३० फागुन, काठमाडौं । संघीय संसद सचिवालयको महासचिव को बन्ला ? हालका महासचिव मनोहरप्रसाद भट्टराईको ५ वर्षे कार्यकाल एक साता पनि बाँकी नरहँदा संसद सचिवालयमा अहिले यस्तो प्रश्न उठ्ने गरेको छ ।
भट्टराईले दुईपटक संसदको महासचिव भएर आइतबार अवकाश लिँँदैछन् । आगामी चैत ७ गतेसम्मका लागि संसदको बैठक स्थगित भइसकेको अवस्था छ ।
संविधान अनुसार संसद सचिवालयको महासचिवलाई राष्ट्रपतिले नियुक्ति गर्ने हो । तर, कसलाई नियुक्ति गर्ने भन्ने सिफारिस चाहिँ प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षले गर्नुपर्छ ।
यसअघि संविधानसभा र व्यवस्थापिका संसदको प्रमुख सुवास नेम्वाङ एक्लै भएकाले आफैंले भट्टराईलाई नियुक्तिका लागि सिफारिस गरेका थिए ।
आइतबारदेखि महासचिव पद रिक्त हुनै लाग्दासम्म अहिलेसम्म सभामुख र अध्यक्षबीच कसलाई नियुक्त गर्ने भन्नेबारे कुराकानी भएको छैन । अहिलेसम्म महासचिव सिफारिसबारे छलफल भई नसकेको सभामुख अग्नि सापकोटाले बताएका छन् ।
सभामुख र राष्ट्रिसभा अध्यक्ष दुवैको सहमतिमा सिफारिस गर्नुपर्ने भएकाले अबको महासचिव बन्ने व्यक्ति सत्तारुढ नेकपाको शीर्ष नेतृत्वको समेत रोजाइमा पर्ने देखिन्छ ।
पूर्वमाओवादी पृष्ठभूमिका सभामुख सापकोटा र पूर्वएमाले पृष्ठभूमिका राष्ट्रियसभाका अध्यक्ष तिमल्सिनाले महासचिवमा साझा नाम दिन पार्टीको साथ चाहिने संसद सचिवालयका उच्च अधिकारीहरु बताउँछन् ।
एक अधिकारीले भने, सापकोटा र तिमल्सिनाले एउटै व्यक्तिमा फ्याट्टै सहमति जुटाउने सम्भावना देखिन्न, यसमा केपी ओली र प्रचण्डको पनि सहमति खोजिएको हुन सक्छ । सम्भवतः संसदीय दलका उपनेता सुवास नेम्वाङको भूमिका यसमा निर्णायक हुनसक्छ । तर, अहिले नै को व्यक्ति महासचिवमा आउला भन्ने धमिलो अनुहार पनि कतै देखिन्न ।
नेकपा संसदीय दलका उपनेता नेम्वाङले पनि संसद सचिवालयको महासचिव नियुक्तिका बारेमा कुनै जानकारी नभएको अनलाइनखबरलाई बताए ।
तर, संविधान र ऐन बमोजिम सभामुख तथा राष्ट्रियसभाका अध्यक्षको सिफारिसमा राष्ट्रपतिले नियुक्ति गर्ने संवैधानिक पद भएकाले महासचिव कसलाई बनाउने भनेर नेकपाले सुझाव दिन आवश्यक नभएको नेम्वाङले बताए ।
को बन्ला त महासचिव ?
सभामुख सापकोटाले अहिलेको कर्मचारीतन्त्रभित्रबत्राट भन्दा पनि बाहिरबाट विज्ञलाई महासचिव बनाएर ल्याउने चाहना व्यक्त गरेका छन् । यसमा राष्ट्रियसभा अध्यक्ष तिमल्सिना पनि सहमत नै देखिन्छन् । तर त्यस्तो व्यक्ति को भन्नेबारे छलफल भएको छैन । सम्भवतः सभामुख र अध्यक्षले नेकपा नेतृत्वसँग परामर्श गर्ने स्रोतले जनाएको छ ।
एक वर्षअघि संसदले पारित गरेको संघीय संसदका महासचिव र सचिवहरुको सेवा सुविधा र योग्यता सम्बन्धी ऐन अनुसार कुनै पनि विषियमा स्नातकोत्तर गरेको व्यक्तिलाई महासचिव नियुक्त गर्न सकिन्छ ।
यो प्रावधान अनुसार संसदको महासचिव संसद सेवाका कर्मचारीभन्दा बाहिरबाट पनि नियुक्त गर्न मिल्छ । अहिले भइरहेका संसद सचिवालयका सचिवबाटै महासचिव बनाउने कि बाहिरबाट ल्याउने भन्ने विकल्प सभामुख तथा अध्यक्षलाई छ ।
संसद सचिवालयमा अहिले भइरहेका सचिवहरु भरतराज गौतम, धु्रवराज घिमिरे, राजेन्द्र फुयाल र गोपालनाथ योगीमध्ये फुयाल र योगीको उमेर ४५ वर्ष नपुगेकाले महासचिवमा उनीहरुको दाबी नहुन सक्छ । तर, बहालवला योग्यहरुको दाबी रहनु स्वाभाविकै हो ।
महासचिवको उमेर हद ५८ वर्ष रहेकाले पूर्वसचिवहरु वा पूर्वप्रशासकहरुको सम्भावना पनि कम देखिन्छ ।
यसअघि महासचिवको उमेर हद ६३ वर्ष रहेकोमा अहिले कानुन संशोधन गरी ५८ कायम गरिएको छ ।
यो पद एक प्रकारले राजनीतिक नियुक्ति खालकै रहेकाले सभामुख र अध्यक्षले नेकपा नेतृत्वसँग परामर्श गरेरमात्र नियुक्ति सिफारिस गर्ने निकट स्रोतहरु बताउँछन् ।
‘सभामुख र अध्यक्षको फरक पृष्ठभूमि र उहाँहरुले लिने नाम पनि फरक नै हुने भएकाले पार्टीको सिग्नल अनुसार नै हुनेछ’ एक नेकपा नेताले भने ।
यसैवीच सभामुख अग्नि सापकोटाले संसदको महासचिवमा आफूसँग काम गर्ने स्पिरिट मिल्ने किसिमको ‘अग्रगामी’ महासचिव ल्याउन चाहेको निकटस्थहरुसँग बताएका छन् ।
सभामुख सापकोटाको भनाइ उधृत गर्दै स्रोत भन्छ, ‘खासमा अहिले मेरो स्पिरिट र सचिवालयको नेतृत्वको स्पिरिट मिलिराखेको छैन, म अग्रगामी महासचिव भइदिए हुन्थ्यो भन्ने चाहन्छु ।’ – onlinkhabar
प्रतिक्रिया