बैतडी : भारतबाट फर्केका नागरिकमा कोरोनाको संक्रमण पाइएपछि बैतडीमा पनि नागरिकको खोजी सुरु भएको छ । कैलालीका २१ वर्षीय पुरुषमा कोरोनाको संक्रमण भेटिएको र उनी गौरीफन्टा नाका हुँदै नेपाल आएकाले उनीसँगै आएका बैतडीबासीको पनि खोजी सुरु भएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए ।
ती युवकसँग बैतडीका पनि ८५ जना फर्केकाले उनीहरुको खोजी कार्य सुरु गरिएको हो । भारतबाट फर्केका ती नागरिकहरु कहाँ छन् भनेर खोजिन सुरु गरिएको भट्टले बताए । उनले भने, कैलालीका युवकसँग फर्केका बैतडीबासीको सूची तयार पारेर सम्बन्धित स्थानीय तहमा भनिसकेका छौं । प्रहरीसहितको सहयोगमा भारतबाट फर्केका नागरिकको खोजी सुरु गरेका छौं।
ती युवकसँग बैतडीको दशरथचन्द नगरपालिकाका ११, दोगडाकेदार गाउँपालिकाका २३, सुर्नया गाउँपालिकाका ३२, सिगास गाउँपालिकाका १२, पाटन नगरपालिकाका २ र मेलौली नगरपालिकाका ५ जना स्वदेश फर्केका खुल्न आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ती नागरिकको खोजीका लागि स्वास्थ्यकर्मीसँगै प्रहरीले पनि पहल थालेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले बताए ।
भारतबाट फर्केका ती नागरिकको खोजी गरी क्वारेन्टाइनमा बसे नबसेका पत्ता लगाउने र नबसेकालाई क्वारेन्टाइनमा बस्न लगाउने गरी काम भइरहेको स्वास्थ्य कार्यालयका प्रमुख भट्टले बताए ।
चैत ११ गते अघि झुलाघाट नाकाबाट मात्रै २ हजार ४०५ जना नेपाल भित्रिएका स्वास्थ्य कार्यालयसँग तथ्यांक छ भने अन्य नाकाबाट भित्रिएकाको तथ्यांक छैन् । यस्तै चैत ११ गतेपछि हालसम्म विभिन्न घाटबाट ६७४ जना बैतडी भित्रिएका प्रहरीको तथ्यांक छ । जबकी अहिलेसम्म क्वारेन्टाइनमा ४४३ जना मात्रै बसिरहेका छन् । यो तथ्यांक अनुसार पछिल्लो समयमा भित्रिएका सबै नागरिकका क्वारेन्टाइन नबसेको प्रष्ट हुन्छ ।
भारतबाट भित्रिएकाहरुका कारण कोरोनाको जोखिम भएकाले भारतबाट फर्केका नागरिकलाई क्वारेन्टाइनमा बस्न आग्रह गरिएको सुर्नया गाउँपालिकाका अध्यक्ष बीरबहादुर बिष्टले बताए ।
पाँच ठाउँमा सशस्त्र प्रहरी परिचालन
सुदूरपश्चिममा कोरोना भाइरसका संक्रमित फेला परेपछि ट्युबमार्फत महाकाली तरेर नेपाल फर्किरहेकालाई रोक्न बैतडीमा सशस्त्र प्रहरी परिचालन गरिएको छ । कोरोना नियन्त्रण जिल्ला स्तरीय कमाण्ड पोष्टको बैठकले ५ ठाउँमा सशस्त्र प्रहरी परिचालन गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बताए । उनले भने, ुयो समय सबैले सुरक्षित भएर बस्ने समय हो । हामीले सबैलाई जुन ठाउँमा छौं । त्यही ठाउँमा सुरक्षित बसौं भनिरहेका छौं।
दशरथचन्द नगरपालिकाको बाराकोट र सेरा, शिवनाथ गाउँपालिकाको कुस्मौद घाट, पञ्चेश्वर गाउँपालिकाको रोलघाट र हल्दुविनायक घाटमा सशस्त्र प्रहरी परिचालन गरिने प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।
तर सीमामा रहेका नेपालीहरुले भने विपद्को समयमा आफूहरुले स्वदेश फर्कन पाउनुपर्ने बताएका छन् । आफूहरु क्वारेन्टाइनमा बस्न तयार भएको तर सरकारले आफूहरुका विषयमा चासो नलिएको उनीहरुको आरोप छ।
भारतीय भूमीमा आफूहरुलाई निकै समस्या भएको सीमामा रहेका नेपालीहरुले बताएका छन् । ुहामी यहाँ भोकभोकै बस्नु परिरहेको छ । हामी आफ्नो देशमा फर्किन चहान्छौं । तर सरकारले हामीलाई विदेश भूमीमै अलपत्र पारेको छ ,ुझुलाघाट नाकामा अलपत्र परेका पुर्चौंडीका केशव पाठकले भने, ुसरकार छ भने हामी पनि त्यही देशका नागरिक हौं । हामीलाई उद्धार गरेर सुरक्षित क्वारेन्टाइनमा राखियोस ।
खाद्यान्न पसल पनि ४ घण्टा मात्रै खुल्ने
बैतडीमा लकडाउनलाई अझै कडाई बनाएको छ। कोरोना नियन्त्रण जिल्ला स्तरीय कमाण्ड पोष्टको बैठकले खाद्यान्नका पसल पनि बिहान ७ देखि ९ बजे र साँझ ४ बजेदेखि ६ बजे सम्म मात्रै खुला गर्ने निर्णय गरेको छ ।
लकडाउनको समयमा समेत अनावश्यक हिँडडुल गरेको पाइएकाले यस्तो निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।
खाद्यान्न, तरकारी, फलफूल लगायत अत्यावश्यक सामग्रीका पसलहरु दिनमा बिहान र बेलुका गरेर दुईपटक मात्रै खोल्न दिइने उनले बताए । यो निर्णय आइतबारदेखि नै लागू भएको र यसलाई प्रभावकारी कार्यान्वयन गरिने उनले बताए । उनले भने, कोरोनाबाट बच्ने एक उपाय भीडभाड नगर्नु हो । त्यसैले महामारी हुन नदिन हामी सबै नागरिक सचेत बन्नुपर्छ । भारतबाट फर्केकाहरुले पनि क्वारेन्टाइनमा बसेर महामारी नियन्त्रणमा सहयोग गर्नुपर्छ । – अन्नपूर्णबाट
प्रतिक्रिया