धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले तीन स्थानमा कोरोना परीक्षण प्रयोगशाला स्थापना गर्ने निर्णय गरेपनि कार्यान्वयनमा ढिलाई भएको छ। प्रदेशमा कोरोनाको जोखिम बढ्दै गएका बेला अहिले सम्म कोरोना परिक्षण प्रयोगशालाका लागि आवश्यक पर्ने उपकरण खरिदको प्रक्रिया समेत थालिएको छैन्।
सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालय मातहतको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले गत चैत १५ गते कोरोना भाइरस परीक्षणको प्रयोगशालाका सामाग्री खरिदका लागि सूचना प्रकाशन गरेको थियो। आपूर्तिकर्तालाई चैत १७ गते साझ ५ बजे सम्म प्रस्ताव पठाउन भनिएको थियो। सम्झौताको सात दिन भित्र आपूर्तिकर्ताले कोरोना भाइरस (कोभिड–१९) को परीक्षण प्रयोगशालाका लागि आवश्यक सामाग्री आपूर्ति गनुपर्र्ने भनिएको थियो। तर प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्दका जनस्वास्थ्य अधिकृत लक्ष्मीराज श्रेष्ठका अनुसार पहिलो सूचना अनुसार खरिदको प्रक्रिया अगाडी बढेको छैन्।
उनले भने, ‘विश्व स्वास्थ्य संगठनले तोके अनुसारका सामाग्री खरिदका लागि आपूर्तिकताको आवेदन आएपछि स्थगित गरिएको छ।’ अहिले सम्म दोस्रो सूचना समेत केन्द्रले प्रकाशन गरेको छैन्। तीन स्थानमा प्रयोगशाला स्थापना गर्न प्रदेशको सामाजिक विकास मन्त्रालय मातहतको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थपन केन्द्रले चार करोड ५० लाख खर्च लाग्ने अनुमान गरेको छ।
केन्द्रका जनस्वास्थ्य अधिकृत श्रेष्ठले भने, ‘एक ल्यावका लागि एक करोड ५० लाख खर्च लाग्ने अनुमान गरेका छौ। तीन ल्यावका सामाग्रीका लागि चार करोड ५० लाख खर्च लाग्नेछ। आवश्यक रकमका लागि पठाएका छौ। रकमको व्यवस्थपन भएको छैन्।’ सुदूरपश्चिम प्रदेशको गत चैत १५ गतेको मन्त्रीपरिषद बैठकमा सेती प्रादेशिक अस्पताल, डोटी र बैतडीमा कोरोना भाइरस परीक्षणका लागि प्रयोगशाला स्थापना गर्ने निर्णय भएको थियो।
आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले प्रदेश सरकारले स्थापना गरेको ४० करोडको कोरोना भाईरस जोखिम नियन्त्रण तथा व्यवस्थापन कोषबाट आवश्यक सामाग्री खरिद गर्न सकिने बताए। अहिले धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा संघीय सरकारले स्थापना गरेको प्रयोशाला सञ्चालनमा छ।




















प्रतिक्रिया