मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बैतडीमा दीर्घरोगीका लागि घरमै निःशुल्क औषधि

बैतडीमा दीर्घरोगीका लागि घरमै निःशुल्क औषधि


बैतडी- बैतडीको डिलाशैनी गाउँपालिकाले दीर्घरोगीका लागि घरमै निःशुल्क औषधि पु¥याउने भएको छ। जारी लकडाउनका कारण नियमित औषधि सेवन गर्नुपर्ने नागरिकको सहजताका लागि गाउँपालिकाले यस्तो निर्णय गरेको गाउँपालिकाका विपद् व्यवस्थापन सम्पर्क व्यक्ति पुरुषोत्तमनाथ योगीले बताए।

दम, मधुमेह, मुटुरोगलगायत लामो समयदेखि औषधि सेवन गरिरहेकालाई महिला स्वास्थ्य स्वयंसेविकामार्फत सम्बन्धित बिरामीको घरमा नै औषधि पु¥याउने व्यवस्था गर्न लागिएको हो। प्रत्येक वडामा नियमित औषधि सेवन गरिरहेका नागरिकको तथ्याङ्क सङ्कलन गरिने र त्यसपछि गाउँपालिकाले औषधि खरिद गरेर घरघरमा पु¥याउने नाथको भनाइ छ। लकडाउन अवधिभर नियमित औषधि सेवन गरिरहेकाहरूका लागि यो व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ। 

यस्तै गाउँपालिकाले कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणमा खटिएका कर्मचारीको कोरोनाका कारण मृत्यु भएमा उसकोे परिवारको सदस्यको  १० लाखको बीमा गरिदिने निर्णय गरेको छ। उसका आश्रित परिवारका सदस्यलाई सजिलो होस् भनेर यस्तो निर्णय भएको गाउँपालिकाका प्रवक्ता अक्कलबहादुर रानाले बताए।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि  ५० लाखको राहत कोष स्थापना गर्ने निर्णय पनि गरेको छ। सो कोषमा गाउँपालिकाअन्तर्गतका कर्मचारीको १० दिनको तलबकट्टा गरी जमा गर्ने, लकडाउन अवधिभर जनप्रतिनिधिले पाउने सेवा सुविधा सबै सो कोषमा राख्ने निर्णयसमेत भएको प्रवक्ता रानाले जानकारी दिए।

यस्तै कोरोना भाइरस रोकथामका लागि अग्रपङ्क्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मीलाई शतप्रतिशत थप भत्ता दिने, सहयोगी भूमिकामा रहेर काम गर्ने कर्मचारीलाई २५ प्रतिशत थप भत्ता दिने निर्णय गरेको प्रवक्ता रानाले जानकारी दिए। रासस