मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मर्मत हुँदै प्रकृति, पृथ्वीको सतहमा हुने कम्पनमा कमी

मर्मत हुँदै प्रकृति, पृथ्वीको सतहमा हुने कम्पनमा कमी


कोरोना भाइरसको संक्रमणका कारण विश्वका धेरै देशमा लकडाउन छ। उद्योग, कारखाना, यातायात मात्र होइन सडकमा मानिसको आउजाउसमेत ठप्प छ।

यस्तो बन्दाबन्दीले मानव जीवनलाई उकुसमुकुस र अर्थतन्त्रमा ठूलो क्षति पुर्‍याए पनि पृथ्वी र प्रकृतिलाई भने सुबिस्ता मिलेको छ। मानव सिर्जित गतिविधि ठप्पजस्तै हुँदा पृथ्वीको सिस्मिक कम्पनसमेत कम भएको छ।

लकडाउन झेलिरहेका संसारका धेरै ठाउँबाट वायु प्रदूषण, जल प्रदूषण र ध्वनि प्रदूषण कम हुँदै गएको खबर आइरहेका छन्। यो अवस्थाको फाइदा उठाउँदै प्रकृतिले आफ्नो मर्मत गरिरहेको छ।

बेल्जियमको रोयल अब्जर्भेट्रीका विशेषज्ञहरुका अनुसार विश्वका धेरै देशमा भएको लकडाउनका कारण पृथ्वीको माथिल्लो सतहमा कम्पन कम भएको छ। भूकम्प वैज्ञानिक (सिस्मोलजिस्ट) ले पृथ्वीको सिस्मिक नोइज र कम्पन कम भएको बताएका छन्।

‘सिस्मिक नोइज’ त्यस्तो आवाज हो जुन पृथ्वीको बाहिरी सतह (क्रस्ट) मा हुने कम्पनका कारण पृथ्वीभित्र सुनिन्छ। यो आवाज अनुसन्धानकर्ता र भूवैज्ञानिकले पृथ्वीको सतहभन्दा करिब १०० मिटरको गहिराईमा डिटेक्टर गाडेर त्यसको रिडिङबाट नाप्छन्।

तर, अहिले पृथ्वीको सतहमा कम्पन गराउने मानवीय गतिविधि कम हुँदा यस्तो आवाजको गणना सतहबाटै भइरहेको छ।

वास्तवमा भूकम्पजस्ता कुनै प्राकृतिक घटनाका बेला पृथ्वीको क्रस्टमा जुन खालको हलचल हुन्छ, त्यस्तै हलचल केही कम स्तरमा यातायात, ठूल्ठूला मेसिनको सञ्चालन, निर्माण कार्य, ड्रिलिङजस्ता मानवीय गतिविधिका कारण पनि हुन्छ। लकडाउनका कारण गतिविधि कम हुँदा यसको प्रभाव पृथ्वीको आन्तरिक कम्पनमा देखिएको बेल्जियमका वैज्ञानिकहरुले बताएका छन्।

यस्ता कम्पनबाट वैज्ञनिकले पृथ्वीबारे जानकारी जुटाउने मात्रै होइन भूकम्प र ज्वालामुखी विस्फोटको अनुमानको प्रयास गर्छन्। कम्पनमा केही कमी विकसित देशमा लामा लामा छुट्टि भएका बेला आउने गरेको वैज्ञानिकहरु बताउँछन्।

१ देखि २० हर्जका इन्फ्रासाउन्ड फ्रिक्वेन्सी धेरैजसो मानवीय गतिविधिका कारण पैदा हुन्छन्। बेल्जियमको ब्रसेल्समा मध्यमार्चदेखि जारी लकडाउनका कारण अहिलेसम्म यस्तो फ्रिक्वेन्सीमा ५० प्रतिशतसम्म कमी आएको छ। भूवैज्ञानिकहरुले यस्तै अवस्था पेरिस, लन्डन, लस एन्जलसजस्ता सहरमा पनि अनुभव गरेका छन्।

नेपाल र भारतमा पनि देशव्यापी लकडाउन हुँदा मानवीय गतिविधि कम भएको छ। यसैबेला प्रकृतिले आफ्नो मर्मत गरिरहेको छ। भारतमा हुने गतिविधिले नेपालको पर्यावरणमा ठूलो प्रभाव पार्छ।

भारत पञ्जाबको जालन्धरबाट देखिएको हिमाचलस्थित धौलाधर हिमालको दुर्लभ दृश्य । सबै तस्बिर स्रोत: सामाजिक सञ्जाल 

अहिले अत्यधिक प्रदूषण हुने काठमाडौं, लुम्बिनीजस्ता ठाउँहरुमा आकाश नीलो देखिन्छ। हिमालहरु छर्लङ्ग देखिन थालेका छन्। भारतको जालन्धरबाट धेरै पछि हिमाचलको धौलधर हिमशृंखला स्पष्ट देखिएको छ।

सधैं कुहिरो लागेको जस्तो हुने नयाँ दिल्लीको इन्डिया गेटबाट अहिले आकाश नीलो देखिएका तस्बिर सोसल मिडियामा देख्न पाइन्छ।

दिल्ली हुँदै बग्ने यमुना नदी सफा देखेर मानिस आश्चर्यमा परेका छन्। जुन नदी सफा गर्न वर्षौदेखि धेरै खालका अर्बौं रुपैयाँका योजना सञ्चालनमा छन्, त्यही नदी केही दिनको लकडाउनमै सफा भएको छ।

विश्वका बेग्लाबेग्लै भागबाट मानिसहरुले आफ्ना सरकारलाई कोरोना संकट साम्य भएपछि पनि प्रकृतिलाई प्रत्येक वर्ष यस्तै विश्राम दिनेबारे विचार गर्न सल्लाह दिइरहेका छन्।

पर्यावरणमा राहत

निर्मल गंगा

भारतमा लकडाउनका कारण उद्योगधन्दा सबै बन्द भएपटि गंगा नदीको पानीको गुणस्तरमा सुधार आएको छ। आईआईटी बनारसका केमिकल इन्जिनियरिङका प्राध्यापक पीके मिश्राका अनुसार गंगाको पानीमा ५० प्रतिशतसम्म सुधार आएको छ।

निर्धक्क पशुपक्षी

विभिन्न देशमा वन्यजन्तु सहरको बीच सडकमा घुमिरहेका तस्वीर सामाजिक सञ्जालमा देखिइरहेका छन्। भारतको उत्तराखण्डको राजधानी देहरादूनमा घुमिरहेको जंगली हात्ती देखियो। विभिन्न देशका सहरी क्षेत्रमा बाघ र हरिणको आवात जावत रेकर्ड गरिएको छ। माथिको तस्वीरमा ब्रसेल्सका सडकमा निर्धक्क घुमिरहेका हाँस।

हिमाल हाँस्यो

नेपाल र भारतमा हावाको गुणस्तरमा व्यापक सुधार भएको छ। नेपालका धेरै ठाउँबाट हिमाल स्पस्ट देखिन थालेको छ।

शान्त र सफा पानी

करोडौं पर्यटक स्याहार्ने इटलीको चर्चित सहर भेनिस अहिले थकाइ मार्दै छ। सहरको सुन्दरतासँगै फोहर पानी र क्रूज सिपको प्रदूषण भेनिसको पहिचान बनिसकेको थियो । तर अहिले भेनिसका तलाउ र नहरमा माछा खेल्दै गरेको स्पस्ट देखिन्छ।

सहरमा जंगली भेडा

बेलायतको तटीय सहर लियान्डुन्डोमा कहिलेकाहीं जंगली भेडा नदेखिने होइन। तर, अहिले जसरी उनीहरुमा निस्फिक्री यसअघि देखिएको थिएन।

बाँदरलाई अभाव

थाइल्यान्डकाे लोपबुरीमा अहिले बाँदर अशान्त छन्। स्थानीय मिडियाका अनुसार पर्यटक नहुँदा बाँदरले पर्याप्त खाना पाइरहेका छैनन्। बाँदरका झुण्ड खानाका लागि आपसमा झगडा गरिरहेका देखिन्छन्।

कार्बन उत्सर्जनमा कमी

विकसित औद्योगिक देश जर्मनीमा अहिले गजबको शान्ति छ। एक अनुमानका अनुसार कार्बन उत्सर्जन थप केही साता अहिलेकै जस्तो हुने हो भने जर्मनीले सन् २०२० का लागि तय गरेको जलवायु परिवर्तनसम्बन्धी लक्ष्या हासिल गर्नेछ।

केही दिनको शान्ति

अहिले धेरै देशमा आर्थिक गतिविधि रोकिएको छ तर, यो अस्थायी हो। चीनमा फेरि कारखानाहरु सक्रिय भएका छन्। मानिसहर आआफ्नो काममा फर्किंदै छन्। वुहानमा समेत लकडाउन समाप्त भएको छ। यो तस्बिर पूर्वी चीनको आनहुई सहरस्थित एक ब्याट्री कारखानाको हो । लकडाउनका कारण चीनको पर्यावरणमा पनि धेरै सुधार आएको छ। – nepalsamaya