मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गेटा मेडिकल कलेज कहिले सञ्चालनमा आउँछ? विरोधमा उत्रिए स्थानीय, दबाब अभियान सुरु

गेटा मेडिकल कलेज कहिले सञ्चालनमा आउँछ? विरोधमा उत्रिए स्थानीय, दबाब अभियान सुरु


धनगढी- ‘प्रत्येक प्रदेशमा कम्तीमा दुई मेडिकल कलेज/प्रतिष्ठान स्थापना र सञ्चालन गर्ने नीति लिइनेछ। सुदूरपश्चिम विश्वविद्यालयसँगको सहकार्यमा डडेल्धुरामा मेडिकल कलेज सञ्चालनमा ल्याइनेछ। चिकित्सा शिक्षा अध्ययन गराउने शिक्षण संस्थाको क्षमताका आधारमा विद्यार्थीसँख्या वृद्धि गरिनेछ,’ मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उक्त जानकारी दिएकी हुन्।

प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्लामा अर्को मेडिकल कलेज सञ्चालन गरिने घोषणा भएपछि सुदूरपश्चिम प्रदेश कैलालीको धनगढी र गोदावरीका नागरिकहरु दबाबमुलक कार्यक्रममा प्रस्तुत हुन लागेका छन्। उनीहरु डडेल्धुरामा अर्को मेडिकल कलेज सञ्चालनमा ल्याउने विषयलाई लिएर नभई लामो समयदेखि निर्माणाधिन गेटा मेडिकल कलेजलाई सञ्चालनमा ल्याउन नसकेको भन्दै विरोधमा उत्रिएका हुन्।

कैलालीको गोदावरी नगरपालिकामा गेटा मेडिकल कलेज सञ्चालनमा ल्याउनुपर्ने भन्दै बुधबार सो क्षेत्रका नागरिकले स्वस्फूर्त रुपमा एक घण्टा सडक अवरोध गरेका थिए। उनीहरुले भौतिक संरचना तयार भइसके पनि पठन–पाठन र उपचार सेवा सञ्चालन गर्नमा सरकारले ढिलाई गरेको भन्दै विरोध जनाएका हुन्।

बुधबारनै धनगढीमा मेडिकल कलेजलाई सञ्चालनमा ल्याउन भन्दै सरोकारवालाहरुसंग छलफल गरेर दबाब समूह गठन गरिएको छ। सो समूहले प्रधानमन्त्रीको ध्यानाकर्षणदेखि विभिन्न आन्दोलनका कार्यक्रम तय गर्ने छ। 

गेटा मेडिकल कलेज पुर्वाधार विकास समितिका पूर्व कार्यकारी निर्देशक डाक्टर भीमसिंह टिंकरीले स्वास्थ्य विज्ञान प्रतिष्ठान नै उपयुक्त हुने बताए। ‘मेडिकल कलेज नै भए अस्पताल सञ्चालन भएको तीन बर्षपछि मात्रै कलेजको पढाई सुरु गर्न पाइने मापदण्ड रहेको छ,’ उनले भने– ‘अन्य विश्व विद्यालयको सम्वन्धन लिनुपर्ने बाध्यकारी नियम छ। तर स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा सञ्चालन भए कलेज र अस्पतालसंगै सुरु गर्न सकिने र आफै“मा स्वायत्त हुने भएकाले सुदूरपश्चिमका लागि उपयुक्त हुने छ।’

गेटामा मेडिकल कलेज वा स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनका लागि आधारभूत भौतिक संरचना तयार भइसकेको बताउ“दै उनले अहिलेसम्म कुन प्रारुपमा सञ्चालन हुने भन्ने विषयमा समेत टुङगो नलाग्दा तयार भएका भवन पनि प्रयोग विहिन बन्ने सम्भावना बढ्दै गएको बताए।

सेती प्रादेशिक अस्पतालका पूर्व मेडिकल सुपरिटेण्डेण्ट डाक्टर गणेशबहादुर सिंहले सेती प्रादेशिक अस्पतालमा नभएका विशेष सेवाहरुलाई गेटा मेडिकल कलेजमा सञ्चालन गरि सेवा सुरु गरिनुपर्ने सुझाव दिए। उनले भने ‘अहिले पनि दुई मन्त्रालयले गेटा कस्को मातहातमा रहने भन्ने विवाद कायमै रहेको छ। तर, प्रदेशको स्वास्थ्यको सुधारका लागि सेती तथा अन्य अस्पतालमा नभएका विशेषज्ञ सेवा शुरु गरि सञ्चालनमा ल्याउनुपर्छ। विस्तारै अन्य सेवा पनि थप गर्दै अघि बढ्दा राम्रो हुने छ।’

भौतिक संरचना लगभग पुरा भइसकेको गेटा मेडिकल कलेज चाही कहिले सञ्चालन गर्ने भन्दै वरिष्ठ पत्रकार मनमोहन स्वा“रले प्रश्न गरेका छन। उनले भने –‘प्रदेश सरकारले ‘एयर लिफ्टिङ’ लाई नै स्वास्थ्य सेवाको सबैभन्दा ‘महान कार्य’ का रुपमा ब्याख्या गरेको छ। हाडनसा, जटिल प्रसुति सेवा, मुटुरोग, क्यान्सर जस्ता रोगबाट ग्रसित बिरामीहरु घरखेत बेचेर उपचारका लागि काठमाडौं, भारतका अस्पताल धाउन बाध्य छन्।’ 

उनले केही समुहहरु अहिलेसम्म अनेक बहाना बनाएर गेटा मेडिकल कलेजलाई दन्त्यकथा बनाउन उद्यत रहेको बताए। उनले अस्पतालहरुको स्तरोन्नती गरेर सबै वर्ग, समुदायले सुलभ  र सहज रुपमा गुणस्तरीय स्वास्थ्य सेवा पाउन सकुन् भन्नेतर्फ ध्यान दिनुुपर्ने बताए। 

उनले भने –‘गेटा मेडिकल कलेजलाई मेडिकल विश्वविद्यालय बनाउँछौ? कि स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउँछौं? अथवा अत्याधुनिक अस्पताल? जेसुकै बनाउ, तर तत्काल सञ्चालनमा ल्याऊ। अब आन्दोलन अगाडि बढाउनै पर्छ।’

२०७३/०७४ सालबाट गेटामा कलेज निर्माण थालिएको गेटा मेडिकल कलेको निर्माणका महत्वपूर्ण कामहरु सकिएको कलेज पूर्वाधार निर्माण विकास समितिका निर्देशक हेमराज पुजाराले बताए। 

उनका अनुसार चालू आर्थिक वर्षको भौतिक प्रगति पनि ६० प्रतिशत पूरा भएको छ। ‘पूर्ण आयोजनाको ९० प्रतिशत भौतिक प्रगति भएको हो,’ उनले भने। अस्पताल र मेडिकल शिक्षा अध्ययनका लागि निर्माण थालिएको मेडिकल कलेजको पूर्वाधार निर्माणको काम लगभग पूरा हुन लागेको उनले बताए। संघीय शिक्षा मन्त्रालयले निर्माण थालेको कलेजको प्रशासनिक भवन, कलेज भवन, छात्राबास लगायतको संरचनाहरुको निर्माणको काम सकिएको छ।

चालू आर्थिक वर्षमा मेडिकल कलेज पूर्वाधार विकास समितिले थप छात्रबासका भवनहरु निर्माणको काम थालेको छ। ६ वटा छात्राबास भवनको निर्माणको काम पूरा हुने दाबी गरिएको छ। ‘आगामी आर्थिक वर्षबाट मेडिकल कलेज भित्रका सडक कालोपत्रेका लागि ठेक्का सम्झौताको तयारी थालिएको छ,’ पुजाराले भने, ‘६ सय शैय्या क्षमताका २ वटा अस्पताल भवन निर्माणको काम सकिएको छ। अन्य २७ वटा भौतिक संरचना निर्माणको काम सकिएको छ।’

गेटा मेडिकल कलेजमा भवनहरू बने पनि खानेपानी, अक्सिजन प्लान्ट, फोहोरमैला व्यवस्थापन, ढलपानी निकास, विद्युतको सव स्टेसन निर्माण लगायतको काम भने बा“की छ। भित्रि क्षेत्रमा सडक कालोपत्रेका लागि पनि ठेक्का गरिएको छैन। मेडिकल कलेज सञ्चालनको प्रारुप पनि टुंगो नलागेको पुजाराले बताए। 

०४४ सालतिर शंकराचार्यले गेटामा मेडिकल कलेज स्थापना गर्ने भन्दै केही जग्गा किनेका थिए र सानो घर पनि बनाएका थिए। उनै शंकराचार्यले २०५६ मा जयन्त सरस्वती स्वर्ण महोत्सव ट्रस्ट स्थापना गरे। त्यही वर्ष सरकारले गेटा आ“खा अस्पताल अगाडिको ७७ बिघा जमिन मेडिकल कलेज स्थापनाका लागि ट्रस्टको नाममा दियो। तर, ७ वर्षसम्म मेडिकल कलेजको अगाडि बढेन। ०६२ मा स्थानीयलाई त्यस क्षेत्रमा सामुदायिक वन जगेर्ना गर्न भनियो। ०६५ मा सरकारले पहिलो पटक गेटा मेडिकल कलेजका लागि एक करोड बजेट विनियोजन गरेको थियो।