मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोनाका कारण गोदाममै थन्कियो अदुवा

कोरोनाका कारण गोदाममै थन्कियो अदुवा

सुदूर आज

फायल फोटो

डोटी – कोरोना भाइरस रोकथाम तथा निण्न्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण जिल्लाका विभिन्न ठाउँमा सङ्कलन गरिएको अदुवा जिल्ला बाहिर निकासी हुनसकेको छैन। लामो समयदेखि लकडाउन भएका कारण सङ्कलित अदुवा गोदाममै थन्किएको अदुवा व्यापारीले गुनासो गरेका छन्। 

कोरोना भाइरसको कहरका कारण अदुवा भारत निकासी गर्न समस्या भएपछि करोडौँ मूल्यको अदुवा जिल्लाको बडिकेदार गाउँपालिका बिपीनगरको गोदाममा राखिएको व्यापारीको भनाइ छ। व्यापारीका अनुसार गाउँघरका किसानबाट सङ्कलन गरिएको अदुवा निकासी, पैठारीमा बन्द भएपछि गोदाममै थन्किएको हो।

व्यापारीले किसानबाट फागुनसम्म अदुवा सङ्कलन गरी चैत महिनादेखि भारतका विभिन्न ठाउँमा निकासी गर्दै आए पनि लकडाउनका कारण निकासी गर्न नसक्दा गोदाममै थन्किएको बडिकेदार गाउँपालिका–१ का अदुवा व्यापारी खड्कबहादुर खत्रीले बताए। उनले भने, “सङ्कलित अदुवा हामीले चैतदेखि जेठसम्म जिल्ला बाहिर निकासी गर्दै आएका थियौँ। लकडाउनले निकासी गर्न नसक्दा गोदाममै थन्कियो। धेरै दिन थन्किए कुहिने डर छ।” 

धेरै दिन त्यत्तिकै अदुवा गोदाममा थन्क्याए बिग्रने भएकाले अदुवा व्यापारीलाई चिन्ताले सताउनुका साथै लगानी डुब्ने डरले पिरोलिएको छ। बारीबाट खनेर अदुवा निकालेपछि धेरै दिन गोदाममा राख्दा तौल पनि घट्ने र कुहिएर जाने भएकाले व्यापारीलाई चिन्ता थपिएको बिपीनगरका स्थानीय रोजबहादुर कलेलले बताए। 

बिपीनगरमा थुपारिएको करोडौँको अदुवाबाट दैनिक दुई–चार केजीभन्दा बढी अदुवा नास भएर गइरहेको स्थानीय लक्षमणबहादुर मगरले बताए। उनले भने, “बजारमा खुलारूपमा अदुवा राखिएको छ, कतिपय छाडा चौपायाले खाएर नोक्सानी गरेका छन् भने कतिपय चोरी हुन थालेको छ।”

जिल्ला कृषि ज्ञान केन्द्र डोटीका अनुसार गत वर्ष जिल्लामा २४० हेक्टर क्षेत्रफलमा लगाइएको अदुवा खेतीबाट दुई हजार ५०० मेट्रिकटन अदुवा उत्पादन भएको थियो। यहाँ उत्पादित अदुवाको मुख्य बजार भारत हो। अदुवा किसानका मागलाई बिगतदेखि सरकारले उचित सम्बोधन गर्न नसकेका कारण अदुवा खेतीप्रति किसान निरास हुनुपरेको अदुवा व्यवसायीको भनाइ छ। रासस