ए ! सुकुम्बासीहरु हो !
ए ! किसान , श्रमिक, मजदुरहरु हो !
ए ! परदेशीहरु हो !
ए ! नेपालीहरु हो !
तिमीहरू बाँच्नु पर्छ, जसरी भए पनि अर्को चुनाव सम्म ।
तिमीहरुलाई,
साम्यवादको रोगले मर्न दिदैन ।
उदारवादको भोकले मर्न दिदैन ।
फेरि राहत बोकेर आएको छ कोरोना ।
जसरी राहत बोकेर आउँछन्,
आँधी, बाढी, पहिरो ,भू-कम्पन !
तिमीहरुले मर्न चाहेर पनि मर्न सक्दैनौं ।
बाँच्नै पर्छ अर्को चुनाव सम्म ।
तिमीहरुलाई साँच्चिकै बाँचेको देख्न चाहने भए ;
आफ्नै घर फर्किन पनि,
किन महाकालीमा हाम फाल्नु पर्छ ?
किन १४/१५ दिन भोकै नाङ्गै हिड्नु पर्छ ?
किन कोरो जमिनमा लम्पसार पर्नु पर्छ ?
किन धुरुधुरु घर सम्झेर रुनु पर्छ ?
तिमीहरुले आँखा गुमाएका छैनौ भने हेर ;
तिमीले महाकालीमा हाम फालेको दिन को को छिरे
बाथरुममा स्नान गर्न !
तिमीले १४/१५ दिन नाङ्गो पाउ
हिड्दा कतिवटा चिल्ला गाडी गुडे होलान्
राजमार्गमा! कति हेलिकप्टर उडे होलान्
आकाशमा ! तिमीहरु भुइँमा उत्तानो पर्दा,
कतिलाई मखमलमा निद्रा लागेन होला !
तिमीहरुले प्यास मार्ने पानी नपाउँदा,
कति बोतल रित्ता भए होलान् !
तिमीहरु भोक र रोगले मर्न सक्दैनौं ।
गरिबीको रोगले मरेनौ भने,
बाँच्नै पर्छ अर्को चुनाव सम्म !
यदि मर्ने नै भयौ भने पनि ;
यो श्लोक सम्झनु !
“वासांसि जीर्णानि यथा विहाय
नवानि गृह्वाति नरो~ पराणि ।
तथा शरीराणि विहाय जीर्णा-
न्यनयानि संयाति नवानि देही ।।
” तिमीलाई देशले सम्झन्छ जस्तो लाग्दैन अझै पनि !
यदि अर्को चुनाव नकुर्नु पर्ने भए ;
तिम्रो चिना जस्तै जिर्ण हुने थिएनन् मौलिक हक !
तिम्रो जीवन जस्तै दरिद्र हुने थिएन गाउँको स्वास्थ्य चौकी !
तिम्रो अनुहार जस्तै रुखो हुने थिएन खेतबारी !
तिम्रो गन्तव्य जस्तै अन्धकार हुने थिएन गाउँको विद्यालय !
तिम्रो गाउँमा बाटो पुग्नु भन्दा अघि खल्तीमा पुग्ने थिएन रेमिटेन्स (बजेट) !
तिम्रो घरमा बिजुली नबल्दै सहरमा बन्ने थिएन
ठेकेदारको घर !
झुट बोलेको भने माफ पाउँ !
तिमीले अर्को चुनाव सम्म बाँच्नै पर्छ
जनता ; एक पेग निःशुल्क रक्सी पिउन पनि !
२०७७/०१/०५
प्रतिक्रिया