- हरिप्रसाद भण्डारी
‘कोरोनाले गर्नु गर्यो । संसारलाई ठप्पै बनायो । कतिको ज्यान लियो । कतिलाई घाइते बनायो । यसबाट कहिले मुक्ति पाइने होला !’
यस्तै सोचाइ आइरहन्छन् मनमा ।
एकान्तबासमा बस्न लागेको पनि दुई साता हुन लाग्यो । कहीँ जानु छैन । कसैलाई भेट्नु छैन । पढ्न लेख्न पनि खासै मन लाग्दैन । कस्तो आपत् !
यस्तो बेलामा पनि सडकमा मानिसहरू हिँडेको देख्दा भने अचम्म लाग्छ । कोरोना सार्ने हुन् की भनेर डर पनि लाग्छ । सम्झाउन मिल्नेलाई सम्झाउँछु । तैपनि बाहिर निस्कन छोड्दैनन् । एकान्तबासको महत्त्व नबुझेर हो की कोरोनाको डर नभएर हो कन्नि !
अपराह्नतिर घरको आँगनमा बसेर मनमा कुरा खेलाइरहेको थिएँ, त्यस्तैमा एउटा उटपट्याङ विचार आयो मनमा । कुरो सोचेर एक्लै हाँसेँ । अनि बसेको ठाउँबाट उठेर मूल द्वारातिर गएँ र सडकमा हिँड्दै गरेका आफन्तलाई बोलाएर भनेँ, ‘चितुवा देख्नु भो ?’
‘चितुवा !’ आत्तिदै उनले भने, ‘कहाँ छ चितुवा ?’
‘ऊ त्यहीँ कलवटमुनि । त्यहीँ थियो, मलाई देखेर उता भाग्यो ।’
‘आम्मै ! कसरी देख्नुभयो ?’ उनले जिज्ञासा राखे ।
‘झण्डै मेरो कुकुरलाई नझम्टेको ! घरको पेटीमा बसेर कुकुर भुकिरहेको थियो । चितुवा यसलाई झम्टने सुर कस्दै रहेछ । मलाई देखेर भाग्यो ।’
‘अघि कुकुर भुकेको त मैले पनि देखेको थिएँ ।’ उनले भने, ‘ओहो, ज्यानकै खतरा भयो ! अब बाहिर निस्कन भएन ।’
यसो भन्दै उनी गए ।
साँझ ल्यापटप खोलेर कोरोना सम्बन्धी समाचार पढिरहेको थिएँ । आत्तिदै मीना कोठाभित्र पसिन् ।
‘सुन्नु भो ? गाउँमा ठूलो पाटे बाघ आएको छ रे !’ आत्तिदै उनले भनिन् ।
‘कसले भन्यो तिमीलाई ?’
मेरो प्रश्न भुइँमा खस्न नपाउँदै उनी बोलिन्, ‘गाउँभरि हल्ला छ । शान्ताले फोन गरेकी थिई । बाघका डरले गाउँलेहरु घरबाट कोही बाहिर निस्केका छैनन् । त्यसले भेट्यो भने कसैलाई बाँकी राख्दैन । लौन नि ! के के आपत् आइलागेको होला ?’
अघि ठट्टै ठट्टामा आफूले जन्माएको सानो चितुवा केही बेरमा पाटे बाघ भइसकेको सुनेर छक्क परेँ ।
+++
२६, चैत्र २०७६
दिपनगर, रुपन्देही
प्रतिक्रिया