डोकेबजार । भारतको विभिन्न स्थानहरुबाट घर फर्केर गौरीफन्टा नाका संगैको डोकेबजारमा अलपत्र अबस्थामा रहेका छन् ।
भारतबाट घर फर्कन नेपाल भारत सीमा नाका गौरीफन्टा भएर कञ्चनपुरको डोकेबजार पुगेका उनिहरु नेपालमा लक डाउन भएपछि सयौं नेपालीहरु सीमा क्षेत्रमा फसेका छन् ।
अलपत्र नेपालीहरु लकडाउनको अवज्ञा गर्दै नेपाल धनगढी तर्फ भित्रिन खोजेपछि लाठी चार्ज भएको छ । स्थिति नियन्त्रणमा लिन लाठी चार्ज गर्नु परेको बताइएको छ ।
नाकामा अलपत्र परेका सयौँ नेपाली सुरक्षा घेरा छिचोल्दै नेपाल प्रवेश गर्न थालेका छन्। उनीहरु दशगजा क्षेत्रबाट नेपाली भूमिमा प्रवेश गरिसकेका छन् ।
सीमा संगैको मोहना पुलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले उनीहरुलाई रोक्ने प्रयास गरिरहेको छ। यद्यपि कतिपय नेपालीहरु भने भागेर नेपाल प्रवेश गरिसकेका छन् ।
भारतका बिभिन्न प्रान्तबाट सोमबार साँझ कञ्चनपुर कैलालीसंगै जोडिएको भारतीय नाका गौरीफन्टा र पश्चिमी नाका बनवासा गड्डाचौकी पुगेका सयौं नेपालीहरु लक डाउनका कारण नेपाल प्रबेश गर्न पाएका छैनन् ।
अलपत्र यात्रुहरुले रातभरी सीमामाको खुल्ला चौरमा रात गुजारेका थिए । सोमबार रातिदेखि आफुहरुले केही खान नपाएको गुनासो गरे ।
रातभर भोकै रहेका उनीहरुले नेपाल प्रवेश गर्न पाउनु पर्ने भन्दै सीमा क्षेत्रमा नाराबाजीसमेत गरिरहेका छन् । कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले सीमामा रहेका नेपालीहरुको व्यवस्थापनका लागि पहल भईरहेको बताए । – hamarakura.com
प्रतिक्रिया