काठमाडौं । ‘काठमाडौंलाई कस्तो बनाउने ?’ अक्सर विकासे योजना र कार्यशालाहरूमा यही मुद्दा जल्दोबल्दो हुन्थ्यो । तर, कुरो अर्कै रहेछ । काठमाडौंलाई कस्तो बनाउने होइन, बरु काठमाडौंलाई कस्तो नबनाउने भन्ने कुरामा पो मन्थन गर्नुपर्ने रहेछ ।
काठमाडौं सहर आफैँमा रहरलाग्दो रहेछ । हराभरा । उत्तरतिर चम्किएका लस्करै हिमशृंखला । नागबेली आकारमा फैलिएका खोला-नाला । ठाउँ-ठाउँमा झुरुप्प वन-जंगल । हरिया खुला चौरहरू । प्राचीन झल्को दिने मठ-मन्दिर, गुम्बा र मस्जिदहरु । भूर्र-भूर्र उडिरहेका चराहरू । यही बखत आदिकवि भानुभक्त टुप्लुक्क प्रकट हुँदा हुन् त उनले एकफेर उही कवितांश दोहोर्याउने थिए होलान्–
‘कहिँ कालभरि गल्ली छ दिल्ली सरी
कहिँ भेट र लन्डन चीन सरी
लखनौं पटना मदरास सरी
अलकापुरी कान्तिपुरी नगरी ।’
सम्भवतः सदियौंपछि काठमाडौं यसरी तंग्रिएको हो । लाग्छ, यतिबेला काठमाडौं आनन्दले खुट्टा पसारेर बसेको छ । चैनले सास फेरिरहेको छ । अहिले काठमाडौंको सेरोफेरो हेरेर कसले भन्ने हिम्मत गर्छ, ‘यो धुलोमान्डु हो । यो मास्कमान्डु हो ।’
यतिबेला कसैले भन्न सक्ने छैनन्, काठमाडौं कोलाहालको सहर हो । काठमाडौं प्रदूषणको सहर हो । काठमाडौंलाई हाम्रो भौतिक गतिविधिले पो कुरुप बनाउँदै लगेको रहेछ ।
विश्वकै प्रदूषित सहरमा सूचीकृत सहर, काठमाडौं । स्वास्थ्य विज्ञहरूले चेतावनी दिइरहेका थिए, ‘काठमाडौंको वायुमा यस्ता अति सुक्ष्म र हानिकारक कण छन्, जो क्यान्सरको कारण बन्न सक्छ ।’ काठमाडौंको पट्यारलाग्दो सडक जाम, त्यसमाथि गाडीहरूको हर्नको चर्को ध्वनि, नाक पोल्ने तिख्खर धुँवा, धुलो र राप । हिलो र फोहोरको लेदो मिसिएको खोला-नाला, दुर्गन्धित ढल ।
यस्तो लाग्थ्यो, प्राचीन विरासत बोकेको सुन्दर उपत्यकामा होइन, हामी ग्यास च्याम्बरभित्र उकुसमुकुस भइरहेका छौँ । तर, काठमाडौंलाई यसरी बदनाम कसले बनायो ? जवाफ अहिले खोज्न सकिन्छ, ‘हाम्रा अनियन्त्रित भौतिक गतिविधिले ।’
अब काठमाडौं कस्तो बनाउने भनेर बहस छेड्नुभन्दा पनि उचित हुनसक्छ, काठमाडौं कस्तो नबनाउने ।
काठमाडौं जस्तो छ, त्यस्तै पो रहन दिने कि ? काठमाडौंलाई अब अरू कंक्रिटको बोझ नबोकाउने कि ? आफ्नै गतिमा बगिरहेका खोला-नालामा शौचालयको ढल नमिसाउने कि ?
चराचुरुङ्गीदेखि किराफट्याङ्ग्रासम्मलाई आश्रय दिइरहेका रुख–बिरुवाहरू नमास्ने कि ? खुट्टा पसारेर सुस्ताउन मिल्ने चौर एवं खुला स्थानहरू अतिक्रमण नगर्ने कि ?
हामी चुपचाप बसिदिँदा काठमाडौंको सौन्दर्य यसरी खुलेको छ, मानौं यो कुनै रुपवती नव-यौवना हुन् । कलकलाउँदो । भरभराउँदो । आफ्नै अवयवले सुशोभित ! – onlinekhabar
प्रतिक्रिया