अछाम – अछामको सरमुकाम मंगलसेन वडा नं. ७ जनाली बण्डालीकी कल्पना थ्यायत विगतका हरेक वर्ष दशैँ सुरु हुनु अगावै ढुंगा, माटो, काठको प्रयोग गरी बनाइएको आफ्नो घर लिपपोत गर्नका लागि आवश्यक रातो माटो लिन उनि दिदिबहिनीहरुसँग मिलेर माटो लिन टाढा जंगल गल्चौकामा पुग्थिन् । टाढाबाट ल्याएको रातो माटो, कमेरो र कालीमाटीले घर लिपपोत गर्न उनि जुट्थिन् ।
माटो, कमेरोले घर सिँगारेपछि बल्ल उनलाई दशैँ आएको मिठो आभास हुन्थ्यो । तर गएको बर्ष देखि उने घर लिपपोत गर्न छाडेकी छन् । अहिले गाउँ सम्म सेतो चुना र कालीमाटी बजारमा पाईन थालेपछि उनि सेतो कमेरो र रातो माटोको सट्टा चुना र बजारको कालीमिाटी प्रयोग गर्न थालेकी छन् ।
गाँउका अधिकांश घरमा चुना र बजारको कालोमाटी प्रयोग हुन थालेपछि उनले पनि त्यहि प्रयोग गर्न थालिन् ।
अहिले त अछामका अधिकांश गाउँरगाउँका घरमा प्लाष्टर पनि गरिएको छ । बजारमा थरीथरीका रङ्ग पाइन थालेका छन् । त्यसैले घर रङ्गाइन्छ,’ उनले भनिन्, ‘विगतमा जस्तो रातो माटो, कमेरो र कालीमाटीले घर रङ्गाउने चलन अहिले हराउँदै गएको छ ।’
उनका अनुसार विगतमा दशैँ र तिहार नजिकिँदै गर्दा ग्रामीण क्षेत्रका बासिन्दालाई रातो माटो, कमेरो र कालीमाटीले घर सिँगार्ने चटारो हुन्थ्यो । टाढा–टाढा पुगेर रातो माटो, कमेरोले ल्याएर घर रङ्गाउँथे । घर चिटिक्क पारेपछि बल्ल दशैँ आएको आभास हुन्थ्यो । तर पछिल्लो समय गाउँ बस्तीमा यसरी घर रङ्गाउने, सिँगार्ने प्रचलन हराउँदै गएको उनी बताउछन् ।
विगतमा दशैँरतिहार सुरु हुनु अगावै घर रङ्गाउनका लागि रातो माटो, कमेरो र कालीमाटी लिनका लागि यहाँका स्थानीय समूहमा मिलेर टाढा–टाढासम्म पुग्थे । ढुंगा, माटो, काठको प्रयोग गरी बनाइएका प्रायस् हरेक घर रातो माटो, कमेरो, कालीमाटीले लिपपोत गरि चिटिक्क रङ्गाइन्थ्यो, सजाइन्थ्यो ।
तर पछिल्लो समय गाउँमा पनि सिमेन्ट प्रयोग गरी घर निर्माण गरिनुका साथै बजारमा विभिन्न थरीका रङ्ग पाइन थालेसँगै रातो माटो, कमेरो, कालीमाटीले घर रङ्गाउने चलन हराउँदै गएको नेपाली कांग्रेसका सहसचिव एवंम प्रवक्ता बेदप्रकाश तिमिल्सेनाले शनिबार मंगलसेनमा आयोजित एक कार्यक्रममा कुरा उठाए ।
यसबारे पत्रकारले सोधी खोजी गर्नुपर्ने पनि उनले पत्रकारहरुलाई सुझाए । हराउदैँ गएको परम्पराका बारेमा खोजी गरी किन त्यो परम्परा हट्यो भन्ने बिषयमा अध्ध्यन गरी सामाग्री पस्किन उनले आग्रह गरे ।
अहिले गाउँगाउँमा यातायातको सुविधा पुगेको छ । ग्रामीण क्षेत्रमा समेत धमाधम सिमेन्ट लगायतका निर्माण सामग्री प्रयोग गरी घर लगायतका अन्य भौतिक संरचना बन्ने गरेका छन् । बजारमा सजिलै थरीथरीका रङ्ग पनि आउन थालेका छन् । त्यसैले पनि विगतमा जस्तो रातो माटो, कमेरोले घर लिपपोत गर्ने प्रचलन हराउँदै जान थालेको छ ।
प्रतिक्रिया