मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

संसदीय समितिले सरकारलाई भन्यो- हिँडेकालाई गन्तव्यमा पुर्‍याऊ या खान-बस्न देऊ

संसदीय समितिले सरकारलाई भन्यो- हिँडेकालाई गन्तव्यमा पुर्‍याऊ या खान-बस्न देऊ


संसदको कानुन,न्याय तथा मानव अधिकार समितिले हिँडेरै घर गइरहेका मानिसहरूलाई गन्तव्यमा पुर्‍याऊ वा नसके जुन ठाउँमा छन्, त्यहीँ ठाउँमा खान बस्नको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएको छ।

शनिबार बसेको समितिको ‘भर्चुअल मिटिङ’ले आफ्नो थातथलोमा देशभित्रैबाट फर्किन चाहनेहरूलाई पैदल यात्रा गर्न बाध्य नबनाउन समेत सरकारको ध्यानाकर्षण गराएको हो।

समितिले उनीहरूलाई सुरक्षा सहितको सवारीबाट स्थानीय र प्रदेश सरकारको समन्वयमा गन्तव्यमा पुर्‍याउने वा जुन ठाउँमा छन् त्यहीँ ठाउँमा खान बस्नको राम्रो प्रबन्ध गर्ने व्यवस्था मिलाउनुपर्नेमा जोड दिएको छ।

बैठकमा देव गुरूङ, बालकृष्ण खाँड, लक्ष्मणलाल कर्ण,  राजेन्द्र गौतम,लाल बहादुर थापा, समिना हुसेन लगायतका सांसद सहभागी थिए।

‘चिकित्सक र स्वास्थकर्मीको सुरक्षाको प्रबन्ध गर्न र औषधि, उपकरणलगायत सामग्रीको सञ्चय र समन्यायीक वितरण गर्न भनेका छौं,’समिति सभापति कृष्णभक्त पोखरेलले सेतोपाटीसँग भने,’बन्दीहरूलाई छुट गर्न मिल्नेसम्म छुट गरी कारागारको चाप घटाउनेतर्फ यसअघि दिएको निर्देशन कार्यान्वयन गर्न र  सीमा क्षेत्रको सुरक्षालाई कडाइ गर्न सरकारको ध्यानाकर्षण गराएका छौं।’

व्यक्तिको खान पाउने र उपचार मौलिक हक भएकाले खाना र औषधि अभाव भएका सबै व्यक्तिलाई क्षेत्र वा अन्य कुनै आधारमा भेदभावबिना उपलब्ध गराउन समेत समितिले सरकारलाई भनेको छ।

विपत व्यवस्थापनसम्बन्धी कानुनको माथिदेखि तलसम्म कार्यान्वयन गर्न र  विदेशमा रहेका नेपाली नागरिकको अवस्थाबारे नियमित अनुगमन गरी उनीहरूको मानव अधिकारको रक्षा गर्ने दिशामा पहलकदमी लिन समेत समितिले सरकारलाई भनेको छ। -setopati.com