मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालमा थप दुई जनामा कोरोना सङ्क्रमण पुष्टि, सङ्क्रमित ५४ पुगे

नेपालमा थप दुई जनामा कोरोना सङ्क्रमण पुष्टि, सङ्क्रमित ५४ पुगे

सुदूर आज

रौतहट – नेपालमा थप दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले रौतहटका थप दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको बताउनुभएको हो ।

यसबारे आधिकारिक जानकारी साँझको नियमित पत्रकार सम्मेलनमा दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव कोइरालाले जानकारी दिनुभय ।

जनकपुरमा कोरोना सङ्क्रमणको पीसीआर परीक्षणमा नेगेटिभ देखिएका दुई जनामा काठमाण्डौमा गरिएको परीक्षणमा सङ्क्रमण पुष्टि भएको प्रदेश २ का सामाजिक विकास मन्त्रालयका सचिव डा। रामप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

रौतहटको वृन्दावन नगरपालिका ९ को भुसहा र देवाही गोनाही नगरपालिका(१ मा गरी दुई जनामा कोरोनाको सङ्क्रमणको पुष्टि भएको हो ।

दुवै जनालाई प्रदेशको निर्देशनअनुसार वीरगंज कोरोना अस्थायी अस्पतालको रुपमा बनाइएको नारायणी उपक्षेत्रीय अस्पतालमा आइसोलेसनमा राखी थप उपचार गर्न लगिँदैछ ।

वृन्दावन ९, भुसहाका २४ वर्षीय युवक भारतबाट आएर चन्द्रपुरको क्वरेण्टीनमा १५ दिन बसेर गएको वैशाख ६ गते नै डिस्चार्ज भइसकेका छन् ।

गत चैत २६ मा उनको स्वाब लिइएको र जनकपुरले नेगेटिभ देखाएपछि क्वरेण्टीनमा १५ बसी घर फर्केका थिए । काठमाडौबाट पुष्टि भएपछि पूरै गाउँलाई नै सिल गरिने तयारी भएको बुझिएको छ ।

यसै गरी देवाही गोनाहीको धरहरीस्थित क्वरेण्टीनमा बसेका ३५ वर्पीय युवकमा पनि कोरोना पुष्टि भएको छ । कोरोना पुष्टि भएका युवक अहिलेसम्म क्वरेण्टीनमा नै रहेको र वीरगञ्ज पठाउने तयारी भइरहेको देवाही गोनाही नगरपालिकाका स्वास्थ्य संयोजक नागेन्द्रप्रसाद कुशवाहाले जानकारी दिनुभयो ।

कोरोनाको पुष्टि भएका दुवै क्षेत्रलाई सिल गर्ने तयारी भइरहेको छ । जिल्ला प्रशासन कार्यालय रौतहटले कोरोना पुष्टिबारे आधिकारिक जानकारी नआएको भए पनि निर्देशन अनुसार आन्तरिक तयारी गरिरहेको बताएको छ ।

रौतहटका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जिल्लामा थप दुई जनामा कोरोना पुष्टि भएको विषयमा आफूलाई औपचारिक जानकारी नआएको बताएका छन् ।