जीना जङ्ग कार्की
‘यसरी कहिल्यै डर लागेको थिएन जीना’ यसो भन्दै उसले लामो सास फेरी।
बबीको आवाज मलिन थियो। उसको यति मलिन आवाज मैले आजसम्म सुनेको थिइनँ।
ऊ मेरो स्कुलदेखिकी मिल्ने साथी हो। हाम्रो भेट नियमित नभए पनि फोनमा सधैं कुरा हुन्थ्यो। एकअर्कालाई लागेका कुरा हामी निर्धक्क सुनाउँथ्यौं। भिडिओ कलमा मस्त गफिन्थ्यौं।
तर आज अलि फरक लागिरहेको थियो। उसले ‘फोन गरूँ’ भनेर म्यासेज लेखेर मात्र फोन गरी। रातको १० बजे इन्स्टाग्राममा त्यसरी उसको कल आउँदा केही अभर परेछ भन्ने लागेको थियो।
फोन उठाएर बोल्न थाल्यौं। ऊ भिडिओमा देखिइन। बत्ती बन्द छ भनी।
उसले त्यसरी डरको कुरा सुनाएपछि म पनि एकछिन रोकिएँ। के भन्ने जवाफ बटुल्न नपाउँदै उही बोली ‘हतियार बिना लडाइँको मैदानमा उभिएको जस्तो लागिरहेको छ।’
+++
ऊ एयर होस्टेस हो। लकडाउन भएका दिनसम्म पनि उसको उडान कायमै थियो। अहिले घरमै बसिरहेको छु भनेर केही दिन पहिला सुनाएकी थिई। उसले डर लागेको कुरा गरेको मान्छे ऊ नभएर पुष्कर थियो। पुष्करसँग एक वर्ष पहिला मात्र उसको बिहे भएको थियो। पुष्कर पूर्वको एक अस्पतालमा डाक्टर छन्।
कोरोनाको यो महामारीमा उनीहरू एक जना पूर्व र अर्को जना पश्चिम भएर बसिरहेका थिए।
हिजो सम्म छुट्टी भन्नसाथ रमाइलो अनि पूरा दिन गीत सुन्नमा व्यस्त बबीका आँखा आजभोलि अनलाइनमा हुन थालेका थिए। ‘बुढासँग बोल्दै छेस्?’ केही दिन पहिला म जिस्काउँथे। स्काउट पनि रहेकी ऊ जिस्किँदै भन्थी, ‘नयाँ मिसनमा लागेको छु नि त आजभोलि।’
हामी हाँस्थ्यौं।
तर आजको फोनमा उसको त्यो बोली थिएन। ऊ रमाइलो गर्ने मुडमा पनि थिइनँ।
‘मेरो त सातो उडेको छ। कोरोना भेटियो भन्नासाथ डरले मर्छु जस्तै लाग्छ यार’ उसले यति भन्नासाथ हामी फेरि मौन भयौं। एकअर्काले फेरेको सास कानमा सुनियो। उसको पीडाको भारीपन मतिर सरेजस्तो भयो।
‘अनि के खाइस्?’ म कुरा घुमाउने असफल प्रयास गर्छु।
‘घर छेउमा एउटा दोकान खुलेको बेला सामान ल्याउँछु। यसरी नै बन्द भइराख्ने हो भने त कति दिन पुग्ला र?’ मसिनो स्वरमा जवाफ दिन्छे।
‘फोनमा घन्टौं कुरा हुन्थे। आजकल त्यति हुन पाएको छैन,’ ऊ प्रसंग फेरि आफ्नै समस्यामा ल्याउँछे।
ऊ र पुष्करसँगै यो विषम परिस्थितिमा काम गरिरहेका सारा स्वास्थ्यकर्मीलाई सम्झिँए। तिनलाई घरमा सम्झिनेहरू सम्झिएँ। उनीहरूसँग पर्याप्त सुरक्षा सामग्री छैन। काम नगरे लाइसेन्स खोस्छु भन्नेबाहेक सरकारले खासै केही गरेको छैन।
आफू काम गर्ने टेलिभिजनको लागि रिपोर्टिङ गर्न बाटोमा हिँडिरहेकी हुन्थेँ म। यो समस्याले व्यक्तिगत तहमा कसरी छुन्छ भन्ने कुरा उसले आफ्नो कुरा बताएपछि बल्ल फर्किएँ। रिपोर्टिङको क्रममा भेटेका मान्छेहरूको अनुहार आँखामा देख्न थालेँ।
सेकेन्ड सेकेन्डमा संक्रमित अनि मृत्य हुनेको संख्या बढेकै बढ्यै छ। ठूल्ठूला राष्ट्रहरूलाई त घुँडा टेकाको यो महामारीले हामी जस्तो विकाशोन्मुख देशको खुट्टा नाभाँच्ला भन्ने त कुरै भएन। बबीको डर त्यसैले पनि जायज थियो।
‘अनि अरू सुना’ उता बाट आवाज आउँछ। सायद मेरो मौनताले उसले कुरो मोड्न खोजी। डाइनिङमा बसेर काम गरिरहेकी थिएँ। आफैंलाई टार्न भनेर उठेर यसो छततिर निस्किएँ। छतमा बत्ती छैन। अब हामी दुवै जनाको भिडिओ कालो भयो। मात्र आवाज एक अर्कामा साटिन थाले।
‘दिनरात नभनी काम गर्नुपर्छ। त्यही भएरै त डाक्टर नर्सको काम महान भनिएको हो,’ उसलाई ढाडस दिन खोज्छु।
थाहा थियो यो मेरो वाक्यले उसलाई केही फरक पार्ने हैन। किनकि जब कुरा आफ्नाको अनि मनको आउँछ तब विश्वका सारा शक्ति पनि फेल खान्छ। त्यसैले त डाक्टरहरूलाई आफ्नो परिवारको सर्जरी गर्न दिँदैन भनिन्छ।
‘रेनकोट लगाएर काम गरिरहेका छन् रे। यहाँ सब पोलिटिसियन भ्रष्टाचारी छन्। न सामान पुगेको छ, न उचित सुरक्षा छ अस्पतालमा। केही भइहाल्यो भने के हुन्छ?’ उसको आवाज कसिलो थियो। ऊ रिसाएकी थिई।
यसअघि बबीले यसरी राजनैतिक टिप्पणी दिएको मैले कहिले सुनेकी थिइनँ। ऊ समाचारमा त्यति ध्यान दिने मान्छे हैन। राजनीतिमा पनि रूचि छैन। तर आज सुनाउँदैछे ‘हेर्दिँन भने पनि आँखा समाचारमा पुगिहाल्छ।’
मुसहर बस्तीमा सानो सूचना लिन पनि वडाध्यक्षका पुग्ने गरेको बताउने देव मुसहरलाई सम्झिन्छु। उनलाई पनि यस्तै डर लागिरहेको होला अहिले।
‘अझ डरलाग्दो स्थिति त आउन बाँकी नै छ। हामीले तयार हुनुको विकल्प नै छैन,’ म भन्छु।
‘त्यसो नभन्न यार मुटु काँप्छ,’ ऊ अझै डराउँछे।
हुन पनि अवस्था मुटु काम्ने नै छ। अस्ति विपन्न बस्तीको रिपोर्टिङमा जाँदाको घटना सम्झिन्छु। भकभक उम्लिएको पातलो आलुको झोल पर्खिएर बसेका देव र उनका तीन वर्षे छोराको अनुहार अगाडि आउँछ। त्यसले उनीहरूको भोक मेट्न सक्ला कि नसक्ला? समाचारमा भुटानी शरणार्थी शिविरमा खानेकुराको अभाव भएको पढेकी थिएँ। त्यो बेलाको डर कस्तो होला?
‘योअघि कहिले यसरी डर लागेको थिएन जीना। तँ नै भन न यो त बिना हतियार युद्धमा गए जस्तै भएन र। सरकारले सिपाहीलाई हतियार नदिई पठाउँछ?’ उसले फोन राख्न खोजेजस्तो गरेर कुरा टुंग्याउन खोजी। यसबारे धेरै कुरा गरेर पनि फाइदा छैन जस्तो लाग्यो। कुरा चाँडै सकिँदैनन् पनि। गर्नुपर्ने कुरा कति हो कति छन्।
केही दिन पहिला सामाजिक सञ्जालमा भाइरल भएकी नर्सको फोटो याद आयो। कति माया गरी बिरामीको सेवामा तल्लिन थिइन् ती। तिनका परिवारलाई पनि बबीलाई जस्तै भइरहेको होला। उनलाई डर लागेको होला कि नहोला?
डाक्टर मात्रै हैन अस्पतालमै आबद्ध सरसफाइ गर्ने पनि जोखिममै छन्। त्यहाँ जाने परिवारका सदस्य पनि रिस्कमै छन्। यति बेला देश नै रिस्कमा छ। देशलाई कति डर लागेको होला?
‘डियर बबी चिन्ता नले है। हामी सबै मिलेर यो युद्ध जित्नेछौं। तँ आफ्नो ख्याल गर,’ यसो भन्छु सोच्दै गर्दा उसले फोन राखिसकेकी थिई। – सेतोपाटीबाट साभार
प्रतिक्रिया