मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘कांग्रेसको सहयोगले सरकारलाई उर्जा’

‘कांग्रेसको सहयोगले सरकारलाई उर्जा’


काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको साथ र सहयोगले सरकारलाई कोरोनो भाइरसविरुद्धको अभियानमा ऊर्जा मिलेको बताएका छन् । कांग्रेस संसदीय दलका तर्फबाट प्रमुख सचेतक बालकृष्ण खाँणले शुक्रबार सरकारलाई बुझाएको १७ बुँदे सुझाव उपयोगी भएको उपप्रधानमन्त्री पोखरेलले बताए ।

सरकारद्वारा गठित नोभल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक समेत रहेका उपप्रधानमन्त्री पोखरेलले शनिबार सुझाव कार्यान्वयन गर्ने जानकारी गराएको कांग्रेसका प्रमुख सचेतक खाँणले बताए । उनले भने, ‘उहाँले उक्त ज्ञापन पत्रबारे सरकार गम्भीर रहेको र कांग्रेसबाट प्राप्त सुझावहरु उपयोगी र सान्दर्भिकसमेत रहेको बताउनुभयो ।

साथै कांग्रेसको साथ एवं सहयोगले सरकारलाई थप ऊर्जाका साथै आत्माबल दिएको बताउनुभयो ।’ उपप्रधानमन्त्री पोखरेलले शनिबार दिउँसो प्रमुख सचेतक खाँणलाई टेलिफोनमार्फत् सुझावका लागि धन्यवाद दिएका हुन् । 

प्रमुख सचेतक खाँणका अनुसार उपप्रधानमन्त्री पोखरेलले उपचारका लागि आवश्यक पर्ने स्वास्थ्य उपकरण, परीक्षण किट, पि.पि.ई (पर्सनल प्रोटेक्सन इक्युपमेन्ट) लगायतका आवश्यक सामग्री आइतबारसम्म नेपाल आइपुग्ने जानकारी गराएका थिए । ती स्वास्थ्य उपकरणहरू र सामग्रीहरू सातै प्रदेशमा यथाशीघ्र वितरण गर्ने उपप्रधानमन्त्री पोखरेलले बताएका छन् ।

प्रमुख सचेतक खाँणले कांग्रेसकातर्फबाट शुक्रबार उपप्रधानमन्त्री पोखरेललाई ज्ञापन पत्र बुझाएका थिए । ज्ञापनपत्रमा सरकारलाई कोरोनाको सम्भावित संक्रमण फैलिन नदिन र जोखिम नियन्त्रणका लागि तत्काल आवश्यक कदम चाल्न सुझाव दिइएको थियो । सरकारले अत्यावश्यक स्वास्थ्य सामग्री समयमै उपलब्ध नगराएर अकर्मण्यता देखाएको कांग्रेसको आरोप छ ।