मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

के हो हड्डी र मांसपेशी दुख्ने रोग फाइब्रोमायाल्जिया? कसरी पहिचान गर्ने?

के हो हड्डी र मांसपेशी दुख्ने रोग फाइब्रोमायाल्जिया? कसरी पहिचान गर्ने?


डा हरि रिजाल

के हो फाइब्रोमायाल्जिया?
हड्डी र मांसपेशीको तथा शरीरका नरम तन्तुहरुको दुखाई र ती तन्तुहरुको कडापन हुने वा थकित हुने खालका लक्षणसहितको दीर्घ दुखाई नै फाईब्रोमायाल्जिया हो।

यस रोगको दुखाई मुख्यतः घाँटी, कम्मरमुनिको भाग तथा हातहरुमा हुन्छ, तर शरीरका अन्य भागमा पनि दुखाईलगायतका अन्य लक्षण हुने सम्भावना पनि रहन्छ। यस रोगका केही बिरामीहरु टाउकोको दुखाई, अनुहारको मांसपेशी तथा जोर्नीहरुको दुखाई  लिएर अस्पताल पुग्ने  गरेका छन्।

किन हन्छ त यस्तो?
हुन त धेरै अनुसन्धानहरुले फाइब्रोमायाल्जिया हुने ठोस कुरा त पत्ता लगाएका छैनन्, तर पनि मानसिक वा शरीरिक क्षति भएमा वा संक्रमणका कारण यस रोगको समस्या देखिएको हुन सक्छ। यसका अलावा वंशाणुगत समस्या कारक हुनसक्ने अनुमान गर्न सकिन्छ, यदि परिवारका अन्य सदस्यमा पनि सोही प्रकारको समस्या छ भने। 

फाइब्रोमायाल्जिया भए-नभएको कसरी पहिचान गर्ने?
हुन त यस रोगको पहिचान गर्न त्यति सजिलो छैन। किनकि धेरै बिरामीहरुको लक्षण स्पष्ट रुपमा दुखाई  वा मांसपेशीको मात्र समस्या नहुन सक्छ।

यस रोगको पहिचान गर्ने कुनै खास जाँच पनि हालसम्म विकसित भएको छैन्। मात्र बिरामीले दिएको रोगसम्बन्धी जानकारी (हिस्ट्री) तथा चिकित्सकले बिरामीको जाँचका दौरानमा पाएको लक्षणका आधारमा पहिचान गर्ने गरिन्छ। 

खासगरी तीन महिनाभन्दा बढी समयदेखि शरीर दुखेमा, दुखाई मुलतः बिहानको समयमा भएमा, दिनमा थकित महसुस भएमा, मांसपेशीहरु कडा भएमा, बाउडिएको जस्तो भएमा वा झमझम गरेमा, टाउको दुख्ने समस्या थपिएमा  तथा दुखाई शरीरका विभिन्न भागमा भएमा यो रोग हो भन्ने निर्क्योल गर्न सकिन्छ। 

फाइब्रोमायाल्जिया सम्बन्धमा यथार्थ के हाे?
यस रोगका कारणबाट ५ प्रतिशतसम्म कुनै पनि लिंग वा उमेर समूहका व्यक्तिहरु प्रभावित हुन सक्छन्। यो रोग पुरुषको तुलनामा महिलामा बढी हुन्छ।  यसका लक्षणहरु दीर्घ हुन्छन् र नयाँ लक्षण कुनै पनि दिनमा बल्झिन सक्छन। यस रोगका कारण रोगीहरुमध्ये करीब २५ प्रतिशत आफ्नो दैनिक कार्य गर्नबाट बञ्चित हुन्छन्। यस रोगका लागि आधिकारिक रुपमा सीमित औषधिमात्र प्रयोग गर्न मिल्छ भने यो रोगलाई औषधिका अलावा केही तोकिएका अभ्यास (फिजियोथेरापी) बाट पनि निको पार्न सकिन्छ।  

कसरी गरिन्छ उपचार?
दुखाई निर्मुल गर्ने सुरक्षित औषधि तथा नशाहरुलाई शिथिल बनाउने औषधिको प्रयोग नै यस रोगको मुख्य उपचार हो। बिरामीको सम्बन्धित लक्षणहरुको पनि उपचार सँगसँगै गर्नु आवश्यक हुन्छ, जसमा मानसिक समस्याको समानन्तर उपचार गर्नु आवश्यक छ। वास्तवमा यस रोगको बारेमा बिरामीले जान्नु नितान्त जरुरी छ। अन्यथा बिरामीहरु उपचारको खोजीमा धेरै चिकित्सकलाई भेटेर आफ्नो समय र पैसा खर्च गरिरहेका हुन्छन्। तर त्यसो गर्नु हुन्न। सम्बन्धित चिकित्सकले यस रोगका बिरामीलाई आवश्यक परामर्श दिन सक्छन्।

अन्तमा, दुखाई वा फाइब्रोमायाल्जियाका लक्षणमध्ये केही तपाईंमा भएमा सही पहिचान गराएर उपचार गराएमात्र रोग निको हुने सम्भावना रहन्छ। 

  (डा रिजाल काठमाडौं पेन मेनेज्मेन्ट सेन्टरमा कार्यरत छन्। )