मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेकपाको सचिवालय बैठक निष्कर्षविहीन

नेकपाको सचिवालय बैठक निष्कर्षविहीन


बैठक २० गते पुनः बस्ने

काडमाडौं– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बिना निष्कर्ष टुंगिएकाे भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको बैठकमा पार्टीको आन्तरिक समस्या, अध्यादेश प्रकरणपछि नेताहरूबीच बढ्दै गएकाे ध्रुवीकरण, प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले दुइमध्ये एक पद छाड्नुपनर्ने विषयमा छलफल भएको थियाे।

तर छलफल कुनै निष्कर्षमा पुग्न नसकेकाले बैठक २० वैशाखमा पुनः बस्ने वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए।

अध्यक्ष ओलीले शनिबारसम्मका लागि बैठक स्थगित गर्ने प्रस्ताव गरेका थिए। स्रोतका अनुसार बैठकमा दुवै पक्षका नेताहरू आक्रामक रूपमा प्रस्तुत भएका थिए। 

बैठकमा पार्टीकाे आन्तरिक एकताकाे सुदृढीकरण, सरकारका कामकारबाही, स्थायी समितिकाे बैठकलगायत विभिन्न विषयमा गहन छलफल भएकाे प्रवक्ता नारायणकाजी श्रेष्ठद्वारा जारी विज्ञप्तिमा जनाइएकाे छ। उनले २० गते बस्ने सचिवालय बैठकले स्थायी कमिटी बैठककाे मिति तय र अरु निर्णय पनि गर्ने जानकारी दिए।

उनका अनुसार त्यसअघि आन्तरिक छलफल र सरसल्लाह जारी राख्ने सहमति भएकाे छ। प्रधानमन्त्री एवम् अध्यक्ष ओलीले लामाे समयदेखि बैठक टार्दै आएका थिए।

अध्यादेश प्रकरणपछि प्रधानमन्त्रीकाे भूमिकालाइ लिएर नेताहरूबीच दुरी बढ्दै गएकाे छ। फलस्वरूप गत साता प्रधानमन्त्रीकाे विरुद्धमा माेर्चाबन्दी गर्नका लागि अर्का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गाैतबीच पटकपटक सामूहिक र गुटगत भेला भएका थिए।

प्रधानमन्त्री ओलीले पनि यसबीचमा आफू निकटका नेताहरू र संघीय प्रतिनिधिसभाका सांसदहरूसँगकाे भेटलाइ बाक्लाे बनाएका थिए। नेताहरूबीच भेला र बैठक बढ्दै गएपछि प्रधानमन्त्रीका विरुद्धमा हस्ताक्षर संकलन गर्ने तयारीसमेत भएकाे थियाे।

उता प्रधानमन्त्री ओलीले बुधबार सचिवालय बैठकअघि मात्र आफू निकट सांसदहरूसँग सामूहिक छलफल गरेका थिए।