काठमाडौं । सुदूरपश्चिमको अछाम घर भई भारतको मुम्बईमा बस्दै आएका एक परिवारका सदस्यमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
लामो समयदेखि मुम्बईमा बस्दै आएका अछामको चौरपाटी गाउँपालिका ५, लुंग्राका चेतमान खड्काको परिवारमा कोरोना भाइरसको संक्रमण देखिएको हो ।
उनीसँग लामो समयदेखि सांगीतिक क्षेत्रमा सहकार्य गर्दै आएका गायक तथा मोडल चक्र बमले खड्का परिवारका आठ जनामा कोराना संक्रमण देखिएको जानकारी दिएका छन् । गायक बमले खड्का, उनका दुई छोरी, छोरा, पत्नी, भाइ र भतिजा गरी ११ जनालाई अस्पताल भर्ना गरिएको र परीक्षणका क्रममा आठ जनामै संक्रमण देखिएको बताए ।
“भारतको मुम्बईलगायत विभिन्न सहरहरूमा ८४औं पटक नेपालका गायक–गायिकादेखि नायक–नायिकासम्म ल्याएर कार्यक्रम सञ्चालन गरेका नेपाल घर अछाम भएका ‘देखचेम्स ग्रुप’ का सञ्चालक तथा कार्यक्रम आयोजक चेतमान खड्का दाइको सिंगो परिवार कोरोना महामारीको चपेटामा परेको सुन्दा एकदमै दुःख लागेको छ, हामी सबैले उहाँको सिंगो परिवारको शीघ्र स्वास्थलाभको कामना गरौं,” गायक बमले फेसबुकमा लेखेका छन् ।
यस्तै खड्काले पनि फेसबुकमार्फत आफूसहित परिवारका सदस्यहरूमा कोराना भाइरसको संक्रमण देखिएको उल्लेख गरेका छन् । उनले आफ्नो घर वा आफ्नो स्थानबाट बाहिर न निस्कन र आफ्नो सुरक्षा आफैं गर्न पनि सुझाएका छन् ।
“आज पूरा १० दिन भो हस्पिटलको कष्ट र परिवार छोराछोरी, भाई भतिजाको विचल्ली भएको सहन गर्दागर्दा मलाई यस्तो लागि रा’को छ कि १० दिन काट्नु पनि १० वर्ष जस्तो लागिरहेको छ । के गर्नु दैवको खेल विश्वव्यापी मारामारीले गर्दा आफूले पनि यो मारामारी भोग्नुपरेको छ र हामी सम्पूर्ण परिवार चिन्तित छौं र हजुरहरूलाई पनि जानकारी गराउन चाहन्छु । आफ्नो घर वा आफ्नो स्थानबाट बाहिर न निस्कनु होला आफ्नो सुरक्षा आफैं गर्नुहोला । जहाँ हुनुहुन्छ जो अवस्थामा हुनुहुन्छ आफ्नो ख्याल गर्नुहोला । नभए मेरोजस्तो पीडा भोग्न पर्ला आफ्नो ख्याल आफै गर्नुहोला । जय श्रीराम सम्पूर्ण मानव जातिको रक्षा गर्नु ईश्वर जय खाबर जगनाथ कि जय,” खड्काले लेखेका छन् । – baarakhari




















प्रतिक्रिया