काठमाडौं- पाँच वर्षअघि ठिक आजकै दिन यतिखेर हजारौं नेपालीले आफन्त र आफ्नो घरबार गुमाएका थिए । जुन पल सम्झिदा जो कोही नेपालीको आङ जिरिङ्ग हुन्छ ।
बिहानको ११ बजेर ५६ मिनेट जाँदा पुरै नेपाल हल्लाउन गरि आएको ७.८ रेक्टर स्केलको भूकम्पबाट ८ हजार ५ सय ५६ जनाको मृत्यु भएको थियो ।
गोरखाको वारपाक इपिसेन्टर भएर गएको भूकम्पबाट २२ हजार ३ सय ९ जना घाइते भएका थिए । हजारौं नागरिक घरबार बिहिन भ एभने ८ खर्ब भन्दा बढिको भौतिक क्षति भयो ।
यो भूकम्पबाट धरहरा लगायतका ऐतिहासिक धरोहर नष्ट भयो भने पुरातात्विक सम्पदा पनि नासिएको थियो । अहिले बाँचीराखेको पुस्ताले भोगेको यो नै सबैभन्दा ठूलो भूकम्प हो ।
तर, यसअघि यस्ता विनाशकारी भूकम्प नेपालमा पटक पटक गएका छन् । हजारौंले यहि भूकम्पबाट ज्यान गुमाएका छन् भने खर्बौको भौतिक क्षति भएको छ ।
नेपालमा कहिले कहिले गयो महाविनाशकारी भूकम्प ?
२०७२ साल वैशाख १२ को भूकम्प
२०७२ साल वैशाख १२ गते शनिबार मध्यान्ह ११ः५६ बजे ७.८ रेक्टर स्केलको भूकम्प गएको थियो । गोरखाको वारपाक केन्द्रविन्दु भएर गएको यो भूकम्पबाट ८ हजार ५ सय ५६ जनाको मृत्यु भयो ।
यसको भोलिपल्ट भदौ १३ गते अपरान्ह पनि ठूलो परकम्प गयो भने बैशाख २९ गते गएको अर्को ठूलो परकम्प गएको थियो । यो भूकम्पपछि २ वर्षभन्दा लामो समयसम्म परकम्प गएको थियो ।
२०६८ असोज १ को भूकम्प
२०६८ असोज १ गते नेपालको साँझ ६ः२५ बजे नेपालको ताप्लेजुङ र भारतको सिक्किम सीमामा अवस्थित कञ्चनजङ्घा हिमाल क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ६.९ रेक्टर स्केलको भूकम्प गएको थियो । यो भूकम्पबाट नेपाल र भारतका गरी १११ जनाको मृत्यु भयो भने २०० भन्दा बढी घाइते भएका थिए ।
२०४५ भदौ ५ को भूकम्प
भूकम्प पूर्वी नेपालको उदयपुर जिल्लामा केन्द्रबिन्दु बनाएर वि.सं. २०४५ साल भदौ ५ गते बिहान ४ः४५ बजे ५.५ रेक्टर स्केलको भूकम्प गएको थियो ।
यो भूकम्पबाट करीब ७ सय ५० जनाले ज्यान गुमाएका थिए । छ हजार ५०० भन्दा बढी घर भत्किए । यो भूकम्पबाट सबैभन्दा बढी धरान शहर प्रभावित भएको थियो ।
२०३७ सालको भूकम्प
सुदूरपश्चिमको बझाङ जिल्लालाई केन्द्रबिन्दु बनाएर २०३७ सालमा ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो । उक्त भूकम्पबाट १ सय २५ जना मानिसले ज्यान गुमाए भने २ सय ४८ जना घाइते भएका थिए ।
भूकम्पबाट बझाङसहित सुदूरपश्चिमका बैतडी, बाजुरा र दार्चुलामा गरेर करिब दुई हजार पाँच सय सय घर ध्वस्त भएका थिए ।
१९९० को भूकम्प
ऐतिहासिक विवरणअनुसार नेपालमा अहिलेसम्मकै सबैभन्दा सबैभन्दा ठूलो विनाशकारी भूकम्पका रुपमा वि.सं. १९९० माघ २ गते गएको भूकम्पलाई मानिन्छ ।
संखुवासभाको चैनपुरलाई केन्द्रबिन्दु बनाएर गएको ८.४ रेक्टर स्केलको यो भूकम्पबाट ८ हजार ५ सय १९ जनाको मृत्यु भएको थियो ।
जुद्धशम्शेर प्रधानमन्त्री भएका बेला गएको यो भूकम्पले अधिकांश सबै भौतिक संरचना ध्वस्त पारेको थियो । जुन भूकम्पमा परेर धरहरा पनि ढलेको थियो ।
१८९० को भूकम्प
१९९० मा गएको भूकम्पको ठिक एकसय वर्ष अघि नेपालमा शक्तिशाली भूकम्प गएको ऐतिहासिक दस्तावेजहरुमा उल्लेख छ ।
वि.सं. १८९० भदौ १२ गते सोमबार बेलुका करीब ६ बजेतिर गएको यो भूकम्पबाट ठूलो मानविय र भौतिक क्षति पुर्याएको ऐतिहासिक विवरणहरुमा उल्लेख छ । काठमाडौंमा रहेका दुईवटा धरहरा मध्ये एउटालाई पूरै ढाल्यो भने अर्को आधा मात्र भत्किएको थियो ।
१८८० को भूकम्प
इतिहासकारहरुका अनुसार वि.सं. १८८० मा ठूलो भूकम्प गएको थियो ।
तिहारको यमपञ्चकका दिन १७ पटक भूकम्प गएको र यसले ठूलो क्षति र्पुयाएको ऐतिहासिक दस्तावेजहरुमा उल्लेख छ । तर, उक्त भूकम्पले कति मानिवय क्षति भयो कति भौतिक क्षति भयो भन्ने स्पष्ट विवरण पाइदैन् ।
१८६७ को भूकम्प
वि.सं. १८६७ जेठ १० गते पनि शक्तिशाली भूकम्प गएको ऐतिहासिक दस्तावेजहरुमा उल्लेख छ । यो भूकम्पबाट भक्तपुरमा थुप्रै मानिसको मृत्यु भएको थियो भने धेरैजसो मठ मन्दिर भत्किएका थिए ।
१८२४ को भूकम्प
वि.सं. १८२४ असार १ गते एकैदिनमा २१ पटक भूकम्पको धक्का गएको इतिहासकारहरु बताउँछन् । तर, यसबाट कति क्षति भयो भन्ने कुनै अभिलेख पाइदैन् ।
१७३७ को भूकम्प
वि.सं. १७३७ सालको राति भूकम्प गएको इतिहासविद्हरु बताउँछन् । जसले ठूलो विपत निम्त्याएको भने पनि कति क्षति भयो भन्ने एकिन विवरण छैन् ।
१४६५ को भूकम्प
नेपालमा वि.सं. १४६५ मा पनि ठूलो विनाशकारी भूकम्प गएको ऐतिहासिक दस्तावेजहरुमा उल्लेख छ ।
यो भूकम्पले रातो मच्छिन्द्रनाथको मन्दिर लगायत अन्य दर्जनौं मन्दिर ढालेको थियो । सयौं मानिस तथा पशुको ज्यान गएको थियो भने जमीनमा ठूलठूला धाँजा फाटेका थिए ।
१३१६ को भूकम्प
वि.सं. १३१६ मा गएको भूकम्पले पनि नेपालमा अत्यास लाग्दो ढंगबाट क्षति पुर्याएको इतिहासकार बताउँछन् । यहि भूकम्पका कारण मुलुकमा महामारीका साथै अनिकाल परेको थियो ।
१२१८ को भूकम्प
वि.सं. १२१८ असार शुक्ल तृतीया तिथि सोमवारका दिन गएको यो महाविनाशकारी भूकम्पमा परेर राजा अभय मल्लको मृत्यु भएको थियो । यो भूकम्पबाट काठमाडौं उपत्काका करिब एक तिहाइ मानिस प्रभावित भएको ऐतिहासिक दस्तावेजहरुमा उल्लेख छ । – nepalsamya
प्रतिक्रिया