काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले फ्रन्टलाइनमा काम गरिरहेकाहरुलाई तत्काल परीक्षणको दायरामा ल्याउनुपर्ने बताएका छन् । बिहीबार सांसदहरुको स्वाब परीक्षण भएपछि बाह्रखरीसँग कुरा गर्दै उनले सांसदको मात्र नभई फ्रनटलाइनमा काम गरिरहेका सबैलाई परीक्षणको दायरामा ल्याउन सुझाएका हुन् ।
“बहुसँख्यक सांसदहरु फ्रन्टलाइनमा बसेर काम गरिरहेका छन् । लकडाउनपछि नै मैले सयौं मानिसहरुसँग भेटघाट गरेँ । हाम्रो कामको प्रकृति नै त्यस्तै छ । सांसद, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी जो लकडाउनमा पनि घरमा बसेनन् । आआफ्नो कामले गर्दा उनीहरु धेरै मानिसको सम्पर्कमा पुगेका छन् ।
जताततै भेटघाट गरिरहेका छन् । त्यसकारण अहिले जो फ्रन्टलाइनमा रहेर काम गरिरहेका छन् सबैको अहिले परीक्षण गर्नुपर्छ,” पूर्वस्वास्थ्यमन्त्री समेत रहेका प्रतिनिधिसभाका सांसद थापाले भने, “उनीहरुको परीक्षण गर्ने कुराले आफू जोगिने र संक्रमित रहेछ भने फैलनबाट व्यापक रुपमा जोगाउँछ ।
यदि रैनछ भने पनि कोरोना भाइरसको फैलावट कस्तो रहेछ भने सरकारलाई र हामीलाई पनि धेरै कुरा थाहा पनि हुन्छ ।” उनले सांसदहरुको परीक्षणपछि अब देशैभरि फ्रन्टलाइनमा बसेर काम गरेका मानिसहरुलाई परीक्षणको दायरामा ल्याउनुपर्नेमा जोड दिए ।
प्रतिक्रिया