मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बालुवाटारमा ओलीको पक्षमा बहुमत सांसदले हस्ताक्षर गरे

बालुवाटारमा ओलीको पक्षमा बहुमत सांसदले हस्ताक्षर गरे


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा सांसदहरूलाई हस्ताक्षर गराएका छन् । सरकारविरूद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेपछि ओलीले बालुवाटारमा प्रतिनिधिसभा सदस्यहरूलाई बोलाएर हस्ताक्षर गराएको सांसद कृष्ण राईले जानकारी दिए । संसदीय दलका बहुमत सांसदहरूले ओलीको पक्षमा हस्ताक्षर गरेको राईको दाबी छ ।

“पार्टीकै शीर्ष नेताहरूले प्रधानमन्त्री फेर्ने तयारी गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको प्रतिरक्षा गर्नै पर्‍यो । हामीले हस्ताक्षर गर्‍यौं । प्रधानमन्त्री संसदीय दलमा बहुमतमा हुनुहुन्छ,” राईले भने ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिनअघि काङ्ग्रेस, मधेसवादी दलका नेताहरूलाई भेटेर अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेको सूचना पाएपछि प्रधानमन्त्रीले संसदीय दलभित्र बहुमतमा रहेको सिद्ध गर्न खोजेका हुन् ।

“कांग्रेसका केही नेता र मधेसवादी दलका नेताहरूसँगको छलफलपछि प्रचण्डले अविश्वासको प्रस्ताव ल्याउने सूचना पाएपछि हामीले नै पहल गरेका हौं,” उनले थपे ।

कांग्रेस या मधेसवादी दलका तर्फबाट अविश्वासको प्रस्ताव दर्ता गर्ने सूचना पाएपछि दुई अध्यक्षबीच असमझदारी उत्कर्षमा पुगेको थियो । प्रचण्डले पार्टीका सांसदहरू बोलाएर हस्ताक्षर गराउने तयारीसमेत गरेका थिए । गठबन्धनको भावनाविपरीत प्रचण्डले अरू दलसँग मिलेर सरकार ढाल्न खोजेको भन्दै उपाध्यक्ष वामदेव गौतमले आफूनिकटका सांसदलाई हस्ताक्षर नगर्न भनेको बालुवाटार स्रोत बताउँछ ।

“केही दिनअघि प्रधानमन्त्रीले प्रचण्डलाई पनि सोध्नुभएको सूचना हामीले पाएका छौं । जसरी पनि हटाउने योजनामा प्रचण्ड अग्रभागमा देखिएपछि उहाँले बहुमत सिद्ध गर्नै पर्‍यो,” राई पनि भन्छन् ।

राईका अनुसार प्रधानमन्त्रीका पक्षमा हस्ताक्षर गर्न सांसदहरू बालुवाटार जाने क्रम जारी छ । ओलीका पक्षमा रहेका अतिरिक्त उपाध्यक्ष वामदेव गौतम खेमाका सांसदहरू पनि बालुवाटार पुगेका छन् ।
स्रोतका अनुसार गौतमनिकट भनिएका गणेशसिंह ठगुन्ना, राधा ज्ञवाली, दलबहादुर राना, रामवीर मानन्धरलगायत सांसदहरूले हस्ताक्षर गरिसकेका छन् ।

नेकपाका १ सय ७२ जना सांसद् छन् । संसदीय दलमा बहुमत सिद्ध गर्न ८८ सांसदको आवश्यकता पर्छ । प्रधानमन्त्री ओली केही दिनदेखि सांसदहरूसँग छलफलमा जुटेका थिए । सोमबार र मङ्गलबार सांसदहरूलाई बोलाएर शीर्ष नेताहरू नै सरकार परिवर्तन गर्न लागेकाले पार्टी विभाजन हुने खतरा औंल्याएका थिए । – baarahkhari