काठमाडौं । विश्व अहिले कोरोना भाइरस (कोभिड-१९) को महामारीविरुद्ध लडिरहेको छ। यसमा सबैले आ-आफ्नो क्षेत्रबाट सक्दो सहयोग गरिरहेका छन्।
कोभिड-१९ नियन्त्रणका लागि फ्रन्ट लाइनमा रहेर उत्कृष्ट काम गर्ने पाँच महिलाको कथा संयुक्त राष्ट्रसंघको यूएन वुमेनले सार्वजनिक गरेको छ, जसमा एक नेपाली पनि परेकी छिन् ।
उनी हुन्, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुको निर्देशक डा. रुना झा । उनले अहिले नेपालमा कोभिड-१९ परीक्षणको नेतृत्व गरिरहेकी छिन् । उनी र उनको टोलीले औसतमा दैनिक ७० ओटा नमुना परीक्षण गर्ने गरेको छ । प्रयोगशालामा परीक्षणका लागि नमुना आउने समय निश्चित हुँदैन । त्यसैले अबेरसम्म प्रयोगशालामा बस्नु उनको लागि सामान्य बनिसकेको छ । उनी प्राविधिक काम त गर्छिन् नै, आफ्नो टोलीलाई यातायात र खानेकुराको व्यवस्थापन पनि उनैले गर्छिन् ।
झाको लागि आफ्नो टोलीको सुरक्षा प्राथमिकतामा छ । यो क्रम फेब्रुवरी मध्यदेखि सुरु भएको थियो, जतिबेला उनको टोली चीनको वुहानबाट ल्याइएका १७५ नेपाली विद्यार्थीलाई राखिएको क्वारेन्टाइनमा पहिलोपटक प्रवेश गरेको थियो ।
आफ्नो टोलीले नमुना संकलनको लागि स्वयंसेवकको भूमिका निर्वाह गर्न नहिच्किचाएको उनी बताउँछिन् । उनको टोलीले पूरा रात नमुना संकलनमा बिताएको थियो र अर्को दिन एक सय ७५ जनाकै रिपोर्ट तयार पारिएको थियो ।
महामारी बढेसँगै उनीहरूको कामको चाप बढेको छ । तर, उनी आफ्नो तर्फबाट कर्मचारीलाई सहयोग गर्ने र मनोबल बढाउन सक्दो प्रयास गरिरहेकी छिन् । उनी आफूले कर्मचारीलाई सुरक्षामा विशेष ध्यान दिन आग्रह गरेको बताउँछिन् ।
यो काम गर्नु झाको लागि चुनौतीपूर्ण पनि छ । परिवारमा कोरोना भाइरसको संक्रमण फैलिने जोखिमको कारण उनी अहिले आफ्ना पति र छोरीसँग नबसेर एक्लै बसेकी छिन् । उनले आफ्ना बुबाआमासँग पनि भेटेकी छैनन् । उनी परिवारसँग बस्न मन भएको तर सबैको सुरक्षाको लागि आफ्नो चाहनासँग सम्झौता गर्नुपरेको बताउँछिन् ।
अरू को-को छन् सूचीमा ?
१. जोर्डनमा नयाँ प्रविधिको प्रयोग
अमल अल महाईराह र महाडील दबाइबेह यो महामारी नियन्त्रणका काममा निकै चिनिएका छन् । यूएन वुमेनको फिल्ड सहायकको रुपमा काम गरिरहेका उनीहरूले जोर्डनका महिलाहरूलाई र सिरियाली शरणार्थीको जीवनरक्षाको लागि सेवा प्रदान गर्दै आएका छन्।
यद्यपि कोरोना भाइरसले उनीहरूलाई घरको झन् धेरै नजिक ल्याएको छ । उनीहरू मोबाइल फोनको भरमा समुदायलाई महत्वपूर्ण जानकारी र अन्य परामर्श दिने गर्छन् । जोर्डनको एइन अलबाइडामा बस्ने ५४ वर्षीया सिहाम अलकाटामिन मोबाइल फोनको माध्यमबाट अमलले आवश्यक परामर्श र मनोवैज्ञानिक सहयोगका साथै विश्वसनीय सूचनाहरू दिने गरेको बताउँछिन् ।
यूएन वुमनका फिल्ड कर्मचारीहरूले यहाँका आठ सयभन्दा धेरै मानिसलाई यस्तो सेवा दिँदै आएका छन् । महामारीको क्रममा समस्यामा परेका महिलालाई सेवा दिन डिटिजल प्रविधि आवश्यक देखिएको छ ।
अहिले लैङ्गिक हिंसाको सामना गरिरहेका महिलाको लागि २४ घण्टा उपलब्ध हुने हटलाइन सेवा प्रदान गरिएको छ । यूएन वुमेनले सिरियाली शरणार्थीको लागि प्रदान गर्ने कोषको निरन्तरताको लागि ब्लकचेन नगद वितरण प्रणाली सुरु गरेको छ ।
प्रत्येक शरणार्थीको खाता ब्लकचेनसँग लिङ्क गरिएको हुन्छ । यसलाई सुपरमार्केटहरूमा विश्व खाद्य कार्यक्रमअन्तर्गत स्थापना गरिएको आयरिस स्क्यानिङ प्रणालीमा कनेक्ट गरिएको हुन्छ । जसबाट शरणार्थीहरूले आफूलाई चाहिएको सामग्री विनाझन्झट खरिद गर्न सक्नेछन् ।
२. चीनको ग्रामीण क्षेत्रमा सार्वजनिक सेवा प्रदान
यान शेङ्लियान चीनको उत्तरपश्चिमी प्रान्त क्विङहाई प्रान्तको सियारुओयाओ गाउँको चेकप्वाइन्टमा बस्छिन्। उनी गाउँमा आउने र जाने मानिसको शरीरको तापमान नाप्छिन् र उनीहरूको सवारीसाधनको विवरण राख्छिन् । उनको यो काम कोरोना भाइरस नियन्त्रणको लागि निकै महत्वपूर्ण छ । तर, उनको लागि यो काम नौलो हो । उनी चिकित्सा क्षेत्रको पृष्ठभूमिबाट आएकी होइनन् । उनी पेशाले एक किसान हुन् । उनले सुँगुर पालन गर्दै आएकी थिइन् ।
यद्यपि स्वयंसेवकको रुपमा अहिले उनी कोरोना भाइरस नियन्त्रणको काम गर्दै आएकी छिन् । किसान र स्वयंसेवक दुवै क्षेत्रमा उनले निकै महत्वपूर्ण भूमिका निर्वाह गरिरहेकी छिन् ।
३. काजकस्तानमा हिंसामा परेकालाई सहयोग
काजकस्तानमा क्वारेन्टाइन सुरु हुनुभन्दा पहिले नेमोल्ची (चुप नबसौँ) अभियानले सञ्चालन गरेको हेल्पलाइनमा यौन हिंसाका पीडितको मात्र फोन आउँथ्यो । अहिले दैनिक १० देखि १५ घरेलु हिंसाका उजुरीको लागि टेलिफोन आउने गरेको छ । यसरी फोन गर्नेहरू सबैजसो महिला नै छन्।
महामारीको समयमा घरेलु हिंसाका घटनाहरू उल्लेख्य रुपमा बढेका छन् । आइसोलेसनमा बसेकाकारण महिलाहरूले प्रहरीमा उजुरी दिन पनि सक्दैनन् ।
अझ कुनै परिवारमा त सासूससुरा र अन्य नातेदार पनि एउटै घरमा बस्छन् । त्यसैले पनि उनीहरूले प्रहरीमा सकेसम्म उजुरी गर्दैनन् । नेमोल्चिकी नेतृ डिना स्माइलोभाका अनुसार कोरोना भाइरसको कारण अभियान प्रभावित बनेको बताउँछिन्।
नोमोल्चिले अहिलेसम्म एक सय २० पीडित महिलालाई कानुनी सहयोग गरिसकेको छ । स्माइलोभाका अनुसार अहिले क्वारेन्टाइनको समयमा अदालत खुल्दैन, मुद्दा पनि दायर हुँदैन, अहिले पीडक र पीडित एउटै घरमा बस्ने भएकाले जोखिम बढेको छ ।
यद्यपि स्माइलोभाले निरन्तर न्यायको लागि आफ्नो प्रयास भने जारी राखेकी छिन् ।
४. क्यारेबियन समुदायको आशा जीवित राख्ने प्रयास
र्याङ्किया हेनरी क्यालिफोर्नियाको एक होटलमा काम गर्थिन् । कोरोना भाइरसको कारण उनको होटल बन्द भयो र उनी आफ्नो घर फर्किन पनि पाइनन् ।
यस्तोमा उनलाई आर्थिक समस्याले पनि पिरोल्न थालेको थियो । उनलाई आफ्नो घरमा पैसा पठाउनुपर्ने तनाव छँदै थियो, अब विनातलब आफ्नो घर्च धान्नु पर्ने समस्या पनि आइलाग्यो । तर, उनले यस्तो अवस्थामा पनि आफ्नो घरमा केही रकम पठाइन् ।
उनको चिन्ता यत्तिकैमा सीमित भएन । उनलाई आफ्नो घर रहेको टापु एन्टिगुआको माया लागेर आयो । आफ्नो देशमा मानिसहरू विश्वभर फैलिएको यो महामारीमा कसरी सुरक्षित रहलान् भन्ने चिन्ता उनमा पर्यो ।
यो चिन्तासँगै उनले कोरोना भाइरस नियन्त्रणको लागि सहयोगी हुने म्यासेज सामाजिक सञ्जालमार्फत सेयर गर्न थालिन् । साथै उनले एन्टिगुआ र बर्बुडाको सेवा क्षेत्रसँग पनि समन्वय गरिरहेकी छिन् ।
स्रोत :युएन वुमेन
प्रतिक्रिया