धनगढी/अछाम : अछाम बर्दादेबीका दलबहादुर साउदको शरिरमा ५० भन्दा बढी बारूदका छर्रा छन्। अर्घाखाँची सदरमुकाम सन्धिखर्कको लडाईका बेला उनको शरिरमा छर्रा लागेको हो।
सशस्त्र जनयुद्दकालमा पार्टीका लागि लडेका अहिले पूर्णरूपमा शारीरिक असक्त साउद भन्छन्, ‘आफ्नै पार्टीको सरकार छ, तर हाम्रा लागि न हर्ष छ, न विस्मात नै।’ तत्कालिन जनमुक्ति सेनाका सर्वोच्च कमान्डर पुष्पकमल दाहाल, अर्घाखाँची लडाइँको मोर्चा सम्हालेका कमान्डर नन्दबहादुर पुन लगायतका केही नेतासँग भने उनको गुनासो छ। दाहाल र पुन दुई÷दुई पटक प्रधानमन्त्री र उपराष्ट्रपति बनेपनि आफूहरू जस्ता घाइतेका लागि पार्टीले चासो नदिएको उनले बताए।
भन्छन्, ‘हामीले ज्यानको आहुती दिएर लडेको त केवल नेताहरूलाई सत्तामा पुर्याउन र धनी बनाउन मात्र रहेछ।’ गोलीको छर्रा लागेपछि बाँया आँखाको पुरै दृष्टि छैन। आर्थिक अवस्था कम्जोर भएकाले उपचार गर्न सकेका छैनन्। अछामकै रामारोशन गाउँपालिकाका कम्मान साउद १४ वर्षको उमेरमा युद्दमा होमिए। अल्लारे जोस देखेर पार्टीले उनको नाम ‘जोसिला’ राखेको थियो। ०६० चैत्र २५ गते रुकुमको खारामा भएको आक्रमणमा उनी घाईते भए। पश्चिम डिभिजनका कमान्डर जर्नादन शर्माको नेतृत्वमा साउद खारा खटिएका थिए।
सो आक्रमणमा साउदको घाँटीका दुई ठाउँ, श्वासनली नली नजिकै र बाँया पाखुरामा लागेको छर्रा अझै बाँकी छ। बाँया खुट्टा चल्दैन, जोसिलाको जोस पनि हराएको छ। सत्तामा पुगेका नेताले बिर्सिएपछि आफूहरू जस्ता धेरैको उपचार हुन नसकेको उनले बताए। अछामकै रामारोशन गाउँपालिका–५ का हर्क बुढा दुःखाई कम गर्ने औषधी नियमित प्रयोग गर्छन्। रूकुमको खारामा भएको युद्धमा उनी घाईते भएका हुन्। बुढाको बायाँ खुट्टाको पैतलाको मुनीको भाग चल्दैन। बायाँ खुट्टाको तिघ्राको गोली निकाल्न बाँकी छ।
बझाङ घर भएका रतनबहादुर सिंहपनि जनमुक्ति सेनाका बटालियन कमान्डर हुन। उनले कैलालीका मसुरिया, चिसापानी, पण्डोन, दार्चुलाको गोकुलेश्वर, म्याग्दी र अछामको युद्द लडे। सिंह भन्छन, ‘जनयुद्दको रजत महोत्सव मनाईरहँदा, त्यसको प्रारम्भीक उद्देश्य अझै पुरा नभएको जस्तो लागि रहेको छ।’ घाईते, अपाङ र बेपत्ता परिवारका पीडा मात्रै होईन, पार्टीमाका ईमान्दार कार्यकर्ताको उचित मूल्यांकन नहुँदा ‘डिप्रेशन’ मा जानु परेको उनले बताए। अन्नपूर्ण बाट
प्रतिक्रिया