमको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको जनाएको छ। तर त्यसको प्रतिवेदन सार्वजनिक भइसकको छैन। यसैगरी उच्च अदालतमा पनि महानगरको कदमविरुद्ध उजुरी परेको थियो।

अधिवक्ता देवका तिमिल्सिना, सविन सुवेदी, सविन तिवारी र अस्मिता तिवारीले महानगरको निर्णय बदर गर्न माग गर्दै दायर गरेको रिटमा सुनुवाई गर्दै उच्च अदालतका न्यायधीश बालकृष्ण  उप्रेतीको एकल इजलासले कारण देखाउ आदेश जारी गरेको हो।

भौगोलिक दृष्टिले पनि सेती थुन्ने योजना कार्यान्वयन गर्दा अध्ययन हुनुपर्ने प्राध्यापक पौडेल बताउँछन्। ‘पोखरा र सेतिको भौगोलिक अध्ययन हुनुपर्छ,’ उनी भन्छन्।

उनका अनुसार सन् १९९८ मा खानी तथा भूगर्भ विभागले पोखराको अध्ययन गरेको थियो। त्यसपछि अहिलेसम्म कुनै अध्ययन भएको छैन। उनले बेला बेलामा अध्ययन भइरहनुपर्ने बताए। विभागले गरेको अध्ययनका अनुसार पोखराको बीच भएर बग्ने सेती नदिको पूर्वी तटभन्दा पश्चिमी तट कमजोर पाइएको छ।

त्यही कमजोरीका कारण पोखराको नयाँबजार र न्युरोड क्षेत्रमा बर्खाको बेला जमीन भासिने गरेको उनले उदाहरण दिए। ‘त्यसैले नदि थुन्नको हतारो गर्नु भन्दा यसको बारेमा वीस्तृत अध्ययन हुनु आवश्यक छ,’ उनले भने।

महानगरले रामघाटमा सेती थुन्ने र पातले छाँगोमा सिसाको पुल बनाउने मात्रै होइन, फेवातालको सिरानको सिल्टेसन ड्याम, सेती खोंच र मोरेखोर घाट पनि भाडामा लगाउने भएको छ। करिब ८ करोड खर्च गरेर गत वर्ष निर्माण गरिएको सिल्टेसन ड्याम भने गत असारको निरन्तर झरीले भत्किएको छ।

रामघाटको केसमा पोखरा महानगरले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग पनि मिलेमतो गरेको आरोप लाग्ने गरेको छ। प्रतिष्ठानको तत्कालीन कुलपति डा. बुद्धिबहादुर थापाले आफू निवृत्त हुनुभन्दा केही दिन अगाडी प्रतिष्ठानको कार्यकारी समितिमा सेती नदि थुन्दा अस्पताललाई केही असर नपर्ने निर्णय गराएका थिए।

सो निर्णयकाविरुद्ध प्रतिष्ठानले सञ्चालन गरेको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका चिकित्कहरू समेत लागेका छन्। सेती थुनेर ठूल्ठूला मेसिनका आवाज, उडाउने धुलोले अस्पतालका बिरामीलाई कस्तो प्रभाव पर्ला भन्ने नसोचीकन महानगरलाई स्वीकृति दिएको उनीहरूको भनाइ छ। अस्पताल सेती नदीको किनार रामघाटमै छ।

दाहसंस्कार गर्नेदेखि, तोरण तार्नेलगायतका धेरै धार्मिक अनुष्ठान सेतीको किनारमा गरिने भएकाले धार्मिक भावनामा पनि आँच आउने भएकाले यस्ता काम गर्न नहुने स्थानीय बताउँछन्।

महानगरको यस्तो निर्णयविरुद्ध राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समिति, सिटिजन्स जुरी, नागरिक समाज कास्की संस्थागत रुपमै विरोधमा उत्रिएका छन्। – नेपालसमय

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

अछाममा दलहरुका प्रचार प्रसारका कार्यक्रम अन्तिम चरणमा
दार्चुलाका सीमा नाकामा सशस्त्र प्रहरीले निगरानी बढाउँदै
राजनीतिलाई जनताका लागि काम गर्ने अवसरको रुपमा लिएको छु, जित्नेमा ढुक्क छु : रावल
कमलबजारको जनसागर देख्दा मैले पनि चुनाव जितिसकेको अनुभुती भयो : उपमहासचिव तुलाधार