मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कीर्तिपुरमा फसेका विद्यार्थीहरुलाई कांग्रेस उपसभापति निधिले गरे सहयोग

कीर्तिपुरमा फसेका विद्यार्थीहरुलाई कांग्रेस उपसभापति निधिले गरे सहयोग


जनकपुरधाम– महोत्तरीको बर्दिवासका प्रशान्त कुश्वाहा त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा वाणिज्य संकायमा स्नातकोत्तर गरिरहेका छन् । प्रशान्त कीर्तिपुरमा कोठा बहालमा लिएर अध्ययन गरिरहेका छन् ।

प्रशान्तजस्तै उच्च शिक्षा अध्ययन गर्न प्रदेश २ को विभिन्न जिल्लाबाट त्यहाँ पुगेका विद्यार्थीहरु बहालमा बसिरहेका छन् । केही दिनअघिसम्म सबै कुरा सामान्य रहेको उनीहरुलाई अहिले ‘लकडाउन’ ले पिरोलेको छ ।

चाँडै ‘लकडाउन’ सकिने र जनजीवन सामान्य हुने उनीहरुलाई लागेको थियो । तर, ठीक विपरित भएको छ । प्रशान्त र उनका साथीहरु आ–आफ्नो घर फर्किने प्रयास पनि नगरेका होइनन् । गाडी चलिरहेको बेला टिकट पाइएन, पछि गाडी पूर्णरुपले बन्द भएपछि कीर्तिपुरमै फसे छन् उनीहरु ।

कोरोना संक्रमण रोक्न ‘लकडाउन’ लम्बिँदै जाँदा प्रशान्त र उनका साथीहरु अहिले समस्यामा परेका छन् । कोठामा भएको चामल, दाललगायतका सबै खाद्यान्न सकिसकेको छ, प्रशान्त र उनीसँगै बस्ने अन्य विद्यार्थीहरुको ।

कमसेकम दुई छाकको जोहो गर्न उनीहरुले हरसम्भव प्रयास गरे । नगरपालिकाले राहत वितरण गरिरहेको सुनेपछि उनीहरु त्यहाँ पनि पुगे । तर, राहत पाएनन् । स्थायीवासीले मात्र राहत पाउने व्यवस्था अड्चन बन्यो उनीहरुलाई । वडाध्यक्षदेखि नगरपालिकाका अधिकांश कर्मचारीहरुलाई आग्रह गरेका थिए उनीहरुले ।

सरकारी राहत पाउन घरबेटीको स्वीकृति चाहिँदो रहेछ । घरबेटीको सिफारिस पाउने केही विद्यार्थीलाई नगरपालिकाको राहत प्राप्त भयो । तर, अधिकांशले पाएका छैनन् ।

सबै बाटो बन्दभएपछि प्रशान्तका साथै सबै विद्यार्थीहरुले काठमाडौं बस्ने आ–आफ्ना जिल्लाका नेताहरुलाई फोन लगाउन सुरु गरे । प्रशान्तले नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिलाई बुधबार बिहान फोन गरेर आफूहरुले भोगिरहेको समस्या सुनाए ।

उनले राहतको लागि नगरपालिकासँग आग्रह गरिरहे पनि सुनवाइ नभएको भनेपछि उपसभापति निधिले समस्यामा परेका ४५ जना विद्यार्थीहरुका लागि खाद्यान्न पठाइदिएका छन् ।

‘सबै साथीहरुले आफ्नो जिल्लाका नेताहरुलाई फोन गर्ने क्रममा मैले निधि सरलाई आज फोन गरेर समस्या सुनाएको थिएँ,’ प्रशान्तले भने, ‘उहाँले ४५ जना विद्यार्थीहरुका लागि खाद्यान्न पठाइदिनु भएको छ ।’

चामल, आलु, खाने तेल, सोयाबिन, साबुनलगायतका खाद्यान्न सामग्री आफूहरुले सहयोग पाएको प्रशान्तले सुनाए । ‘यस्तो कठिन समयमा उहाँबाट भएको सहयोगले हामीलाई धेरै राहत पुर्याएको छ,’ प्रशान्तले भने । उहाँले आफ्नो स्वकीय सचिव विश्वास विक्रममार्फत् सबै सामान पठाइदिएको प्रशान्तले बताए ।

उपसभापति निधिले आफूहरु समस्यामा रहेको भन्दै विद्यार्थीहरुले जानकारी गराएको बताए । ‘उहाँहरु समस्यामा हुनुहुन्छ, खाना सबै भन्दा ठूलो समस्याको रुपमा देखिएको छ,’ निधिले भने, ‘उहाँहरु जस्तै अरु पनि होलान् । सरकारले सबैको खोजी गरेर उचित व्यवस्था गर्नतर्फ ध्यान दिनुपर्यो ।’

मधेशी आयोगदेखि जिल्लाका प्रतिनिधिसभा सदस्यहरुलाई फोन गरेर सहयोगको लागि आग्रह गरेपनि कसैले सहयोग नगरेको उनले बताए । ‘मधेशी आयोगमा फोन गर्यौं, साथीहरुले आ–आफ्ना जिल्लाबाट प्रतिनिधिसभा सदस्यहरुलाई फोन गरे,’ उनी भन्छन्, ‘तर खासै वास्ता भएन ।’

‘लकडाउन’ अरु कति िदन रहने ठेगान नरहेको भन्दै उनले भने, ‘कि त सरकारले हामीलाई घरसम्म पुर्याइदिने व्यवस्था गरिदिनु पर्यो कि त बस्ने खाने ।’ प्रशान्तका अनुसार कीर्तिपुरमा बहालमा बस्दै आइरहेका प्रदेश २ को आठ जिल्लाका करिब ४० देखि ५० विद्यार्थीहरु समस्यामा छन् । – nepalsamaya