मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्य सामग्रीका लागि नेपालले चीनलाई सम्झौतापत्र पठाउने

स्वास्थ्य सामग्रीका लागि नेपालले चीनलाई सम्झौतापत्र पठाउने


कोरोना भाइरस उपचारका लागि स्वास्थ्य सामग्री तथा उपकरण आपूर्ति गर्न नेपालले बिहीबार चीनलाई सम्झौतापत्र पठाउने भएको छ।

अर्थ मन्त्रालयको स्वीकृति लिएर परराष्ट्र मन्त्रालयमार्फत् बिहीबार सम्झौतापत्र पठाउने तयारी भएको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले सेतोपाटीलाई जानकारी दिए। उनका अनुसार परराष्ट्रले चिनियाँ दूतावासमार्फत् सम्झौतापत्र पठाउने छ।

‘भोलि सम्झौतापत्रमा हस्ताक्षर हुन्छ। त्यसलाई हामी चीन पठाउँछौं। उताबाट केही सन्दर्भमा सर्तहरू राख्न सक्छन्,’ उनले भने, ‘कुन प्रक्रियाबाट भुक्तानी गर्ने भन्ने त्यसपछि फाइनल हुन्छ। अहिले सबैतिरबाट माग आएकाले चीनले सामान पठाउन हतार गरिरहेको छ।’

स्वास्थ्य सामग्री तथा उपकरणहरूको माग विश्वभरबाट आएको भन्दै चीनले आवश्यक सामग्री चाँडो लैजान भनेको हो। ढिलो गरे ती सामग्री अन्य देशले लैजान सक्ने भन्दै चीनले सचेतसमेत गराएको छ।

यताबाट पठाइएको सम्झौतापत्रमा केही थपघट गरेर वा त्यसमै सहमति गरेर जवाफ आएपछि मात्र सामग्री ल्याउने मिति तय हुने सैनिक प्रवक्ता पाण्डेले बताए।

‘नेपाली सेनाको खरिद निकायले स्वास्थ्य सामग्री र उपकरणको सूची रक्षा मन्त्रालय पठाएको छ। त्यो सूचीमा रहेका सामग्रीको संख्या, उपकरण लगायतमा स्वास्थ्यले पनि सहमति जनाएको छ,’ उनले भने, ‘त्यो सूचीसहितको सम्झौतापत्र चीन पुगेर सहमति भएपछि भुक्तानी र ढुवानीको सबै प्रक्रिया तय हुन्छ।’

नेपाली सेनाले चीनबाट ६७ प्रकारका स्वास्थ्य सामग्री ल्याउन सूची तयार पारेको छ। तीमध्ये पिपिई, मास्क र रिजेन्ट किट सबभन्दा प्राथमिकतामा राखिएको छ। त्यस्तै, भारतबाट ५३ प्रकारका स्वास्थ्य सामग्री ल्याउने तयारी भएको छ।

सरकारले स्वास्थ्य सामग्री तथा उपकरण ल्याउने जिम्मेवारी नेपाली सेनालाई दिएपछि चीन, भारत, दक्षिण कोरिया, सिंगापुर र इजरायललाई पत्राचार गरेको थियो। तत्काल भेन्टिलेटर दिन सक्ने भनेर कुनै पनि देशले सहमति जनाएका छैनन्।