गीता कुँवर, अछाम : साँफेबगर नगरपालिका–१४ पातलकोटकी सानु थापा १७ बर्षकी भईन् । विद्यालयमा भेटिनुपर्ने उनी हरेक दिन उनी घरायसी काममा ब्यस्त हुन्छिन् ।
कालिका माध्यामिक विद्यालयकी पूर्व छात्रा सानुले ६ कक्षा पढ्दा पढ्दै विद्यालय छोडिन् । भन्छिन्, ‘घरायसी काम र घासदाउराले गर्दा गृहकार्य गर्ने, पढ्ने समय नभएपछि विद्यालय जानै छोडे ।’ सानु जस्तै कौशी परियारले कक्षा ३ र शान्ति थापाले कक्षा सातमा पढ्दा पढ्दै वीचमै विद्यालय छोडे । सानु, कौशी र शान्ति जिल्लाका प्रतिनिधी छात्रा मात्रै हुन् ।
घास, पात र अन्य घरायसी काममा व्यस्त हुने अधिकांश छात्रा विद्यालयतह पार हुनु अगावै पढाई छोड्ने गर्छन् । बिहान र बेलुका धान कुट्ने र दिउसो गाईबस्तुसँगै घास दाउरामा समय बित्ने भएपछि साँफेबगर नगरपालिका–९ बुढाकोटकी लाली बिकले पनि सरस्वती प्राविमा कक्षा ५मा पढ्दै गर्दा विद्यालय छोडिन् । उनी अहिले १५ बर्षकी भईन् ।
अछामका अधिकांश ग्रामीण भेगका छात्राको अवस्था यस्तै रहेको त्रिपुरा सुन्दरी प्राविकी शिक्षिका मनिषा बोहराले बताईन् । उनले भनिन् ‘अझै पनि घरको सबै काम छोरीले गर्नुपर्छ भन्ने मान्यता गाउँघरमा छ ।’ घरायसी कामको बोझ, गरिबी र बालविबाहका कारणले पनि छात्राको संख्या विद्यालयमा घट्ने गरेका बोहरा बताउँछिन् ।
प्रतिक्रिया