मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चिकित्सा सेवा एकअर्कामा निर्भर हुन्छन्, टुक्राउन सकिदैन् : सेती अस्पताल

चिकित्सा सेवा एकअर्कामा निर्भर हुन्छन्, टुक्राउन सकिदैन् : सेती अस्पताल


मंगलबार सेती प्रादेशिक अस्पतालले प्रसुती सेवा अनिश्चतकालका लागि स्थगीत गर्दै आमा सुरक्षा कार्यक्रम लागु भएको धनगढीकै नवजीवन अस्पतालबाट सञ्चालन गर्ने सूचना जारी गर्यो। सामाजिक सञ्जालमा अस्पतालको उक्त निर्णयलाई लिएर पक्ष र विपक्षमा बहस भईरहेको छ। कतिपयले कोरोना विशेष अस्पताल तोकिसकेको सेतीमा प्रसुती सेवा स्थगीत गरिनु ठिक भनेका छन् भने कतिपयले उक्त निर्णय स्वीकार गर्न नसकिने बताईरहेका छन्।

त्यसबीचमा धेरैले प्रसुती सेवा नवजीवनलाई दिए झै सेतीबाट प्रवाह भईरहेका अन्य सेवाहरु पनि नीजि अस्पतालहरुबाट प्रदान गर्ने व्यवस्था मिलाउन सकिने सुझाव दिईरहेका छन्। त्यसको पछाडी कोरोना भाईरसका विरामीको उपचार भईरहेको सेतीमै अन्य सेवा पनि दिदा संक्रमणको जोखिम बढ्ने चिन्ता प्रमुख कारण हो। तर के सेती अस्पताललाई कोरोना विशेष अस्पताल बनाईनु ठीक थियो त ? भन्ने प्रश्न समेत उठिरहेका छन्।

चिकित्सकहरुका भनाईलाई आधार मान्दा प्रदेशमा कोरोना भाईरसका संक्रमितको उपचारका लागि छुट्टै अस्पताल व्यवस्थापन गर्न दुई महिना अघि नै सरोकारवालालाई सुझाईएको थियो। जुन कुरा सेती अस्पतालकै फिजिसियन डाक्टर शेरबहादुर कमरले समेत सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै स्पष्ट पारेका छन्। उनले आफ्नो फेसबुकमा लेखेको स्टाटसमा भनेका छन्, ‘२ महिना अघिदेखि नै कोभिड–१९ का बिरामी राख्न छुट्टै अस्पताल खडा गरौ भनेको सुनुवाइ भएन।’

चिकित्सकहरुका भनाईलाई आधार मान्दा प्रदेश सरकारले कोरोनाको संक्रमण फैलिन सक्ने तर्फ सचेत गराउँदै गराउँदै सुझाव ग्रहण गर्न अटेरी गरेको बुझिन्छ। सेती प्रादेशिक अस्पतालका प्रवक्ता समेत रहेका आकस्मिक विभाग प्रमुख डाक्टर जगदिश प्रसाद जोशी सेती मातहत नै रहने गरी कोभिडका विरामीको उपचार गर्न विभिन्न विकल्प भएको तर ती विल्कप अपनाउनुमा सम्बन्धीत निकाय चुकिसकेको बताउँछन्।

प्रदेशकै रेफरल सेतीमा अन्य अस्पतालको तुलनामा विशेषज्ञ सेवा प्रदान गरिदै आएको छ। ‘पहिलो विकल्प भनेको सेती मातहत नै रहनेगरी कोभिडको एउटा युनिट खडा गरेर वा छुट्टै अस्पताल पाउने सकेको भए राम्रो हुन्थ्यो। त्यो पनि सम्भव नभए कुनै एउटा होटलमै गर्न सकिन्छ। अस्थायी रुपमा खडा गर्न सकिन्छ।’ डाक्टर जोशीले भने, ‘अन्य विकल्प अपनाउन सकिन्छ ती भएका पनि छन्, भरतपुर अस्पताल, भेरी लगायतका अस्पतालमा गरिएको छ। त्यो असम्भव होईन् तर इच्छा शक्ति हुनुपर्यो सम्भव छ। सरकारको अहिलेको गतिविधीले यो सम्भव देखिएन। उहाँहरु दोस्रो विकल्पमा गएको देखिन्छ।’

तर ती विकल्पहरु अझै अवलम्बन गर्दा खासै फरक नपर्ने सुझाव डाक्टर जोशीको छ। कोरोना भाईरसको संक्रमण फैलिन सक्ने तर्फ सामाजिक विकास मन्त्रालय लगायतका सरोकारवाला पक्षलाई सेती अस्पतालका चिकित्सकले सचेत गराउँदै उपचारका लागि छुट्टै युनिट आवश्यक पर्ने भन्दै पटक पटक सुझाएको पनि स्वीकार गरेका छन्। तर चिकित्सकहरुको उक्त सुझावलाई वेवास्ता गर्दै प्रदेशको मन्त्रीपरिषद् बैठकले सेतीलाई कोरोना विशेष अस्पताल तोकेर उपचार गर्ने निर्णय लिएको थियो।

त्यसपछि समेत जोखिम बढेको भन्दै सेती मातहत रहने गरी छुट्टै कोरोना उपचार युनिट स्थापना गर्न आग्रह गरिदै आएको थियो। तर सरकारले अहिले सम्म वैकल्पीक व्यवस्था गरेको छैन्। नवजीवन अस्पतालबाट प्रसुती सेवा प्रदान गर्ने व्यवस्था मिलाएपछि अन्य सेवाहरु पनि विभाजन गरी नीजी अस्पतालहरु मर्फत दिन सकिने विकल्पमा पनि बहस सुरु भएको छ। तर आकस्मिक बाहेकका अन्य सबै सेवा दिईरहेको सेतीले भने उक्त प्रस्ताव निकै जटिल र असम्भव भएको जनाएको छ।

‘मेकिडल साईन्समा अस्पतालबाट दिईने सेवाहरु एकअर्कामा निर्भर भएको हुनाले विरामीको सहजता र उपचारका दृष्टिकोणले सबै सेवा एउटै छातामुनी हुन राम्रो हुन्छ।’ सेती प्रादेशिक अस्पतालका मेडिकल सुरपीटेन्डेन्ट डाक्टर हेमराज पाण्डेले भने, ‘एउटा विभागको सेवा अर्को विभागको सेवामा आश्रीत हुन्छ। मानौँ आईसियु चलाएको छ भने, त्यसमा बेहोस गर्ने डाक्टर, फिजिसियन डाक्टरले हेर्छ। बेहोस गर्ने डाक्टर प्रसुती र अन्य नियमित अप्रेसन गर्छ। त्यतै ल्याब लगायतका अन्य सेवा हुन्छन्। प्रसुती केसको हकमा फिजियनलाई देखउनु परे यतै उपलब्ध हुन्छ। तत्काल अर्को अप्रेशन गर्नुपरे सर्जन हुन्छ।’

तर सवै सेवा विभाजन गर्न निकै जटलि र चुनौतीपूर्ण भएको डाक्टर पाण्डेले बताए। अहिले कोरोना संक्रमित पाँच जनालाई छुट्टै राखिएको बताउँदै पाण्डेले भने, ती पाँचजनाका लागि भनेर हामीले दुई सय ४० शैया भएका संरचनाका सेवाहरुलाई टुक्रा टुक्रा गरेर धेरै ठाउँमा छर्दाखेरी कुनै ठाउँमा अर्को सेवा आवश्यक परेमा कसरी गर्ने? की काठमाडौँतीरको जस्तै विज्ञ खालको सेवा भए कम चाप हुन्छ।

‘सेती भनेको जनरल अस्पताल भएकाले एउटा सेवा अर्कामा निर्भर हुने भएकाले समस्या हुन्छ।’ प्रदेश सरकारले यसअघि चिकित्सकले दिएका सुझावहरु ग्रहण नगरी सेतीलाई नै विशेष अस्पताल तोकिसकेको छ। विशेष अस्पताल तोकेकै अवस्थामा समेत छुट्टै युनिट खडा गर्नुपर्ने आवश्यककता भएतापनि त्यो कामले गति लिन सकेको छैन्।

जसका कारण जोखिम बढ्दै गएको छ। तर सामाजिक विकास मन्त्रालयले जिल्ला समन्वय समितिको जग्गामा निर्माण गर्ने भनिएको ५० शैयाको कोरोना अस्थायी अस्पतालले पूर्णता पाए सहज हुने विश्वास मेसु पाण्डेले व्यक्त गरे।  यता सामाजिक विकास मन्त्रालयले समेत अस्थायी अस्पताल निर्माणको काम सुरु भईसकेकाले चाडै सम्पन्न हुने दावी गरेको छ। तर यसअघि सरकारका तर्फबाट भए÷गरेको त्रुटी र कहाँ चुक्यो भन्ने विषयमा अल्झीएर भन्दा पनि महामारीको समाना गर्न नयाँ विकल्पका साथ अगाडी बढनुपर्ने सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्की बताउँछन्।

‘कोरोनाका विरामीको उपचारका लागि जिल्ला समन्वय समितिको जग्गामा अस्थायी अस्पताल बनाउन काम भईरहेको छ। ठेकेदारले कति छिटो काम गर्छ त्यसैमा भर पर्छ।’ उनले भने, ‘१० दिन भित्र पूर्णता दिन भनेका छौँ।’सेतीलाई विशेष अस्पताल तोक्नु अघि किन छुट्टै अस्पताल निर्माण गर्न सकिएन भन्ने जिज्ञाशामा कार्की भन्छन्, ‘धेरै छलफल भएको हो। विस्तृत कुराकानी छ। बसेरै छलफल गरौँला। अहिलको परस्थितीमा हामी सबैले संयम भएर बस्नुपर्ने भएको हुनाले मिडियामा नबोलौँ।’

कोरोना विशेष अस्पताल तोकिएको सेतीमा सरकारबाट ५० शैयाको अनुमती भएपनि अस्पताल विकास समितिका तर्फबाट ७५ समेत गरी दुई सय ५० शैया सञ्चालनमा छन्। अस्पतालले समान्य र गम्भीर खालका समेत गरी झण्डै तीन दर्जन उपचार सेवा प्रवाह गर्दै आएको छ। सेतीलाई नै प्रदेश सरकारले कोरोना विशेष अस्पताल तोकेको छ। – dineshkhabar