मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बढि कोरोना संक्रमित रहेको सुदूरपश्चिममै जटिल बिरामीको उपचारका लागि अस्पताल छैन् !

बढि कोरोना संक्रमित रहेको सुदूरपश्चिममै जटिल बिरामीको उपचारका लागि अस्पताल छैन् !


धनगढी : देशमा सबैभन्दा बढि कोरोना संक्रमित रहेको सुदूरपश्चिममै जटिल बिरामीको उपचारका लागि अस्पतालको अभाव रहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रलालयले सुदूरपश्चिम प्रदेशमा दोस्रो श्रेणीको कोभिड अस्पताल नतोकेपछि जटिल बिरामीको उपचारका लागि अस्पतालको अभाव रहेको हो।

सुदूरपश्चिममा सेती प्रादेशिक अस्पताललाई कोभिड अस्पताल(पहिलो श्रेणी) को रुपमा तोकिएको छ। यहाँ सामान्य कोरोना संक्रमितहरुको मात्रै उपचार हुनेछ। यस्तै कञ्चनपुरमा रहेको महाकाली अस्पताल र डडेल्धुरा अस्पताललाई कोरोना भाइरसका संक्रमितको उपचारका लागि हब अस्पतालको रुपमा  तोकिएको छ।

यस्तै जिल्ला अस्पताल अछाम, जिल्ला अस्पताल बैतडी, जिल्ला अस्पताल बझाङ, जिल्ला अस्पताल बाजुरा, जिल्ला अस्पताल, जिल्ला अस्पताल दार्चुला, जिल्ला अस्पताल डोटी, टिकापुर अस्पताल र बयलपाटा अस्पताल अछामलाई समेत कोभिड क्लिनिकका रुपमा तोकिएको छ। ज्वरो क्लिनिक सञ्चालन गर्ने अस्पतालले आइसोलेशन स्थापना गर्नुपर्ने छ भने नमूना संकलन गरी सम्बन्धित प्रयोगशालामा पठाउनुपर्नेछ। 

कोरोनाका जटिल बिरामीलाई प्रदेशमा रहेको कोभिड अस्पताल (पहिलो श्रेणी) सेतीले दोस्रो श्रेणीका कोभिड अस्पताल नेपालगन्ञ मेडिकल कलेज, शिक्षण अस्पताल महाराजगञ्ज अथवा विपि कोइराला स्वास्थ्य प्रतिष्ठान धरान पठाउनुपर्ने हुन्छ। कोभिड १९ महामारीको सन्दर्भमा सरकारले सोमबार कोभिड तथा अन्य स्वास्थ्य सेवा प्रवाहका लागि निर्देशिका समेत जारी गरेको छ।

निर्देशिका अनुसार कोभिड क्लिनिक तोकिएका अस्पतालले शंकास्पद बिरामीहरुलाई आइसोलेसनमा राखेर उपचार गर्ने र नमूना संकलनगरी नजिकको प्रयोगशालामा पठाउनुपर्ने छ। यदी बिरामीको कोरोना रिपोर्ट पोजेटिभ आएमा उसले एम्बुलेन्स मार्फत कोभिड अस्पतालमा  पठाउनुपर्ने छ। 

त्यस्तै कोभिड अस्पताल(पहिलो श्रेणी) तोकिएका अस्पतालले कोभिड क्लिनिकले पठाएका बिरामीलाई आइसोलेसनमा राखेर उपचार गनुपर्ने निर्देशिकामा उल्लेख छ। यदी बिरामीको अवस्था जटिल भएमा पहिलो श्रेणीका अस्पतालले दोस्रो श्रेणीका अस्पतालमा पठाउन निर्देशिकाले भनेको छ। 

साथै स्वास्थ्य संस्थासम्म सेवाग्राहीको पहुँचका लागि स्थानीय तहले आवश्यक प्रबन्ध मिलाउनुपर्ने निर्देशिकामा उल्लेख छ। कोभिड १९ बाहेक अन्य स्वास्थ्य सेवाहरुलाई निरन्तरता दिनुपर्ने र कुनै पनि बिरामीको उपचार पाउने अधिकार खोसिए सम्बन्धित स्वास्थ्य संस्थामाथि कारवाही हुनेछ।

निर्देशिकामा कोभिड र अन्य स्वास्थ्य सेवाहरुको निरन्तरताका लागि सबै आकस्मिक तथा गम्भीर सेवाहरु सञ्चालन गर्नुपर्ने र अत्यावश्यक स्वास्थ्य सेवा र एम्बुलेन्ससहित स्वास्थ्य व्यवस्थापनका पक्षहरु सञ्चालन गर्न पनि सबै अस्पताललाई निर्देशन दिइएको छ। – dineshkhabar