मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारतीय सीमा क्षेत्रमा थप कडाइ गर्ने गृहको निर्णय

भारतीय सीमा क्षेत्रमा थप कडाइ गर्ने गृहको निर्णय

सुदूर आज

काठमाडौं- कोरोना भाइरस संक्रमण जोखिम न्यूनीकरण गर्न गृह मन्त्रालयले भारतीय सीमावर्ती क्षेत्रमा थप कडाइ गर्ने निर्णय गरेको छ। भारतबाट नेपाल प्रवेश गरेका व्यक्तिहरूबाट काेराेना संक्रमण हुने सक्ने विश्लेषण गर्दै गृहले यस्ताे निर्णय गरेकाे हाे।

याे निर्णयसँगै सीमा क्षेत्रबाट लुकिछिपी भइरहेकाे ओहोरदोहोर नियन्त्रण हुने विश्वास गृहकाे छ। यसका लागि सीमा क्षेत्रमा थप सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गृहले गरेको हो। बैठकले भारतीय सीमावर्ती क्षेत्रमा अड्किएका, उताबाट घर फर्कन लागेका नेपालीहरूका बारेमा भने केही निर्णय गरेकाे छैन। अझै कतिपय नेपाली सीमा क्षेत्रमा क्वारेन्टिनमा बसिरहेका छन्।

कारागार, विकास निर्माण आयोजना लगायतका संरचनाको सुरक्षाको जिम्मा नेपाली सेनालाई दिएर ती क्षेत्रमा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई सीमामा पठाउने निर्णय गृहले गरेको हो।

गृहमन्त्री रामबहादुर थापासहित उच्च सुरक्षा निकायका प्रमुखहरुको आइतबार बसेको बैठकले सो सम्बन्धी प्रक्रिया अगाडि बढाउने निर्णय गरेको मन्त्रालयले जनाएको छ। सीमाबाट लुकिछिपी प्रवेश गर्ने क्रम नरोकिएको भन्दै त्यसरी प्रवेश गर्नेलाई कडा कानुनी कारबाही गर्नुपर्ने निष्कर्ष बैठकले निकालेको छ।

बैठकमा गृहमन्त्री थापाले कोरोना संक्रमण जोखिम कम गर्न भारतसँगको सीमामा थप कडाइ गर्नुपर्नेमा जोड दिएका थिए। साथै उनले सीमा क्षेत्रमा रातको समयमा थप गस्ती बढाउन सुरक्षा निकायलाई निर्देशन दिएका छन्।

थापाले सिमावर्ती जिल्लामा सुरक्षाकर्मीको समन्वयमा सबै वडास्तरमा स्वयंसेवक परिचालन कमिटी गठन गरि सीमाबाट हुने अवैध प्रवेशलाई निरुत्साहित गर्ने कार्यक्रम बनाउन निर्देशन दिए।बैठकले भारतमा रहेका नेपालीलाई कोरोनाबाट सुरक्षित राख्न आवश्यक पहल तथा सीमा सुरक्षाका विषयमा भारत सरकारसँग छलफललाई तीव्रता दिने निर्णय गरेको छ। 

बैठकमा गृहसचिव, परराष्ट्र सचिव, स्वास्थ्य मन्त्रालयका प्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, नेपाली सेनालगायतको उपस्थिति थियो। – nepalsamya