मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आगामी तीन दिनसम्मै चट्याङ र असिनासहित वर्षा हुने

आगामी तीन दिनसम्मै चट्याङ र असिनासहित वर्षा हुने


काठमाडौं- प्रि मनसुन सुरु भएसँगै देशका अधिकांश भागमा चट्याङ, असिना र हावाहुरीसहित वर्षा भइराखेको छ । यो क्रम आगामी तीन दिनसम्म जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले शुक्रबार बिहान जारी गरेको मौसम बुलेटिनअनुसार आज मध्य र पूर्वी भू–भागका धेरै स्थानहरुमा र पश्चिमी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको सम्भावना देखिएको छ ।

देशका मध्य र पूर्वी भू–भागमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने मौसमविद् वरुण पौडेलले जानकारी दिए । दिउँसो केहि समय मौसम खुले पनि साँझ परेपछि पुनः वर्षा हुने उनले बताए ।

उनका अनुसार आज पश्चिमको तुलनामा मध्य र पूर्वका धेरै ठाउँमा पानी पर्नेछ । यस्तै भैरहवाबाट पूर्वतिर जनकपुर, सिरहा, सर्लाहीलगायत पूर्वी तराईमा आज अलि धेरै हुरीबतासको सम्भावना रहेको छ।

शनिबार पनि चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको र आइतबार पनि यो क्रम जारी रहने महाशाखाले जनाएको छ।

बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा र प्रि–मनसुन सक्रिय भएसँगै एक हप्ता यता देशभर बदलीसँगै मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षा भइरहेको छ ।

पश्चिमी वायुको प्रभाव स्थानीय वायुसँग जोडिँदा बलियो भएर चट्याङ पर्ने हुन्छ। उक्त मौसमी प्रणालीको प्रभाव अझै केही दिन कायम रहने बताइएको छ।