मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सरकारले ५० हजार स्वास्थ्य स्वयंसेविका परिचालन गर्ने

सरकारले ५० हजार स्वास्थ्य स्वयंसेविका परिचालन गर्ने


२३ चैत, काठमाडौं । सरकारले कोरोनाविरुद्धको अभियानमा ग्रामीण स्वास्थ्य स्वयंसेविका परिचालन गर्ने निर्णय गरेको छ ।

कोरोना रोकथाम तथा नियन्त्रण समन्वय उच्चस्तरीय समितिको आइतबार बसेको १७ औं बैठकले देशैभर ५० हजार स्वयंसेविका परिचालन गर्ने निर्णय गरेको हो ।

त्यसरी परिचालित हुने स्वयंसेविकाको पारिश्रमिक र बीमा व्यवस्था हुने प्रधानमन्त्री कार्यालयका सचिव नारायण बिडारीले जानकारी दिए ।

यसअघि क्वारेन्टाइनमा बसेकाहरूमा लक्षण नदेखिएपछि विनापरीक्षण घर पठाउने गरिएको थियो । तर, अब त्यस्ता व्यक्तिलाई परीक्षणपछि मात्रै घर जान दिने निर्णय पनि सरकारले गरेको छ ।

स्वास्थ्य सामग्री खरिद प्रक्रिया सार्वजिनक खरिद ऐनको व्यवस्थामै टेकेर जी टू जी, निजी र प्रतिस्पर्धाबाट तथा सोझै खरिद गर्ने बाटो खुल्लै राख्ने विषयलाई थप प्रष्ट्याइको पनि सचिव नारायण बिडारीले जानकारी दिए । ‘कोरोना रोकथाममा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी तथा सबै कर्मचारीको बीमा तथा सुविधालाई थप स्पष्ट पार्ने निर्णय पनि भएको छ,’ बिडारीले भने ।

बैठकले क्वारेन्टाइन तथा राहत वितरणको विद्यमान व्यवस्था परिमार्जन गर्ने निर्णय पनि गरेको छ । कोरोना संक्रमण देखिएको बिरामीलाई लिन जाने टोलीमा नेपाली सेना र स्वास्थ्यकर्मी रहने तथा उनीहरुको भूमिका र सुरक्षाको विषय पनि थप प्रष्ट बनाइने बिडारीले जानकारी दिए । – onlinekhabar