मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लकडाउन बढ्दै, सुदूरपश्चिममा परीक्षण घट्दै

लकडाउन बढ्दै, सुदूरपश्चिममा परीक्षण घट्दै

सुदूर आज

धनगढी : देशभरी लकडाउन बढ्दै गएपनि कोरोना भाईरसको परीक्षण घट्दै गएको छ। सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा १२ घण्टामा दुई सय ७० जनाको कोरोना परीक्षण गर्न सक्ने मेसिन सञ्चालन गरिएको भएपनि परीक्षण घट्दै गएको हो।

आरटी–पीसीआर प्रविधीबाट सुदूरपश्चिममा अहिले सम्म दुई हजार नौ सय १९ जनाको मात्र कोरोना परीक्षण भएको छ। जसमा पहिलो पटक लकडाउन जारी भएको चैत ११ गतेदेखि १८ गते सम्मको ८ दिनको अवधीमा ३१ जनाको परीक्षण भएको छ भने पहिलो पटक थप गरिएको चैत १८ देखि २५ गते सम्म सात दिनको अवधिमा एक सय ४७ जना शंकास्पद विरामीको परीक्षण भएको छ। 

यस्तै दोस्रो पटक थपिएको चैत २५ गतेदेखि बैशाख ३ गते सम्मको ८ दिनको अवधिमा एक हजार नौँ सय ९९, तेस्रो पटक थपिएको बैशाख ३ देखि १५ गते सम्मको १२ दिनको अवधीमा उक्त संख्या घटेर एक हजार दुई सय ८४ मा पुगेको छ। यस्तै चौथो पटक थपिएको बैशाख १५ देखि २४ गते सम्म प्रदेशभर एक सय ५८ जनाको मात्र पीसीआर प्रविधीबाट परीक्षण गरिएको छ। 

सरकारले फेरी जेठ ५ गते सम्मका लागि लकडाउन अवधि बढाएको छ। लकडाउन लम्बीदै गएका बेला परीक्षण बृद्धि गर्नुपर्ने भएपनि सुदूरपश्चिममा भने घटिरहेको हो। पछिल्लो समय प्रदेशमा दैनिक औसतमा २० जनाको मात्रै परीक्षण भईरहेको छ। 

तर सुदूरपश्चिम प्रदेश सरकारले भने परीक्षण बढाउनुपर्ने आवश्यकता भईनसकेको दावी गर्दै आएको छ। सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले सबैलाई परीक्षण अनिवार्य नभएको दावी गरे। 

कार्कीले समुदाय स्तरमा परीक्षणमा गईसकेको नभएपनि हटस्पट क्षेत्रबाट आएर क्वारेन्टाईनमा बसेकाहरुको परीक्षण भईरहेको बताए। मापदण्ड अनुसार संक्रमित व्यक्तिको सम्पर्कमा आएकाहरुको कोरोना परीक्षण भईरहेपनि सबै व्यक्तिलाई ल्याएर परीक्षण सम्भव नभएको कार्कीको भनाई छ। 

तर प्रदेशमा क्वारेन्टाईनमा राखिएकाहरुको समेत पीसीआर प्रविधीबाट परीक्षण नहुँदा अवस्था अझै एकिन हुन सकेको छैन्। चिकित्सकहरुले भने परीक्षणको दायरा बढाउनुपर्ने सुझाव दिएका दिनेश खबरमा समाचार छ।