मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उज्यालिएका एसईई आमाहरू

उज्यालिएका एसईई आमाहरू


बेनी (म्याग्दी)- २०७३ सालदेखि म्याग्दी सदरमुकाम बेनीमा उज्यालो वैकल्पिक विद्यालय सञ्चालित छ। त्यही विद्यालयबाट एसईई उत्तीर्ण गरेकी ६० वर्षीया भुलुमाया तिलिजाको अनुहारमा खुशी छचल्किएको थियो। यसै पनि एसईई उत्तीर्ण भुलुलाई खुशी हुन अरु केही चाहिएको थिएन। सोमबार विद्यालयले उनलाई सम्मान गरेपछि खुशीमा खुशी थपियो। तैपनि उनलाई एसईई उत्तीर्ण गर्दाको खुशी विशेष लाग्छ, सायद जीवनको उत्तरार्द्धमा यो सफलता मिलेकाले होला। 

पहिले बाध्यताले बीचैमा अध्ययन छाड्न परेको र अहिले वैकल्पिक विद्यालय स्थापना भएपछि एसईई उत्तीर्ण गर्ने वर्षौंदेखिको सपना पूरा भएको भुलुले बताइन्। ‘उतिबेला पढ्ने रहरलाई पूरा गर्न सकिएन, फेरि पढ्न पाइन्छ जस्तो कहिल्यै लागेको थिएन। छोराछोरीले पढेपछि फेरि आफू स्कुल जाने कल्पनामा पनि थिएन। अहिले त यो उमेरमा भएपनि एसईई उत्तीर्ण भयौँ, अत्यन्तै खुसी लागेको छ,’ भुलुले भनिन्। 

भुलुजस्तै ५५ वर्षीया लालकुमारी सापकोटाले पनि एसईई उत्तीर्ण  गरेकी छन्। उनी पनि खुशी नहुने कुरै भएन। मेलापातमा नै जिन्दगी बित्ने निश्चित जस्तै भएकी लालकुमारीले पनि सोही विद्यालयबाट एसईई उत्तीर्ण गरेकी हुन्। विद्यालयबाट सम्मानित भइसकेपछि लालकुमारीले आफूलाई जिन्दगीमा नसोचेको खुशी मिलेको प्रतिक्रिया दिइन्। 

भुलु र लालकुमारीसहित उक्त विद्यालयबाट ९ जना आमाहरूले यसवर्ष एसईई उत्तीर्ण गरेका छन्। उनीहरुलाई विद्यालयले सोमबार सम्मान गरेको हो। 

एसईई उत्तीर्ण हुनेमा ४८ वर्षीया भुलकुमारी तिलिजा, ३७ वर्षीया सविना नेपाली, ३६ वर्षीया तिर्सना भण्डारी, ३० वर्षीया रेणु विक, २८ वर्षीया पुष्पा शाही, २५ वर्षीया सलिना विक, २४ वर्षीया ललिता तिलिजा छन्। मार्कसिटमा उनीहरूको २.४० देखि २.६० जिपिएसम्म आएको छ। 

‘अध्ययनको लागि उमेर बाधक बन्दैन’ भन्ने उदाहरण एसईई उत्तीर्ण आमाहरूले पुष्टि गरेका छन्। घासदाउँरा र भान्सामा जीवनको लामो समय बिताएका आमाहरुले उज्यालो वैकल्पिक विद्यालयबाट नेपालीदेखि अंग्रेजीसम्मका सावा अक्षरहरूबाट सुरु गरेर एसईई उत्तीर्णसम्मको अवसरले उनीहरूलाई उत्साहित पनि बनाएको छ।

भुलु र लालकुमारीसहित उक्त विद्यालयबाट ९ जना आमाहरूले यसवर्ष एसईई उत्तीर्ण गरेका छन्। उनीहरुलाई विद्यालयले सोमबार सम्मान गरेको हो। 

एसईई उत्तीर्ण आमाहरूलाई गण्डकी प्रदेश पूर्वमन्त्रीसमेत रहेकी सांसद नरदेवी पुनले सम्मान गर्दै पढाइलाई निरन्तरता दिन आग्रह गरेकी थिइन्। सांसद पुनले क्षमताअनुसार साधारण वा प्राविधिक शिक्षा लिएर रोजगारी सिर्जनामा लाग्न आग्रह गरिन्। उनले राजनीति, प्रशासनिक, उद्यमलगायतका क्षेत्रमा पढाईको ठूलो महत्त्व रहेको बताउँदै पढाइलाई निरन्तरता दिन आग्रह गरेकी थिइन्।

विभिन्न कारणले पढ्ने धोको पूरा नभएर बसेका आमाहरूलाई पढ्ने अवसर प्रदान गर्ने उज्यालो वैकल्पिक विद्यालयलाई स्थापनाकालदेखि यहाँसम्म पुर्‍याउन सहयोग गर्ने गण्डकी प्रदेशकी पूर्वमन्त्री पुन, संचालक समितिका सदस्य, शिक्षक, सहयोगी दातालाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रकुमार केसीले धन्यवाद दिएका थिए।

बेनीमा २०७३ देखि सञ्चालित उज्यालो विद्यालय व्यवस्थापन समितिका उपाध्यक्ष राजेश शाक्यका अनुसार यसपाली एसईई दिने यो पहिलो ब्याच हो। औपचारिक शिक्षाबाट वञ्चित दिदीबहिनीलाई शिक्षा प्रदान गर्ने अवसर दिन पाउँदा आफूहरूलाई पनि उत्तिकै खुशी बनाएको उनले बताए। 

विद्यालयमा २० देखि ६० वर्ष समूहका ६८ आमा अध्ययनरत रहेको विद्यालय सहजकर्ता रीता गर्बुजाले बताइन्। विद्यालयमा आमाहरूले कम्प्युटर चलाउन  पनि सिकिरहेका छन्। 

विद्यालय सञ्चालन गर्न गण्डकी प्रदेश सरकार, बेनी नगरपालिका र शिक्षा विकास तथा समन्वय इकाईले आर्थिक सहयोग उपलब्ध गराएका छन्। दैनिक पढाइलेखाइले पारिवार र समाजको काममा सहज भएको अनुभव अध्ययनरत आमाहरूको छ।