- नवीन चिराग
अलि ठूलो हुँदै गएपछि
हात समाउने ,
खुट्टा थामिदिने मान्छे नै कहाँ रहन्छन् ।
हिड्नै पर्छ जिन्दगीको काँडेघारी !
अनि
हरेक अंगहरु अल्झने रहेछन् ,
कपालमा अल्झेको भैसे कुरो सरी ।
र अल्झन्छ;
कहिले ईज्जत् बनेर पछ्यौरी ,
अभाव बनेर मजेत्रो ,
मन बनेर कमिज ,
मस्तिष्क बनेर टोपी
र
बाटो अल्झन्छ खुट्टा बनेर ।
उसै त च्यात्तिदै गएको जिन्दगी
झन् अल्झिदिँदा
उध्रिदै जाने रहेछ ।
चिथोर्ने रहेछ विगतले ,
जसरी कोरेसोले मुला चिथोर्छ ।
रसाउने रहेछन् आँसु ,
झुपडीको भुइँकोठाको भित्ता जसरी ।
भत्भति पोलिने रहेछ पश्चाताप ,
बिच्छीले टोके जसरी ।
छट्पटिने रहेछ मगज ,
कानमा पसेको कन्सुत्लो जसरी ।
डस्ने रहेछ बाध्यता,
माछाको कुरमा पसेको सर्पले जसरी ।
महल मै बसेपनि
सडकमै सुतेपनि
अल्झनु त पर्छ नै ।
कसले होला;
यति धेरै अल्झाउने ?
किन होला ;
यति धेरै अल्झाउने ?
माकुरीको जालोमा अल्झिएको
मौरी होइन मान्छे ,
जो सजिलै देख्न सकियोस् ।
मान्छे त नदेखिने गरि अल्झने रहेछ ।
जो अल्झेको छ ;
उसकै आँखा चाहिने रहेछ ,
अल्झेको देख्न पनि ।
२०७६/१२/२८
प्रतिक्रिया