मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानमन्त्रीको निर्देशन : हिँडेर गाउँ जान नदिनू, खान नपाए खाद्यान्न पुर्‍याउनू

प्रधानमन्त्रीको निर्देशन : हिँडेर गाउँ जान नदिनू, खान नपाए खाद्यान्न पुर्‍याउनू


५ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अत्यावश्यक बाहेकका आवतजावत पूर्ण रुपमा बन्द गर्न निर्देशन दिएका छन् । यदि कोही खान नपाएरै गाउँ जान लागेको भए त्यहीँ खाद्यान्न पुर्‍याउने व्यवस्था गर्न पनि भनेका छन् ।

लकडाउन लम्बिँदै गर्दा मानिसहरु हप्तादिनसम्म हिँडेर भएपनि गाउँ जाने क्रम बढेपछि प्रधानमन्त्री ओलीले बालुवाटारमा मन्त्रीहरुलाई बोलाएर छलफल गरेका थिए । बैठकमा कोभिड-१९ सम्बन्धी उच्चस्तरीय समितिले प्रदेश र स्थानीय तहसँग समन्वय गरेर सिधै गाउँ पुर्‍याउने वा यहीँ रोक्ने विकल्प पेश गरेको थियो ।

तर प्रधानमन्त्रीले यसमा उदारता देखाउन नहुने बताए । ‘आवतजावत बन्द भनेपछि एक ठाउँबाट अर्को ठाउँमा जानेहरुलाई रोक्नुपर्छ । यदि खान नपाएरै जान लागेका हुन् भने जहाँ बसेका छन्, त्यहीँ खाद्यान्न पुर्‍याउने व्यवस्था गर्नू ।’

उनले यसका लागि स्थानीय तहहरुसँग समन्वय गर्न र सम्बन्धित जिल्लाका सांसदहरुको सहयोग लिन उच्चस्तरीय समन्वय समितिलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री ओलीले परीक्षणलाई गति दिन पनि निर्देशन दिएको एक मन्त्रीले बताएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार अहिलेसम्म पीसीआर विधिबाट ७ हजार ६८८ र र्‍यापिड डायग्नोस्टिक विधिबाट १६ हजार ५६५ परीक्षण भएको छ । आगामी एक साताभित्र यसलाई एक लाख पुर्‍याउन उच्चस्तरीय समितिमा छलफल भएको एक मन्त्रीले जानकारी दिए । – onlinekhabar