धनगढी : सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा गर्मी बढ्दै जान थालेपछि अनियमित विद्युत कटौती पनि हुन थालेको छ। धनगढीमा केही दिन यता भईरहेको अनियमित विद्युत कटौतीको समस्याले नगरबासी हैरान भएका छन्।
दिउँसो र रातीको समयमा समेत विद्युत आउन जाने हुन थालेपछि समस्या भईरहेको धनगढीका स्थानीय रामबहादुर नेगीले बताए। उनले भने, ‘विगतका वर्षहरुमा झै गर्मी बढ्दै जान थालेपछि धनगढीमा सुरु भएको विद्युत कटौतीको समस्याले समस्या छ। छिनछिनमा बत्ती जाने आउने समस्याले आजित बनाउन थालेको छ।’
कोरोना भाईरसको संक्रमण फैलिन नदिन सरकारले लकडाउन जारी गरेका बेला घर भित्रै बस्नुपर्ने अवस्थामा छ तर अनियमित विद्युत कटौतीले गर्दा झनै समस्या भईरहेको छ। विद्युती कटौती मात्र नभएर प्राधिकरणको नो लाईट शाखामा समस्याबारे बुझ्न खोज्दा फोन नउठ्ने तथा नलाग्ने समस्याले पनि नगरबासी हैरान भएका छन्।
धनगढी १ का विशाल रोक्काले भने, ‘विद्युत आउने जाने हुन थालेपछि इलेक्ट्रोनिक समानमा समेत क्षती पुग्न थालेको छ। तर उक्त विषयमा नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रले कुनै सुनवाई नै गरेको छैन्।’ यता, नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रले विगत केही दिनदेखि लाईनमा समस्या आएको स्वीकार गरेका छ।
समस्या हल गर्न निरन्तर रुपमा काम गरिरहेको दावी धनगढी वितरण केन्द्रका प्रमुख सुरेन्द्र चौधरीको छ। लाईनमा देखिएको प्राविधिक त्रुटी के हो भन्ने कुरा छुट्टयाउन नसकिएको बताउँदै उनले भने, ‘अनियमित कटौतीको समस्या समाधान गर्न लागि परेका छौ।’ – dineshkhabar
प्रतिक्रिया