लक्ष्मीप्रसाद देवकोटा
।। क ।।
“आमा खै बा ! काँ जानुभो ?” त्रस्त जिज्ञासाले नरमाएकी पानीदार बाललोचनले बाबुको विषादमय आँखाको मुटुतिर ताकेर, सानी, मीठो तोते बोल्ने ताराले सोाधिन् ।
आकाशको कालो बादल १/ थोपा बरबर भएर रोकियो । झिलिक्क बिजुली चम्क्यो । झन् दोब्बर अन्धकार भयो । घरर्र नभस्तल गड्गडायो । वर्षाकालका दिन थिए ।
सहसा ताराका फूलथुँगालाई च्यापेर गाला जोरेर बाबुचाहिँले दलिनतिर आँखा लगाए । पिलपिले बत्ती झोक्काले तर्संदै वर्षाकालको संसारमा आफ्नो सारहीन जीवनमा अल्प आत्मसमर्थनले धर्मराइरहेको थियो । तन्ना खज्मजिएको सानो कोठरीको झ्यालमा रहेको विशालको अन्धकारतिर बाबुछोरीले एकछिन चुपचाप हेरे ।
बालजिज्ञासा दोहरियो । बाबुले आँसुमा पग्लँदँ भने, “प…र आकाशमा बाबा !”
ताराको शिशुकल्पनाले आमा कहाँकहाँ अँध्यारोमा बसेर रोएको जस्तो मिर्मिर चित्र खडा गर्यो । उनी एकैछिन टोह्लाइन्, “किन नआएको होला !” आत्माले सजल स्वरमा कहाँकहाँबाट बर्बराउँथ्यो ।
“आमा आए कस्तो हुन्थ्यो हगि बा !”
“हो बाबा, कस्तो हुन्थ्यो ।”
“बा किन लुनुभएको हँ ?”
घुँक्क गरेर घुँक्क आफैं शरमले बीचगलामा रोकियो ।
“म रोएको छैन बा !” अद्र्धविरुद्ध स्वरले काँपेर प्रत्युत्तर दियो, त्यो स्नेहमय त्रासमा जो शिशुहृदयमा प्रौढ–वेदना झल्काउनदेखि तर्सिन्छ ।
“हेर न आकाश रोइरहेछ, बिजुली चम्किरहेछ, मेघ गर्जिन्छ ।”
“किन बा ! किन लोएको हँ ? मलाई डल लाग्छ बाबै ।”
गलामा पुष्पपेशल लघुभारको बाहुमाला लिप्टाएर आधार खोज्दो शिशुहृदय खँदिलो पैत्रिक स्पर्श अपनाएर टाँस्सिँदै लिप्टियो ।
शीघ्र प्रत्युत्तरदायक हृदयले “नडराऊ बाबा !” भनेर मुटुको टुप्पो माथि उचाल्दै चपक्क च्यापिराख्यो– त्यस जुहारतलाई, जो उनको अफिसमा कल्पनावरिपरि घुम्थिन् ।
।। ख ।।
डाक्टर मधुसूदन वाग्मती किनारतिर घुम्दै आइरहेका थिए । साँझ पर्ने बेला थियो । एकतले सानो घर उनको दायाँपट्टि दरिद्रताको क्षुद्र प्रतिनिधिझैं पिँढी छोप्ने झिँगटी र ठाउँठाउँमा खज्मजिएको हुनाले, गरीबीझैं गर्वहीन सत्यतासँग रहेको थियो । धनी र गरिब तुलना गर्दै डाक्टरसाहेब लम्किरहेका थिए– हात हल्लाउँदै, गहिरो निश्वास लिँदै ।
अकस्मात कोकोहलो सुनियो ।
“ए चिसी भै ! चिसी भै ! मुटुमा शीत पुगिसक्यो । छुनु हुन्न छाडिदेऊ ! छाडिदेऊ ! काखमा रहन आएकी रहिनछ । पृथ्वीमातालाई चढाइदेऊ ! बरु, तुलसी, ए तुलसी ! शालिग्रामको जल । हेर बिजोग !”
पछिल्ला दुई शब्द मुत्यु र बिजोगका अगाडि सबै मानव–हृदयका नित्य सुस्केराले सजीव थिए । “मेरा बाबा ! मेरा बाबा !!” छातीको कोकोहलो काँप्दै मृत्युले खोसिन लागेको कलेजालाई पुकार्दै, डाँकोमा रुन थाल्यो– बाबुहृदय !, “मलाई लैजाऊ नि बाबा ! फर्क नि बाबा ! मेरी रतन ! मेरी बाबा !”
काखमा झन च्यापिएकी शिशुका एकोहोरा आँखा हेर्न नसकी, हैरान प्रकृति निराशले डाँको छोड्दै पल्टिई– बेहोशमा तर काखमा बालिका छँदै थिई ।
कोही दौडेर बालिकालाई भुइँमा सुताइदियो । एउटाले शालिग्रामको जल छर्किदियो । आर्कोले तुलसी ल्यायो ।
एउटाले बाबुचाहिनीको टाउको उठाउन खोज्यो । मुर्छामा ठर्रो परेको थियो । तर काखमा अझ बालिका छ कि भनेझैं, ढाड भाँचिएको झैं पछाडितिर फर्केर ढ्वाङ्ग लडेका थिए ।
डाक्टर मधुसूदन पनि दगुरे “के हँ ? के हँ ? के भो हँ ?” भन्दै ।
देखे, निमुनियाको क्राइसिस । छामे, सास बाँकी थियो । भर्भराइरहेको जो अजान बाबुको स्नेहको आज्ञाले फुक्न लगाई बालिकाको चिसाउँदो पयर आखिरी निराशाले सेक्नलाई तयार गरिएको थियो– अरूहरूका बेमञ्जुरी हुँदाहुँदै ।
डाक्टरले हातखुट्टा चलाइदिए । बोसी मागे । सेक्न लगाई खल्ती छामे । ‘साइमन गेलेसियाको’ सानो बोतल भाग्यले आज साथमै थियो, आर्को निमुनियाको केस एक ठाउँमा परेकोले । एकदुई थोपा मुख च्यातेर हालिदिए । पानी तताउन लगाए । सेक्ने चटाका गरे । बालक बौरिँदै आयो । आधा घण्टासम्म प्राण झुण्डेझैं भयो । तब अलिअलि आशा पह्लाउँदै आयो । त्यो रात त्यहीँ बसेर डाक्टरले उपचार गरे । बालकको जिउनु लेखेको थियो ।
।। ग ।।
डाक्टर मधुसूदन एक दिन त्यहाँ आएर ताराको बाबु कोमलप्रसाद सापकोटाका एकोहोरो एक डबलका आँखालाई सम्बोधन गरेर सोधे, “पण्डितजी, किन यसो गर्नुभयो ? तपाईंकी छोरी तारा जिउँदै छिन् ! केही भएको छैन, बुझ्नुभो ?” उनले पीठमा धाप दिए ।
तर पं. कोमलप्रसाद तर्सिएर चार हात पर पुगे । यसो यताउति लाटोझैं हेरेर डाक्टरको मुखमा पुलुक्क हेरे ।
“तपाईकी छोरी तारा बाँचिन् । केही भएको छैन बुझ्नुभो ?”
पं. कोमलप्रसाद पक्क परे । एउटा किताब ल्याएर डाक्टरको हातमा दिए ।
“यो किन ल्याउनुभएको पण्डितजी ?”
पण्डितजीले पक्क परेर फेरि हेरे । छातीमा हात लगाएर के भएको हो भनेजस्तो इशारा गरे ।
“बोल्नोस् न बोल्नोस् ।”
पण्डितजी घोरिए ।
एक जना छिमेकी भित्र पस्यो । “के चोट पर्यो के चोट ?”
त्यसले भन्यो, “त्यस दिनदेखि पण्डितजीको होशहवास छैन । लाटोजस्तो हुनुहुन्छ । हामी त गुह्येश्वरीको भाउते लागेको हो कि भन्ने शङ्का गर्छौं । के हो अब ?”
डाक्टरले गौड गरे, “यत्तिकै हो आजकल ? पहिले पहिले त यस्तो हुनुहुन्थिएन ?”
“कहाँ पहिले त के भन्नुपर्यो अब । पुराण बाच्न, ठट्टा गर्न कसले पो भेट्टाउने हो नाइँ । बजै स्वर्गे भएदेखि झोक्राइरहनुहुन्थ्यो, उस्तो बोल्नुहुन्नथ्यो । तर तारा नानीको चोट परेपछि वाक्कै बन्द । टोह्लाउँछन् । उहुँ बोल्ने हैनन् । बराबर निसास्सिएझँं गर्छन् ।”
“तारा नानी कहाँ त ?”
“तिही पल्लो कोठामा हुनुहुन्छ । मेरो जहान हेरविचार गरेर बसेकी छ ।”
डाक्टर त्यस कोठामा मान्छे लिएर पसे ।
सानो आँखीझ्याल भएको अँध्यारो कोठामा टाटा लागेका चिथराहरूमा तारा निदाएकी थिइन् म्लान कुसुमझैं, बौरिँदो होशझैं, उघ्रिँदी रजनीझैं ।
डाक्टर नजिकमा बसे । एकैछिन घोरिए । नाडी छामे । तारा ब्युँझिइन् । आँखा घुमाइन्, मानौं केही खोजेझैं । डाक्टरको मुखमा हेरिन्, अनि पुनः आमैको चेहरामा । अनि टोह्लाएर बसिन् ।
“नानीलाई निको भो बाबै; अब पापा खाने है !” भनेर एउटा सेतो डबल हातमा राखिदिए ।
तारा पुलुपुलु मुखमा हेर्न थालिन् । हातको डबल आधा च्यापेर खसालिन् तब पिल्पिले नजरले पुनः आमाको मुखमा हेरेर “बा खै ?” भनेर रुन थालिन्– त्यो कल्पिँदो आधार खोज्दो हृदयको जो नजिकको स्नेहपूर्ण चेहरा र सच्चा तवरले हृदय बुझ्न सक्ने हृदयको ध्वनि प्रतिध्वनि चाहन्थ्यो ।
डाक्टरले पुनाचालाई “पण्डितजीलाई बोलाएर ल्याउनू” भनी आज्ञा दिए । डोर्याउँदै ल्यायो, नजिकै बसाल्यो ।
डाक्टरले भने, “हेर्नुस् पण्डितजी ! तारा ! तारा अब बाँचिन्, चिन्नुभो ? तपाईंकी छोरी, केही भएको छैन । केही भएको छैन । हेर्नुहोस् ।”
पण्डितजीले यताउति केही खोजेजस्तो गरे छामछाम छुमछुम टोह्लाएर यसो हेरे । कपाल कन्याए ।
“चिन्नुभो पण्डितजी ? तारा तपाईंकी छोरी ।”
पण्डितजी झस्के ।
“किन झस्किनुभएको ? केही भएको छैन ! निकी भइन् ।” पण्डितजीले च्यूँडो समाते ।
ताराले बोलिन्, “बा ! बा !” बल्लबल्ल बिचरी पलाउँदो ताकतले तब पिल्पिलाइन् !
पण्डितजीले सुस्केरा हाले ।
तारा झन् पिल्पिलाइन् । उनको चिर–बिछोड पाएको हृदय टाँस्सिन खोज्यो, बाबुको छातीमा लिप्टिन चाहन्थ्यो । अँगालो हालेर गाला जोर्न, पितृस्नेहको स्पर्श अनुभव गर्न, वृत्तको स्पर्श छुट्ला भनेर डराएकी फूलझैं, स्मृति छुट्ला भनेर डराएकी आशाझैं, परेला छुन खोज्दी आँशुझै ! तर त्यो हृदयको पहिलो छिटो प्रत्युत्तर थिएन । बाबुको चाल बेग्लै थियो; शिशुहृदयले आधा बुझ्यो, आधा बुझ्न चाहेन ।
“बाबा !” तारा पिल्पिलिन लागिन् । माथ मुसार्ने हात लाटा बनेका थिए । छातीको चाल बोधो थियो ।
डाक्टरले रुमाल झिकेर त्यसको आँशु पुछिदिए ।
“एकैछिन काखमा राखिदेऊ” उनले भने ।
तारा काखमा बसेर सहानुभूतिका रस बाबुको आँखामा खोज्दथिन् । बाबु न पकडन्थे; न फेक्दथे । वाल्ल परिबस्थे । “चिन्नुभो ? यी तपाईंकी छोरी तारा !”
पं. कोमलप्रसाद झस्के । फेरि टोह्लाए ।
डाक्टरले पुनः आमालाई केही उपदेश दिएर केही बेरपछि बिदा भए । पिल्पिलाउँदै तारा पुनः आमाको काखमा फेरि निदाइन् ।
पण्डितजीलाई पुनाचाले कोठामा लगेर राख्यो । उनी मेसिन थिए । खुवाए खाइदिन्थे, नुहाए नुहाइदिन्थे । हिँडाए हिँडिदिन्थे । बसाए बसिदिन्थे । तारा हिँड्न थालिन् पण्डितजी झोक्राउन थाले । तारा भन्थिन् “बा ।” पिल्पिलाउँदै पण्डित एकोहोरो नजरले नचिनेझैं गरेर हेर्दथे । मानो अब बाबुछोरीको बोलचाल विधिले निषेध गरेको थियो । मानो कर्मको आज्ञा थियो, “तँ नबोलेस्, तँ नचिनेस् । चिनिस्, बोलिस् भने तेरो छोरी संसारमा रहन्न्न, तँ छोरी निम्ति मरिसकिस्, ब्यूँताउन मात्र लाटो बनाएर अधमरो अवस्थामा राखिदिएको ।”
।। घ ।।
परमेश्वरको इच्छालाई बदलेर शिशुको जीवन मागी आफ्नो जीवन अर्पिने पितृस्नेह जो हुमायूमा देखिएथ्यो, कति कोमलतासँग परिणाममा निठुर हुन जान्छ । तारा जिउँदै आइन्, बाबु मर्दै गए । तीन हप्ताको म्याद थियो, बाबुले मानेनन्– बोल्न, चिह्न, सुमसुम्याउन, शिशुको हृदयमा संसारमा के के बिग्रेजस्तो लाग्थ्यो, सबै कुरा बदलिएझैं, सब चीजका अनुहारमा सहानुभूति परपर भएझैं । उनको आत्मा भन्थ्योे, “बा किन बोल्नुहुन्न ?” अनि हृदय पिल्पिलाउँथ्यो । मुटुमा गाँठो पथ्र्यो, तर उनी यी कुरा बताउन सक्तिनन् । परपर हुँदाहुँदै आखिर पं. कोमलप्रसाद एक रात संसारबाट चूपचापसँग बिदा भए ।
(लक्ष्मी कथासङ्ग्रहबाट)
प्रतिक्रिया