मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदूरपश्‍चिममा कोरोना संक्रमितको उपचार गर्न दुईवटा अस्थायी अस्पताल बन्दै

सुदूरपश्‍चिममा कोरोना संक्रमितको उपचार गर्न दुईवटा अस्थायी अस्पताल बन्दै


‘५०-५० आइसोलेनस बेड र चार-चारवटा भेन्टिलेटरसहिको सुविधा हुने’

काठमाडौं । सुदूरपश्‍चिम प्रदेशमा कोरोना विशेष अस्थायी अस्पताल बन्‍ने भएका छन् । नोभेल कोरोना भाइरसको उच्च जोखिम रहेको सुदूरपश्‍चिममा सरकारले दुईवटा कोरोना विशेष अस्थायी अस्पताल बनाउन लागिएको जनाएको छ । 

सुदूरपश्‍चिममा कोरोना भाइरसको संक्रमण पुष्टि गरिएका पाँच जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । सेती अस्पतालबाट दुई दर्जभन्दा बढी सेवासमेत उपलब्ध गराइने भएकाले कोरोना संक्रमणको ‘हटस्पट’ बन्‍ने जोखिम बढेको भन्दै चौतर्फी आलोचना भएपछि कोरोना विशेष अस्थायी अस्पताल बनाउन लागिएको हो । 

सुदूरपश्‍चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले बाह्रखरीसँग कुरा गर्दै भने, “हामीले कोरोनाका बिरामीको उपचार गर्नका लागि दुईवटा अस्थायी अस्पताल बनाउने काम अघि बढाइसकेका छौं । एउटा सेती प्रादेशिक अस्पतालको मातहतमा रहने गरी र अर्को महामारी प्रादेशिक अस्पतालको मातहतमा रहने गरी बन्‍ने अस्पतालका लागि बजेटसमेत विनियोजन भइसकेको छ । आगामी १५ दिनमै दुईवटै अस्पताल बनिसक्छन् ।” 

नयाँ बन्‍ने दुईवटा कोरोना विशेष अस्थायी अस्पताल ५०-५० वटा आइसोलेसन बेड रहने र त्यहाँ चार-चारवटा भेन्टिलेटरसहितको सुविधा हुने मन्त्री सुवेदीले दाबी गरेका छन् ।

नयाँ बन्‍ने अस्थायी अस्पतालमा चिकित्सक सेती र महाकाली प्रादेशिक अस्पतालबाट खटाइने भएको छ । नियमित उपचारमा आइरहने बिरामीका लागि चिकित्सक अभाव नहोस् भनेर ६० जना चिकित्सकको आवेदन खुलाइएको र उनीहरुको अनलाइन प्रणालीमार्फत् परीक्षा लिएर नियुक्ति प्रक्रिया अघि बढाउनेसमेत मन्त्री सुवेदीले जानकारी दिए । 

अहिले सेती प्रादेशिक अस्पतालमा रहेका कोरोना संक्रमितको उपचारका लागि खटिएका चिकित्सकहरुलाई अलग्‍गै राख्‍ने व्यवस्था गरिएको र उनीहरुलाई अन्य रोगका बिरामीको उपचारमासमेत नखटाइएको मन्त्री सुवेदीले जानकारी दिए । 

उनले भने, “हामीले कोरोना संक्रमितको उपचारमा खटिएका चिकित्सकहरुलाई घरमा जान नपर्ने गरी गेष्ट हाउसमा कोठा लिएर राखेका छौं । उनीहरुबाट कोरोना संक्रमण फैलिने जोखिम छैन ।” 

केन्द्र सरकारले पनि सुदूरपश्‍चिम प्रदेशका लागि ३३ जना चिकित्सक पठाउने र उनीहरुको पनि सम्पूर्ण सुविधाको व्यवस्था प्रदेश सरकारले गर्ने मन्त्री सुवेदीले जानकारी दिएका छन् । उनका अनुसार केन्द्रबाट खटिने चिकित्सकको टोलीलाई सुदूरपश्‍चिमका नौ वटै जिल्लामा पठाउने तयारी भइरहेको छ । 

सुदूरपश्‍चिममा हाल २९४ क्‍वारेन्टाइन सेन्टरहरुमा एक हजार २७ जना रहेका छन् । उनीहरुको र्‍यापिड डाइग्‍नोस्टिक जाँच गर्ने कार्य भइरहेको मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले जानकारी दिए । 

प्रवक्ता कार्कीका अनुसार क्‍वारेन्टाइनमा रहेका, पहिले कोरोना संक्रमित मुलुकबाट आएका र घरमै बसेका र कोरोना संक्रमणको जोखिम भएका क्षेत्रहरुमा अहिले आरडीटी जाँच भइरहेको छ । हालसम्म तीन हजार ५०९ जनाको आरडीटी जाँच गरिएको छ भने एक हजार ४७७ को आरडीटी-पीसीआर दुवै जाँच गर्दा पाँच जना संक्रमित भेटिएका हुन् ।

क्‍वारेन्टाइनबाट गएकाहरुलाई पनि सात दिन अनिवार्य होम-क्‍वारेन्टाइनमा रहनुपर्ने प्रावधान राखिएको प्रवक्ता कार्कीले जानकारी दिए । 

नेपालमा हालसम्म ६ जनाको कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्‍न ६३ जिल्लामा आरडीटीमार्फ कोरोना परीक्षण सुरु गरिएको छ । – सेतोपाटी बाट