मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओलीको पद जोगाउन नेपालले तेस्रो अध्यक्ष नलिने

ओलीको पद जोगाउन नेपालले तेस्रो अध्यक्ष नलिने

सुदूर आज

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का चौथो वरीयताका नेता माधवकुमार नेपालले तेस्रो अध्यक्ष नस्वीकार्ने भएका छन् ।  प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबारको सचिवालय बैठकमा उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री र नेता नेपाललाई तेस्रो अध्यक्ष बनाएर पार्टीभित्रको विवाद व्यवस्थापन गर्न सकिने बताएका थिए ।

परामर्शमा रहेका नेता नेपालले ओलीलाई प्रधानमन्त्रीमा कायमै राख्नेगरी अध्यक्ष पद स्वीकार्न नसकिने निष्कर्ष निकालेको उनी निकट नेताले भने ।

बिहीबार प्रधानमन्त्री ओली र नेता नेपालबीच भेटवार्ता भएको थियो । भेटमा पनि नेता नेपालले स्पष्टसँग आफ्नो अडान राखेको ती नेताको दाबी छ ।

“पार्टीभित्रको मुख्य समस्या भनेकै ओलीमा शक्ति केन्द्रीकरण भयो । सबै शक्ति आफ्नो मुट्ठिमा लिएर उहाँले पार्टी निर्णयको पालना गर्न छाड्नुभयो । पार्टीलाई नसोधी, जानकारी नै नदिई अध्यादेश ल्याउने गर्न थाल्नुभयो । पार्टी भनेको मै हुँ र म नै पार्टी हुँ जस्तो गर्नुभयो । जबकि, अहिलको पार्टीभित्रको शक्ति समीकरण, सन्तुलनको अवस्था त्यो होइन,” नेपाल निकट नेताले आफ्नो समूहको बटम लाइन बाह्रखरीसँग दोहोर्‍याए, “अहिले हामीले झलनाथ खनाल या अरू नेताले भनेजस्तो केपी ओलीलाई दुवै पदबाट बिदा गर्नुपर्छ भनेका छैनौं । प्रधानमन्त्रीबाट उहाँको बहिर्गमन हाम्रो बटम लाइन हो । ओलीले केन्द्रीकृत गरेको शक्ति पार्टीमा फिर्ता ल्याउनुपर्छ ।”

प्रधानमन्त्रीमा आफू कायमै रहने र नेताहरूको व्यवस्थापन भयो भन्ने सन्देश प्रवाह गर्न ओलीले तेस्रो अध्यक्षको प्रस्ताव ल्याएको नेपालको बुझाइ छ ।

“आफैंले चेयर (अध्यक्षता) गरेको बैठकमा म राजीनामा दिन तयार छु भनेपछि प्रधानमन्त्रीमा निरन्तरता दिने राजनीतिक वैधता उहाँमा छैन । राष्ट्रिय–अन्तर्राष्ट्रिय अभ्यास, प्रयोगका दृष्टिले पनि बुझिएको कुरा के हो भने केपी शर्मा ओली बर्हिगमन हुँदै प्रधानमन्त्री हो । यसर्थ भोलिको बैठकमै सबैकुरा टुङ्गो लाग्नेछ,” नेपाल निकट नेताले भन्छन् ।

वामदेवलाई प्रधानमन्त्री स्वीकार्ने पक्षमा भने गठबन्धनमा एक मत छ । नेपाल पक्ष पनि त्यसमा राजी छ ।

“वामदेव त्याग र सङ्घर्ष गरेरै यहाँसम्म आइपुग्नुभएको नेता हो । उहाँलाई प्रधानमन्त्री स्वीकार्ने सबालमा अरू नेताबीच विमति छैन । प्रधानमन्त्रीले असल मनसायले प्रस्ताव ल्याउनुभएको हो भने भोलिको बैठकमा थप प्रकाश पार्नु होला– कुन क्षेत्र खाली गर्ने ? कहिलेसम्म निर्वाचन गर्ने ?” नेपाल समूह भन्छ, “मूर्त प्रस्ताव आयो भने हामीलाई पनि वामदेवलाई प्रधानमन्त्री स्वीकार्न कुनै कठिनाइ छैन ।” – बाह्रखरी